रामकृष्णको जीवनको हिसाब सार्वजनिक

काठमाडौँ । नेपाली सुगम संगीतका लोकप्रिय गायक रामकृष्ण ढकालको स्वरमा रहेको गीत ‘जीवनको हिसाब’ सार्वजनिक भएको छ । काठमाडौँको प्रज्ञा साउन्डमा रेकर्ड गरिएको गीतमा मनोज खड्काको शब्द, डेनी निरौलाको संगीत, किरण कँडेलको एरेन्ज तथा शम्भु तण्डुकारको मिक्सिङ र रेकर्डिङ छ ।

अस्ट्रेलियाको सिडनीमा आयोजित एक बृहत सांगीतिक कार्यक्रममा यो गीतको भिडियो गायक ढकालले सार्वजनिक गरेका छन् । ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको भिडियोमा अभिनेता दिलीप रायमाझी र मोडल सविना थपलिया फिचरिङ छन् ।

भिडीयोमा दिलीप रायामाझीले परदेसिएका नेपालीको भौतिक र मानसिक दुखः पीडालाई ज्वलन्तरूपमा प्रस्तुत गरेका छन् । उनी यो गीत आफ्नो जीवनमा समेत धेरै हदसम्म मेल खाएको ठान्छन् । उनले भने, ‘देशको माया त धेरै हुन्छ तर यथार्थमा त्यो मायाले पेट नभर्ने रहेछ, यस्तै पीडामा समाज र परिवारसँग बिछोडिएका नेपाली चाँडो जन्मभूमि फर्केर पुनर्मिलनको वातावरण बनोस् ।’

परदेसिएका नेपालीहरूमा समर्पित गीतमा घर छोडेर परदेसिएपछिको पीडालाई यथार्थपरकरूपमा चित्रण गरेको छ । नेपालमा तयार भएको अडियोको भिडियो नेपाल र अमेरिकाको विभिन्न स्थानहरूमा छायांकन गरिएको छ ।

भिडियोमा घनेन्द्र रसाइलीको निर्देशन, राजेन्द्र विष्टको छायांकन, र सुक कालिकोटेको प्रोडक्सन डिजाइन छ । भिडियोको पोस्ट प्रोडक्सन ड्रागन प्रोडक्सनमा गरिएको छ भने प्रकाशन संयोजन नेपाल म्युजिक एसोसिएसनका अध्यक्ष तथा साधना कला केन्द्रका संस्थापक मिलन मोक्तानले गरेका छन् ।

गीतकार खड्का हाल अमेरिकी अन्तर्राष्ट्रिय नियोग युएसएड्को मुख्यालय वासिंगटन डिसीमा कार्यरत छन् । गीतकार खड्काले नेपालको हरेक परिवारका कोही न कोही सदस्य विदेशमा रहेकाले सम्बन्धित व्यक्ति तथा परिवारका लागि गीतले छुने बताए । ‘यो गीत गायक रामकृष्ण ढकालकै लागि लेखिएको हो । गायक र संगीतकार दुबैले गीतको शब्द र भावहरूमा पूर्ण न्याय दिनुभएको छ । गीतमा आमदर्शक तथा श्रोताहरूले आफ्नै वा आफ्ना नजिकका मान्छेहरूको कहानी पाउनेछन्’, उनले भने ।

विभिन्न सरकारी तथा गैरसरकारी क्षेत्रमा रही नेपाललगायत विभिन्न देशहरूको कार्य अनुभव बटुलेका खड्काले नियमितरूपमा साहित्य र संगीतको क्षेत्रमा कलम चलाउने गरेका छन् । एक दर्जनको हाराहारीमा गीत रेकर्ड गराइसकेका गीतकार खड्काको पछिल्लो गीत ‘तिमी जे बन उदाहरण बन’ को भिडियो एआई प्रविधिमा तयारी पारिएको थियो ।

प्रतिक्रिया