अमेरिकी राष्ट्रपति ट्रम्पसँग खुलेर छलफल गर्ने जापानका प्रधानमन्त्री इशिबाको इच्छा

टोकियो । जापानका प्रधानमन्त्री शिगेरु इशिबाले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग खुलेर छलफल गर्ने बताएका छन् । ‘म आगामी राष्ट्रपति ट्रम्पसँग खुलेर छलफल गर्नेछु र गठबन्धनलाई नयाँ उचाईमा पुर्याउनेछु,’ इशिबाले संसदमा एक महत्वपूर्ण नीतिगत सम्बोधनमा भने ।

उनले भने, ‘स्वाभाविक रूपमा अमेरिकाको आफ्नै राष्ट्रिय हित छ र जापानको आफ्नै राष्ट्रिय हित छ, खुलेर विचार आदानप्रदान गर्ने र दुवै देशको राष्ट्रिय हितलाई समन्वयात्मक ढंगले अगाडि बढाउने हो भने यसले स्वतन्त्र र खुला इन्डो–प्यासिफिकलाई साकार पार्न मद्दत गर्नेछ भन्ने मलाई लाग्छ ।’ बेइजिङले ताइवानलगायत एसिया–प्रशान्त क्षेत्रका क्षेत्रीय विवादमा आक्रामक व्यवहार देखाएको छ ।

चीनले वार्षिक खर्बौँ डलरको व्यापार हुने दक्षिण चीन सागरमा आफ्नो दाबी गर्दै आएको छ । टोकियो र बेइजिङबीचको सम्बन्धमा पनि इस्ट चाइना सीमा विवादित जापान–नियन्त्रित टापुहरूका विषयमा विवाद छ ।

आणविक शक्ति सम्पन्न उत्तर कोरियाले आफ्नो क्षेप्यास्त्र गतिविधि विस्तार गरेपछि पनि टोकियो चिन्तित छ । ट्रम्पले आफ्नो पहिलो कार्यकालमा उत्तर कोरियाली नेता किम जोङ उनसँग भेटवार्ता गरेका थिए ।

इशिबाले एक राष्ट्रमाथिको आक्रमण सबैमाथिको आक्रमण भएको भन्दै एशियाली सैन्य गठबन्धनको निर्माणको लागि आह्वान गरेका छन् । ‘जापान–अमेरिका सुरक्षा गठबन्धन जापानको कूटनीति र सुरक्षाको जग हो,’ इशिबाले भने । उनले भने, ‘संयुक्त राज्य अमेरिकाले जापानमा अमेरिकी सेनाद्वारा नियन्त्रित सुविधा र क्षेत्रहरूको अस्तित्वबाट ठूलो रणनीतिक लाभ प्राप्त गर्दछ ।’

ट्रम्पको पहिलो कार्यकालमा जापानका तत्कालीन प्रधानमन्त्री शिन्जो आबेले अमेरिकी राष्ट्रपतिसँग न्यानो व्यक्तिगत सम्बन्ध स्थापित गरेका थिए । यसै महिनाको सुरुमा भएको चुनावमा ट्रम्पको जितपछि इशिबा र अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्पबीच जापानी निकै मैत्रीपूर्ण टेलिफोन संवाद भएको थियो ।

प्रमुख सहयोगी जापान र संयुक्त राज्य अमेरिका एक अर्काका शीर्ष विदेशी लगानीकर्ता हुन् । झण्डै ५४ हजार अमेरिकी सैनिकहरू जापानको ओकिनावामा तैनाथ छन् ।

जापानले आफ्नो कडा शान्तिवादी अडान त्याग्दै आएको छ भने प्रत्याक्रमण क्षमता हासिल गर्न अघि बढिरहेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन र इशिबाका पूर्ववर्ती फुमियो किशिदाले गत अप्रिलमा रक्षा क्षेत्रमा नयाँ युगको सुरूवात भएको घोषणा गरेका थिए ।

जापानले आफ्नो सैन्य खर्चलाई कुल गार्हस्थ्य उत्पादनको दुई प्रतिशतको नेटो मापदण्डमा दोब्बर बनाउने प्रक्रियामा छ । तर ट्रम्पको अमेरिका फस्र्ट दृष्टिकोणको अर्थ यो हुन सक्छ कि उनको दोस्रो कार्यकालमा उहाँले सैन्य सहयोगका लागि थप कम नगद प्रदान गर्नेछन् भने जापानलाई अझ बढी योगदान गर्न दबाब दिनेछन् ।

ट्रम्पले सोमबार मेक्सिको र क्यानडाबाट आयात हुने सामानमा २५ प्रतिशत र चीनबाट आयात हुने सामानमा १० प्रतिशत कर लगाउने घोषणा गरेपछि अमेरिकाका केही ठूला व्यापारिक साझेदारमा त्रास छाएको थियो ।

टोयोटा र होन्डालगायत धेरै जापानी निर्यातकहरूको मेक्सिको र क्यानाडामा प्लान्टहरू छन् । यो साता दुवै कम्पनीको शेयर मूल्यमा भारी गिरावट आएको छ । जापानी सरकारी अधिकारीहरूले ट्रम्पको कर धम्कीबारे टिप्पणी गर्न अस्वीकार गरेका छन् र यसबारे इशिबाले सम्बोधनमा केही उल्लेख गरेनन् ।– रासस, एएफपी

प्रतिक्रिया