काठमाडौँ । भारतीय अभिनेता गोविन्दालाई गोली लागेको छ । मुम्बईस्थित आफ्नै घरमा मंगलबार बिहान उनलाई गोली लागेको हो ।
भारतीय मिडियाका अनुसार गोली लागे लगत्तै उनलाई मुम्बईस्थित क्रिटिकेयर अस्पतालमा लगिएको थियो । हाल उनी उपचाररत छन् । खुट्टाबाट गोली निकालिएको छ । उनी हाल जोखिममुक्त रहेको बताइएको छ । उनी मंगलबार बिहानै कोलकाता जान तयार भएका थिए । हतियार दराजमा राख्ने क्रममा ‘मिस फायर’ हुँदा घाइते भएको उनको निजी सचिवालयले बताएको छ ।
गोविन्दाका मेनेजर शशी सिन्हाले भारतीय मिडिया एएनआइसँग भनेका छन्, ‘उहाँले दराजमा हतियार राख्न जानुभएको थियो । हातबाट हतियार खस्यो र मिस फायर भयो ।’
सिन्हाको दाबीअनुसार गोविन्दाले उक्त हतियार राख्नका लागि सरकारबाट अनुमति पाएका छन् । घटनाबारे जानकारी हुने बित्तिकै प्रहरी गोविन्दाको घरमा पुगेको थियो । अहिलेसम्म यस घटनासम्बन्धी उजुरी परेको छैन । घटना हुँदा उनको श्रीमती सुनिता अहुजा घरमा थिइनन् । उनी कोलकातामा थिइन् । अस्पतालमा गोविन्दासँग उनकी छोरी टिना छिन् ।
गोविन्दाले आफ्नो स्वास्थ्यबारे फ्यानहरूलाई जानकारी दिएका छन् । हाल उनी क्रिटिकेयर अस्पतालमा उपचाररत छन् । उनको स्वास्थ्यबारे फ्यान चिन्तित भइरहेका बेला गोविन्दाले अस्पतालबाटै अडिओ सन्देश जारी गरी जानकारी दिएका हुन् । उनले भनेका छन्, ‘म अहिले खतरामुक्त छु । गल्तीले गोली चल्यो । बाबाको आशीर्वाद ! म मेरा डाक्टरहरूलाई धन्यवाद दिन्छु । म मेरा फ्यानहरूप्रति पनि आभारी छु’, उनले अगाडि भनेका छन्, ‘सबैको आशीर्वाद, आमा–बुबाको आशीर्वाद र बाबाको कृपाले लागेको गोली निकालिसकिएको छ । म तपाईंहरू सबैलाई धन्यवाद दिन्छु ।’
प्रतिक्रिया