काठमाडौँ । गुरुङ समुदायको घाँटुको कथामा फिल्म ‘जूनकिरी’ बन्ने भएको छ । सो फिल्म शुक्रबार काठमाडौँमा शुभमूहुर्त गरिएको हो । फिल्मका निर्देशक दीप गुरुङ र कलाकारहरूले क्यामेरामा पूजा गरेर फिल्मको शुभमुहूर्त गरे । दीप फिल्म्स प्रोडक्सनले निर्माण गर्न लागेको फिल्मको सुटिङ १५ असोजदेखि हुनेछ । फिल्ममा सुरज तमु र लक्ष्मी गुरुङ मुख्य भूमिकामा छन् ।
सुरजले ऊनको स्विटर, गोर्खा वारियर, एन्जिला, सारंगा, नैनालगायत फिल्ममा अभिनय गरिसकेका छन् । एक दशकदेखि रंगकर्ममा सक्रिय सुरजले स्कुल, चालिसे भीरलगायत नाटक निर्देशनसहित २ दर्जन नाटकमा अभिनय गरेका छन् ।
यसअघि फिल्म ‘नैना’मा मुख्य भूमिकामा देखिएकी लक्ष्मीको दोस्रो फिल्म हो । फिल्ममा सुरज र लक्ष्मीसँगै माओत्से गुरुङ, अनिल सुब्बा, कविता आले, प्रतिना राई, प्रविन मगर, सुस्मिता गुरुङ, माया गुरुङ, समर्पण श्री र सौजन सेन्ह्याङ लगायतका कलाकारले अभिनय गर्नेछन् ।
निर्देशक दीप गुरुङको यो दोस्रो फिल्म हो । उनले यसअघि फिल्म ‘नैना’ सहित दर्जनौँ म्युजिक भिडिओ निर्देशन गरिसकेका छन् ।
फिल्ममा काठमाडौँमा संघर्ष गरिरहेको फोटोग्राफरको यात्रा र अनुभूतिको कथा छ । गुरुङ समुदायको घाँटु नाचको फोटो खिच्न जाँदा हुने घटना र भेटिने सम्बन्धले कथालाई रोचक बनाउने विश्वास निर्माण टिमले लिएको छ । फिल्ममा भरत राई र सुरज तमुको कथा तथा केर कोइँच लिनुचको पटकथा छ । फिल्ममा कलाकार अनिल सुब्बा एक्टिङ निर्देशकका छन् । यो फिल्म सिनेमाटोग्राफर योगेश दाहालले खिच्नेछन् ।
प्रतिक्रिया