म्युनिख । युरोपेली नेसन्स कपअन्तर्गत शनिबार भएको भएको समूह ३ को खेलमा जर्मनीले बोस्निया हर्ज गोभिनालाई ७–० ले हराएको छ । नेसन्स कपको ६ वर्षे इतिहासमा ७ गोल गर्ने पहिलो पुरुष टोलीको रूपमा इतिहास कायम गर्नसमेत जर्मनी सफल भएको छ । दोस्रो मिनेटमा नै जमाल मुसियलाको हेड गोलमा जर्मनीले अग्रता लिएको थियो । टिम क्लिन्डेस्डेन्टले दोस्रो गोल गरेको खेलमा फ्लोरियन विट्जसँग समन्वय मिलाउँदै हाभरटेजले तेस्रो गोल गरे ।
दोस्रो हाफको सातौँ मिनेटमा विट्जले २५ यार्ड टाढाबाट फ्रिकिकमा गोल गरे । वैकल्पिक खेलाडी लियारे सानेले थप १ गोल गरे । क्लिन्डेस्डेन्टले अन्तिम गोल गरे ।
त्यसैगरी नेसन्स कपको समूह ३ को अर्को खेलमा नेदरल्यान्ड्सले हंगेरीलाई ४–० ले हरायो । समूह १ को खेलमा अजरबैजान र इस्टोनियाको खेल गोलरहित बराबरीमा सकियो । जर्जिया र युक्रेनबीच पनि १–१ गोलको बराबरी भयो । अल्बानिया र चेक गणतन्त्रलेसमेत गोलरहित बराबरी खेले भने स्विडेनले स्लोभाकियालाई २–१ ले हरायो ।
समूह २ मा मोल्डोभाले एन्डोराले १–० ले हरायो । समूह ४ को खेलमा आइसल्यान्डले मोन्टेनेग्रोलाई २–० ले हरायो । यसैगरी वेल्स र टर्कीबीच गोलरहित बराबरी भयो ।
नेदरल्यान्ड्सको जित भने फरक किसिमको थियो । सुरुआतमै हंगेरीका प्रशिक्षक अस्वस्थ भएपछि खेल प्रभावित भएको थियो । अस्वस्थ भएर मैदानमा ढलेका हंगेरीका सहायक प्रशिक्षक आदम स्जालाइको शारीरिक अवस्था अहिले सामान्य रहेको छ । हंगेरी फुटबल संघले जारी गरेको विज्ञप्तिअनुसार प्रशिक्षक स्जालाइका आर्मस्ड्रम अस्पतालमा उपचार भएको हो ।
हंगेरीको बेन्चमा आएको समस्याका कारण ७ मिनेट खेल रोकिएको थियो । प्रशिक्षक घाइते भएर अस्पताल पठाएपछि खेल सुरु भएको थियो । सो खेलमा नेदरल्यान्ड्ससँग हंगेरी ४–० ले पराजित भयो । विजयी टोली नेदरल्यान्ड्स नेसन्स कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
नवौँ मिनेटमा ओआउ ओगार्टको पेनाल्टी गोलमा नेदरल्यान्ड्सले खेलमा अग्रता लिएको थियो । नेदरल्यान्ड्सले पाएको अर्को पेनाल्टीलाई कोडी गाप्कोले उपयोग गरे । डेन्जेल डुम्फ्राइजले तेस्रो गोल गरे भने टियोन कुप मेयरनसले अर्को गोल गरे । एउटै समूहमा रहेका जर्मनी पहिलो तथा नेदरल्यान्ड्स दोस्रो भइसकेका छन् ।
प्रतिक्रिया