‘लाहुर’ जान हिँडेका प्रकाश धेरै मिहिनेतले स्थापित भए

काठमाडौँ । २०५८ सालको साउनमा अर्मनको खोलाखर्कमा रहेको घरजग्गा सबै पहिरोले सखाप बनाएपछि म्याग्दीको मंगला गाउँपालिका–५ का प्रकाश दुतराजका परिवार अस्थायी बसोबासका लागि सदरमुकाम बेनीमा झरेका थिए । गाउँमा खेतीकिसानी गर्ने उर्मिला र विदेश रहेका भक्तबहादुर दुतराजका ५ छोराछोरी मध्ये दोस्रो सन्तान प्रकाश अर्मनबाट बेनी आउँदा मात्र ८ वर्षका थिए ।

‘परिवार ठूलो भएकाले बुबाको विदेशको कमाइ र आमाले ज्याला मजदुरी गर्दासमेत परिवार चल्न समस्या भएपछि मैले ९ देखि १२ कक्षा पढ्दासम्म बेनीको एक कार्यालयमा मासिक ३ हजार ५०० रुपैयाँमा ज्यालामा साँझ/बिहान सरसफाइको काम गरेको थिए’, उनले विगत सम्झँदै भने, ‘१२ कक्षा पढ्दै गर्दा भाइबहिनीलाई मेरो जिम्मा लगाएर आमा पनि विदेश गएपछि ममाथि अझै जिम्मेवारी थपियो ।’

सानै उमेरदेखि गीत रचना र गाउने गर्दै आएका प्रकाशले कक्षा १० पढ्दा साथीभाइ र शुभेच्छुकहरूबाट सहयोग जुटाएर ‘सिमसिम पर्यो पानी…’ बोलको गित रेकर्ड गराएका थिए । बाध्यताले पढाइलाई भन्दा कमाइलाई प्राथमिकता दिनुपर्ने अवस्था आएपछि भाइबहिनीलाई गाउँ पठाएर वैदेशिक रोजगारको तयारीसँगै सांगीतिक क्षेत्रमा अवसर खोज्न उनी २०७१ सालमा काठमाडौँ छिरेका थिए । काठमाडौँ प्रवेश पछि उनले दोहोरी साँझमा काम गरेका थिए ।

‘विदेशको चक्करमा काठमाडौँ छिरेको म ज्यान पाल्नका लागि ४ वर्ष ६ महिना दोहोरी साँझमा काम गरेँ । दोहोरी साँझ मेरा लागि गर्जो टार्ने थलो मात्र नभएर गीत, संगीत सिक्ने पाठशाला पनि भयो’, विगत सम्झँदै उनले भने । उनका अनुसार दोहोरीको तलब र स्रोता दर्शकको ‘टिप्स’बाट बचेको पैसाले ८ वटा गीत बनाए पनि त्यसले खासै आर्थिक लाभ दिएन ।

विदेशिने होडमा २०७४ र २०७५ सालमा सांगीतिक क्षेत्रबाट टाढिएका प्रकाशले आफन्त, शुभचिन्तक र साथीभाइको आग्रहमा सामाजिक विषयबस्तुसँग जोडिएर ‘आरने’, ‘बैनी झ्यालैमा…’, ‘चोली मैलो भो…’, बोलको गीत बनाएका थिए । ‘आरने’ले कृषि औजार निर्माण र मर्मतको काम गर्नेहरू, ‘बैनी झ्यालैमा’ले प्रेम कथा र ‘चोली मैलो भो’ स्कुले जीवनको झल्को दिने कथामा आधारित थियो ।

सांगीतिक क्षेत्रबाट आर्थिक हिसाबले प्रगति गर्न नसकिने निष्कर्ष निकालेर विदेश जानका लागि बेनीको बैंकमा घरजग्गा धितो राखेर ऋण निकालेका प्रकाश २०७६ फागुनमा काठमाडौँ पुगेर आधा पैसा ‘एजेन्ट’लाई दिए । आधा पैसाले गाउँघरमा बुढापाकाबाट सुनेको यातायातको सुविधा नहुँदा नुन लिन भोट र बटौली गएको कथामा आधारित भएर लेखेको ‘घर कता हो बैनीको, लौन साह्रै मन पर्यो’ भन्ने गीत रेकर्ड र म्युजिक भिडियो बनाउने प्रकाशको योजना थियो ।

‘अन्तिम भनेर ‘घर कता हो बैनीको’ भन्ने गीत रेकर्ड र म्युजिक भिडियो बनाएर युट्युमा राखेर उनी घर फर्किएका थिए । त्यसै समयमा कोरोना महामारी फैलिएपछि ‘लकडाउन’ भएको थियो । उनी गाउँमा आएको एक सातापछि इन्टरनेट भएको ठाउँमा गएर हेर्दा ‘युट्युब’मा राम्रो भ्युज र धेरैले ‘टिकटक’ बनाएको देखेपछि खुसीको सीमा रहेन । विदेश जाने योजना सफल नहुँदा निराश बनेका उनले गीत चल्न थालेपछि कला क्षेत्रमै संघर्ष गर्ने निधो गरेका थिए ।

‘युट्युब’मा हालसम्म ४ करोड २० लाख ५६ हजारभन्दा बढीपटक हेरिएको यो लोक दोहोरी गीतमा अभिनयसमेत गरेका प्रकाशलाई स्वरमा शान्तिश्री परियारले साथ दिएकी छन् । प्रकाशका ‘रिमै’, ‘रेशम’, ‘जुनमाया’, ‘मन भुल्छ’, ‘मै जाम्ला’को म्युजिक भिडियो ‘युट्युब’मा १ करोडपटक भन्दा धेरै हेरिएका छन् ।

गीत गाएरै बुबा, आमालाई विदेशबाट फर्काएर गाउँमा घर बनाएर राखेका प्रकाशले भाइबहिनीलाई पढाइमा सघाएका छन् । प्रकाशको परिचयसँगै सामाजिक र आर्थिक हैसियत फेरिएको छ । ‘युट्युब’ र स्वदेश तथा विदेशमा हुने ‘स्टेज’ कार्यक्रम उनको आम्दानीको स्रोत हो ।

प्रकाशका गीतमा प्रयोग भएका शब्द र संगीत मात्र होइन नृत्य पनि मौलिक र मनछुने किसिमका छन् । उनी गीतको शब्द रचना, गायन, संगीत, निर्देशन र अभिनय आफैँ गर्छन् । उनका म्युजिक भिडियोले मनोरञ्जनसँगै सन्देश पनि बोकेका छन् । मीठास शब्द र संगीतले भरिएको गीतको भिडियोमा मार्मिक र अर्थपूर्ण दृष्य र कथा समेटिएका छन् ।

नेपालीपन भएका सिर्जना स्रोता–दर्शकले मन पराउने प्रकाशको अनुभव छ । उनको अनभुवमा अहिलेका दर्शक हरेक दृश्यमा संगीत र कथा खोजिरहेका हुन्छन् । उनी भन्छन्, ‘हरेक गीतमा शब्द र संगीतसँगै कथा र दृश्यलाई आफ्नोपन दिलाउने प्रयास गरेको छु ।’

प्रकाश आफू हुर्केको गाउँ–समाज, त्यहाँको परिवेश, संस्कृतिलाई नै आफ्नो संगीतको धरातल मान्छन् । सोही कारण उनका गीतमा गाउँ समाज, परिवेशका कथा पाइन्छ । अभाव, दुःख, विभेद, गाउँ–समाज र परिवेशका कथालाई आफूले सिर्जनामा पस्किने प्रयास गरेको प्रकाशको भनाइ छ ।

मनोरञ्जनको साथमा सन्देश

तयार पारेको गीतको विषयमा आफ्नो टिममा छलफल र उनीहरूको सल्लाह सुझाव अनुसार संगीत र म्युजिक भिडियो बनाउँदा सफलता मिलेको उनी बताउँछन् । ‘करिम’ बोलको गीतको म्युजिक भिडियोको कथा र केही दृष्यको विषयमा भएको विवादलाई उनले कमजोरीबाट पाठ सिक्ने अवसरका रूपमा लिएका छन् । गीत सुन्दा र म्युजिक भिडियो हेर्दा स्रोता दर्शकले मनोरञ्जनसँगै सन्देश पनि पाउनुपर्ने हिसाबले काम गर्नुपर्ने प्रकाशको भनाइ छ ।

युवा बिदेसिदा रित्तिएका गाउँघरको परिवेशमा आधारित भएर २०७८ सालको दसैँको छेको पारेर दुतराजले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेको ‘जाम भो माइली…’को म्युजिक भिडियो हालसम्म २ करोड १८ लाख १७ हजारपटक हेरिएको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा घुमन्ते जीवन बिताइरहेका लोपोन्मुख राउटे समुदायको जीवनशैली झल्काउने दृष्य समावेश गरिएको प्रेम कहानीमा आधारित ‘रिमै’ले युट्युबमा सार्वजनिक भएको प्रकाशको सबैभन्दा धेरै ‘भ्युज’ पाएको छ । हालसम्म ४ करोड ७७ लाख २९ हजारपटक हेरिएको रिमैको स्वरमा दुतराजलाई मेलिना राई र अभिनयमा केपिना गोतामेले साथ दिएका छन् ।

डेढ महिनाअघि प्रकाशले सार्वजनिक गरेको ‘रेशम’ गीतको म्युजिक भिडियोमा बर्खामा लेकका बुकीमा ३–४ महिना परिवारदेखि टाढा रहेर भेडीगोठमा बस्ने गोठालाको कथालाई प्रस्तुत गरेका छन् । रेशम गीतको भिडियो युट्युबमा राखेको २ महिनाको अवधिमा १ करोड ३४ लाख ७२ हजारभन्दा बढीपटक हेरिएको छ । सिर्जनाले पाएको तारिफ, स्रोता दर्शकको हौसलाले प्रकाशले लाहुरे बन्ने योजनाबाट विश्राम लिएका छन् ।

प्रतिक्रिया