काठमाडौँ । नेपालीहरूको सबैभन्दा ठूलो चाड दसैँ नेपाली चलचित्रका लागि पनि उत्सवमय बनेको छ । दसैँमा लागेका नयाँ नेपाली चलचित्र हेर्न दर्शकहरू हलमा ओइरिएका छन् । दसैँको लामो बिदालाई टार्गेट गर्दै २४ असोजमा फूलपातीको दिन ३ वटा नयाँ चलचित्र रिलिज भएका थिए । तीमध्ये २ चलचित्र ‘छक्कापञ्जा–५’ र ‘१२ गाउँ’ले विस्फोटक व्यापार गरिरहेका छन् । तुलनात्मक रूपमा कम सो पाएको ‘ज्वाइँ साब’ ले पनि दर्शकको साथ पाइरहेको निर्माण पक्षले जनाएको छ ।
विदेशी खासगरी भारतीय र दक्षिण भारतीय चलचित्र रिलिज हुँदा देखिने गरेको क्रेज अहिले नेपाली चलचित्रप्रति देखिएको छ । योभन्दा अगाडि नेपाली चलचित्रको ‘प्रि–बुकिङ’ खासै हुँदैनथ्यो । तर, ‘छक्कापञ्जा–५’ र ‘१२ गाउँ’ रिलिज हुनुभन्दा अगाडि नै दुवै चलचित्र हाउसफुल भइसकेका थिए । आजको दिनसम्म पनि यी चलचित्रमा दर्शक खचाखच छन् ।
दसैँमा रिलिज भएका चलचित्रहरूमध्ये सबैभन्दा बढी सो ‘छक्कापञ्जा–५’ ले पाएको थियो । स्थापित ब्रान्ड र निरन्तर सफलताको रेकर्डका कारण यो चलचित्रप्रति प्रदर्शक र वितरकले विश्वास देखाएका हुन् । नभन्दै चलचित्रले पहिलो दिनबाटै बम्पर व्यापार ग¥यो । ट्रेलरले आलोचना खेप्नु परे पनि चलचित्र हेरेका दर्शकले यसको यथार्थपरक कथावस्तु मन पराएका छन् । चलचित्रमा हास्यरस कम भएको कतिपय दर्शकको गुनासो पनि सुनिएको छ । समग्रमा ‘वर्ड अफ माउथ’ बलियो भएकाले ‘छक्का पञ्जा–५’ ले धेरै दिनसम्म दर्शक तान्नसक्ने अनुमान गर्न सकिन्छ ।
निर्माता दीपकराज गिरी ‘छक्कापञ्जा–५’ ले हिजोसम्म अनुमानित ८ करोड रुपैयाँ ग्रस आम्दानी गरेको बताउँछन् । बुधबारसम्म १० करोड रुपैयाँ पुग्नसक्ने उनले प्रक्षेपण गरे । ‘आजसम्म दर्शकको चाप हेर्दा हामी पहिलो सातामै १० करोड छुनसक्ने अवस्थामा छौँ’, गिरीले भने ।
प्रतिक्रिया