नेपालगन्जमा ‘रूपान्तरण चित्रकला कार्यशाला’ सम्पन्न

काठमाडौँ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, लुम्बिनी प्रदेश समन्वय समिति र नेपाल कमर्सियल आर्टिस्ट संघ बाँके जिल्ला कार्यसमितिको आयोजना तथा क्रियटिभ आर्ट ग्यालरी नेपालगन्ज बाँकेको सहकार्यमा मङ्गलवार बाँके जिल्लाको नेपालगन्जमा ‘रूपान्तरण चित्रकला कार्यशाला २०८१’ सम्पन्न भएको छ । कार्यक्रमको प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले उद्घाटन गरेका थिए । समारोहमा उपकुलपति लामाले सर्जकहरूको सिर्जनाको सम्मान गर्नु नै यस कार्यक्रमको मुख्य उद्देश्य रहेको बताए । उनले सबै समुदायको कलालाई संरक्षण गर्नुपर्ने बताउँदै त्यसका लागि आवश्यक खोज–अनुसन्धान गर्न स्थानीय कलाकारहरू पनि अघि बढ्नुपर्ने बताए ।

‘यहाँका कलाकारहरू प्रतिबद्ध भएर लाग्ने हो भने नेपालगन्जले ललितकला गतिविधिमा नेतृत्व लिन सक्छ’, लामाले भने । प्रतिष्ठानका लोककला विभाग प्रमुख प्रदिप अधिकारीले नेपालगन्जका अग्रज कलाकारहरूको योगदानको प्रशंसा गर्दै प्रतिष्ठानले त्यसको उचित मूल्याङ्कन गर्ने बताए । उनले यस क्षेत्रमा ललितकलाका विकासमा थप टेवा पु¥याउन कार्यशाला, गोष्ठी, प्रदर्शनी आदि निरन्तर भइराख्नुपर्ने बताए । ‘तपाईँहरू अझ सक्रिय भएर लाग्नुहोस् । प्रादेशिक ललितकला प्रदर्शनी पनि आउँदै छ । त्यसलाई सफल बनाउने जिम्मेवारी पनि तपाईँहरूकै हो’, अधिकारीले भने ।

संस्थाका सल्लाहकार तथा कार्यक्रमका सभाध्यक्ष केशवराज गिरीले यस क्षेत्रको ललितकलाका विकासका लागि प्रतिष्ठानलाई अभिभावकीय भूमिका खेल्न आग्रह गर्नुभयो । कार्यक्रमका अतिथि विष्णुलाल कुमालले नेपालगन्जमा ललितकलाको विकासक्रमका बारेमा चर्चा गरे । उनले त्यहाँ भेरी आर्ट एसोसिएसनको उल्लेख गर्दै अग्रज कलाकारहरू यदुविक्रम शाह, आशाराम मौर्यलगायतलाई सम्झनुभयो भने लैनसिंह बाङदेलको प्रमुख आतिथ्यमा २०४२ सालमा गरिएको प्रदर्शनीका बारेमा पनि उल्लेख गरे । ‘यस क्षेत्रका कलाकारहरूलाई पनि थप प्रोत्साहन दिन जरुरी छ’, उनले भने ।

कार्यशालामा कलाकारहरू आनन्द कर्माचार्य, तेजबहादुर चन्द, श्यामकुमार थापा, धनीराम थारू, ताराबहादुर गुरुङ, भेषराज विक., टेकबहादुर नेपाली, गणेश श्रीस, कमल खत्री, रामचन्द्र चौधरी, खेमराज चौधरी, मोहम्मद सरिफ बेहना, निजमुद्दिन बेहना, मायाराम रैदास, बब्लु सेख, राजु थापा, अजय बिसी, सुशील बिसी, सामर्थ थापा, जीवन सिंहलगायतले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया