देउवाको पालामा गठन भएको गर्भनर अधिकारीमाथिको छानबिन समिति रद्द

काठमाडौं । विगतमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्न गठन गरेको जाँचबुझ समिति हाल रद्द गरिएको छ । सो समिति अहिले नेकपा एमालेका अध्यक्षसमेत रहेका केपी शर्मा ओली नेतृत्वको सरकारमा साढे २ वर्षपछि रद्द गरिएको हो ।

प्रधानमन्त्री ओली नेतृत्वको यसअघिको सरकारले नियुक्त गरेका अधिकारीलाई देउवा नेतृत्वको सरकारले गभर्नर पदबाट हटाउन छानबिन समिति गठन गरेको थियो । छानबिन समिति गठन भएसँगै निलम्बनमा परे पनि अधिकारीले सर्वोच्च अदालत गुहारेका थिए ।

सर्वोच्च अदालतले उनीमाथिको छानबिन प्रक्रिया रोक्न आदेश दिएपछि अधिकारीले निरन्तरता पाएका थिए । अधिकारीले निरन्तरता पाए पनि मन्त्रिपरिषद्को निर्णय भने हेरफेर नभएको अवस्थामा अहिले प्रधामन्त्री ओली नेतृत्वको मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले उक्त जाँचबुझ समिति रद्द गरेको हो ।

गभर्नर अधिकारीमाथि जाँचबुझ गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा तीन सदस्य समिति गठन भएको थियो । समिति सदस्यमा डा. सूर्य थापा र चन्द्रकान्त पौडेल रहेका थिए ।

समितिलाई एक महिनाभित्र छानबिन प्रतिवेदन बुझाउन भनिएको थियो । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको हो।

नेपाली कांग्रेसका सभापति देउवा नेतृत्वको तत्कालीन सरकारले २०७८ चैत २४ गते छानबिन समिति गठन गरेको थियो । उक्त समितिविरुद्ध अधिकारी सर्वोच्च अदालत गएका थिए । सर्वोच्चले उनका पक्षमा अन्तरिम आदेश जारी गरी कारबाही प्रक्रिया रोकिदिएको थियो ।

प्रतिक्रिया