काठमाडौँ । विराज भट्ट निर्देशित फिल्म ‘१२ गाउँ’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा फिल्मको फिल्मको कथावस्तु र चरित्रबारे चित्रण गरिएको छ । विराजसहित उनका छोरा समीर भट्टलाई ट्रेलरमा एक्सन अवतारमा देख्न सकिन्छ । ट्रेलरले ‘१२ गाउँ’ नामको एक थलोको रूपमा सामन्ती जमिनदार र शोषित जनताबीचको कथा भन्छ । जहाँ साम्राज्यमा समिर राज गर्न लागिपरेको ट्रेलर हेर्दा थाहा हुन्छ ।
यो समिरको डेब्यु फिल्मसमेत हो । समिरले विगत १० वर्षदेखि भारतको मुम्बईमा अभिनय, मार्सल आर्ट, जिम तथा जिम्न्यास्टिकको प्रशिक्षण लिएर फिल्म खेलेका हुन् । यसै फिल्मबाट समीरसहित २ अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेब्यु गर्दैछन् ।
फिल्ममा मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुनजंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय छ । विराज भट्ट फिल्म पोडक्सन प्रस्तुतिमा निर्माण भएको फिल्ममा विराज स्वयंको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन रहेको छ ।
एक्सन–थ्रिलर कथामा बन्न लागेको सिनेमाका लागि विराजले भारतबाट द्वन्द्व निर्देशक ल्याएका छन् । तमिल तथा कन्नड सिनेमामा द्वन्द्व निर्देशक भएर काम गरेका स्टन्ट सिल्भालाई द्वन्द्व निर्देशनमा शंकर महर्जनले सघाएका छन् । नेपालसहित भारतमा छायांकन गरिएको यो फिल्म दसैँको अवसरमा असोज २४ गतेबाट रिलिज हुनेछ ।
प्रतिक्रिया