वीरगञ्ज । नेपालमा दसैँको रौनक सुरु हुँँदा नहुँदै किनमेलको भिडभाड सीमावर्ती भारतीय बजारमा बढ्ने गर्छ । अहिले सीमावर्ती बजार रक्सौल, रुपैडिया, सुनौली गौरीफन्टामा किनमेलका लागि नेपालीहरूको भिडभाड बढेको छ तर वीरगन्ज, भैरहवा, नेपालगन्ज, धनगढीजस्ता नेपाली बजार भने सुनसान जस्तै छन् ।
नवरात्र सुरु भएसँगै वीरगन्जको सीमावर्तीबजार रक्सोलमा चहलपहल बढेको छ । वीरगन्ज आसपासका सर्वसाधारण दसैँको किनमेल गर्न गएसँगै त्यहाँको बजार चहलपहल बढेकोे हो । तर, नेपाली बजार वीरगन्ज भने सुनसानजस्तै देखिन्छ । सडक र फुटपाथमा फलफूल, जेरी र बच्चाका खेलाना बेच्ने मौसमी व्यापारीको भिडभाड देखिए पनि अन्य ‘सपिङ सेन्टर’हरू सुनसानजस्तै देखिन्छन् । वीरगञ्ज महानगरपालिका–९ घण्टाघरका मुन्ना ठाकुर वीरगञ्जमाभन्दा रक्सोल बजारमा २० देखि ३० प्रतिशतसम्म खाद्यान्न र लत्ताकपडा सस्तो हुने भएकाले प्रायःजसो सबै उतै खरिद गर्न जाने बताए । उनले भने, ‘वीरगन्जमाभन्दा रक्सोलमा खाद्यान्नदेखि लत्ताकपडा सस्तो हुने भएकाले उतै जाने गर्छाैं, यहाँ त गाह्रोसारो परेका बेला मात्र हो किनमेल गर्ने ।’
नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य सुबोधकुमार गुप्ता चाडपर्वका बेलामा पनि वीरगञ्जको भन्दा सीमावर्ती बजारमा रक्सोलमा नै भिडभाड हुने गरेकोे बताए । उनले भने, ‘यहाँका अधिकांश सर्वसाधारण खाद्यान्न र लत्ताकपडालगायत सामान खरिद गर्न रक्सोल जाने गर्छन्, वीरगञ्जमाभन्दा सस्तो मूल्यमा पाइने भएकाले पनि रक्सोल सधैँ गुल्जार भइरहने, वीरगञ्ज भने सुनसान जस्तै हुने परिपाटीको विकास हुँदै आइरहेको छ ।’
गुप्ताले सरकारले भारतबाट आयातित वस्तुमा अत्यधिक मात्रामा कर लगाएका कारण पनि अवैध ढंगले चोरी, तस्करी गरेर सामान भित्रिने प्रवृत्ति बढेको बताए । ‘खुला सीमाको कारणले एकातर्फ क्यारिङ गरेर भन्सार छली गरेर सामान भित्र्याउने प्रवृत्ति पनि रोकिएको छैन । अर्कातर्फ सीमावर्ती बजारबाट सर्वसाधारणले दैनिक उपभोग्य सामान पनि खरिद गर्दै आइरहेका छन्’, उनले भन्ने, ‘सरकारले भन्सार महसुलदर सीमावर्ती बजारभन्दा १०–१५ प्रतिशत मात्र फरक गराउने हो भने अवैध रूपमा भित्रिने वस्तु तथा सामानको आयात रोक्न सकिन्थ्यो ।’
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछाने सीमावर्ती क्षेत्रका सर्वसाधारणलाई दैनिक उपभोग्य वस्तु तथा सामानबाहेक अन्य वस्तु तथा सामान ल्याउन कडाइ गर्दै आइरहेको दाबी गरे । ‘पहिलाभन्दा अहिले धेरै सुधार भइसकेको छ’, उनले भने, ‘पछिल्लो डेढ महिना क्यारिङबाट सामान ओसारपसार गर्नेमा कमी आएको छ ।’
वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको १५ असोजसम्मको अवधिमा ४३ अर्ब ७० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएकामा सो अवधिसम्म कुल लक्ष्यको ७४ दशमलव ४७ प्रतिशत अर्थात ३२ अर्ब ५४ करोड ५५ लाख रुपैयाँ राजस्व संकलन भइसकेको छ । असोजभरिमा १७ अर्ब ४२ करोड रुपैयाँ लक्ष्य राखिएकामा १५ असोजसम्मको अवधिमा भने ६ अर्ब ९५ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।
भन्सार विभागले सुख्खा बन्दरगाह भन्सार कार्यालयलाई असोजका लागि मात्र ४ अर्ब ८३ करोड २० लाख ४८ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिएको छ । तर, असोजका १५ दिनका अवधिमा मासिक लक्ष्यको ४८ प्रतिशत राजस्व संकलन गरिसकेको छ । सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले दसैँमा विदेशी मदिराजन्य पदार्थको आयात भएसँगै राजस्व संकलन उत्साहजनक रहेको बताए ।
सीमावर्ती सहर भैरहवा, नेपालगन्ज, धनगढीको बजारको अवस्था पनि वीरगन्जको भन्दा फरक छैन । सीमापारी भारतीय बजारहरू सुनौली, रुपैडिया, गौरीफन्टामा नेपाली उपभोक्ताको भिड लागेको छ भने वारिका बजार सुनसानजस्तै छन् ।
प्रतिक्रिया