काठमाडौं । घरेलु मैदानमा भएको एसीसी यू– १९ पुरुष क्रिकेटको सिरिज भारतको कर्नाटकलाई हराउँदै नेपालले जितेको छ । यू– १९ एसिया कपको तयारीका लागि कर्नाटकविरुद्ध खेलेको ५ खेलको सिरिजको अन्तिम खेल नेपालले ७ विकेटले जितेको हो ।
बिहीबार भएको अन्तिम खेलमा १९२ रनको मध्यम लक्ष्य पाएको नेपालले ४०औँ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो । अन्तिम खेलमा विजयी भएसँगै नेपालले पाँच खेलमा तीन खेल जित्दै सिरिज हात पारेको हो ।
नेपालको जितका लागि दुई जना ब्याट्सम्यानले अर्धशतक बनाए । ओपनर आकाश त्रिपाठी र मयन यादवले अर्धशतकीय पारी खेलेका हुन् । आकाशले नटआउट ८१ रन बनाउँदा मयनले ५० रन जोडे ।
यस्तै अर्जुन कुमालले २१ रन बनाउँदा सन्तोष यादव ४ रन बनाए । कर्नाटकका लागि प्रणव अश्वशले २ तथा तेजसले एक विकेट लिए। पहिलो ब्याटिङको निम्तो पाएको कर्नाटकले ५० ओभरमा अलआउट हुँदै १९१ रन मात्रै जोड्न सकेको थियो । कर्नाटकले सिरिजमा पहिलो पटक पूरा ५० ओभर खेलेको हो । टोलीका लागि कप्तान रोहितले सर्वाधिक ४१ रन बताए ।
अलराउन्डर इसा पुथिगेले ५६ बलमा नटआउट ३८ रन जोड्दै मध्यम स्कोरसम्म पुर्याए । त्यसअघि ओपनर गगन रावले ३४ रन जोडेका थिए । गगन र शिवले ४२ रनको साझेदारी गर्दै इनिङ सम्हाले । नेपालका लागि नरेन साउदले २ विकेट लिँदै खेलमा फर्काए ।
त्यसपछि रोहित र इसाले रन जोड्दै मध्यम स्कोरसम्म पुर्याए । समग्रमा हेमन्तले ३ विकेट लिँदा अभिषेक तिवारी, नरेन सुद र युवराज खत्रीले २–२ विकेट लिए । पहिलो खेल जितेको कर्नाटकले दोस्रो र तेस्रोमा हार व्यहोरेको थियो । चौथो जिते पनि पाँचौंमा हारेको हो ।
प्रतिक्रिया