रामकृष्ण ढकालको अस्ट्रेलिया टुर

सिड्नी । रामकृष्ण ढकालले अस्ट्रेलिया टुर नामक सांगीतिक भ्रमणको सुरुआत सिड्नीबाट गरेका छन् । शनिबार बेलुकी सिड्नीस्थित रगडेलमा रहेको इन्द्रेणी फङ्सन सेन्टरमा उनले आफ्ना नयाँ तथा पुराना गीत प्रस्तुत गरे । ‘बिहान उठ्नेबित्तिकै’ गीत गाउँदै स्टेजमा देखिएका गायक ढकालले आफ्ना चर्चित गीत ‘बाचुन्जेलीलाई’, ‘ओराली लागेको’, ‘नजिक आउनुमा’, ‘चरीले त छाडेर’ लगायतका गीत प्रस्तुत गरे ।

उनले स्वरसम्राट नारायण गोपालका गीतहरू स्थानीय ब्यान्डसँग प्रस्तुत गर्दा उपस्थित दर्शकले प्रत्यक्ष नारायण गोपाल सुनेको प्रतिक्रिया दिए । अन्त्यमा उनले आफ्ना डान्सिङ नम्बर ‘ए माया जदौ’ गाए । सन् २००९ देखि नै आफूले अस्ट्रेलियामा कन्सर्ट गरिरहेको र यो चौथोपटक रहेको गायक ढकालले बताए । ‘अस्ट्रेलियामा मैले सधैँ माया पाउने गरेको छु, यसलाई धन्यवाद भन्ने मसँग शब्द छैन । मैले यहाँ ट्रयाक र ब्यान्ड गरी २ चरणमा आफ्ना गीत प्रस्तुत गरेँ । यसपटकको टुरको सुरुआत सिड्नीबाट गर्न पाउँदा म निकै उत्साहित छु’, उनले भने ।

कार्यक्रममा उनले नेपालमा लगातार परिरहेको पानीका कारण आएको बाढीपहिरो र त्यसबाट परेको असरबाट आफू पनि अछुतो नरहेको बताए । ‘एउटा कलाकारको धर्म नै उसको कर्म हो । नेपालमा १ जना गीतकार हुनुहुन्छ र उहाँको परिवारलाई म आफ्नो परिवार मान्छु । उहाँको घरकै गेटमा पहिरो परेर थुनिनुभएको छ, उद्धार कार्य भइरहेको छ । तर, म एउटा कलाकारको धर्म निर्वाह गर्न यहाँ स्टेजमा छु’, उनको भनाइ थियो ।
पाल्पा सर्भिसेसले आयोजना गरेको कार्यक्रममा गायक ढकालले ३ घण्टा आफ्नो गीतमार्फत दर्शकलाई बाँध्न सफल भए । आयोजक संस्थाका अध्यक्ष दिनेश श्रेष्ठले कार्यक्रम भव्य रूपमा सफल भएको बताए ।

गायक ढकालले यसपटकको दसैँ अस्ट्रेलियामै मनाउने भएकाले विभिन्न सहरमा आफू प्रस्तुत हुने बताए । उनले न्यु क्यासल, एडिलेड लगायतका सहरमा आफ्नो प्रस्तुति तय भइसकेको जानकारी पनि दिए । सोही कार्यक्रममा गायक ढकालले नेपाली संगीतलाई विश्वभर चिनाउन गरेको योगदान र संगीतमा दिएको निरन्तरतावापत् सम्मान पनि गरिएको थियो ।

प्रतिक्रिया