एलिमेन्ट्सको सांगीतिक प्रस्तुति

काठमाडौँ । युवापुस्तामाझ चर्चित ब्यान्ड ‘द एलिमेन्ट्स’ ले शनिबार सांगीतिक प्रस्तुति दिने भएको छ । ब्यान्डले हात्तीसारस्थित सिंक लाउन्जमा आफ्नो प्रस्तुति दिन लागेको हो । द एलिमेन्ट्स ब्यान्डले आफ्नो नयाँ म्युजिक भिडिओ सार्वजनिक गर्ने सन्दर्भ पारेर सांगीतिक प्रस्तुति दिन लागेको ब्यान्ड म्यानेजर मनिष अधिकारीले जानकारी दिए । उनले भने, ‘शनिबार चलचित्र शीर्षकको नयाँ गीत सार्वजनिक हुनेछ ।’

त्यही सन्दर्भमा ब्यान्डले नयाँ पुराना केही गीत पनि गाउने छन् । ब्यान्डको ‘बिर्सने हौ कि’, ‘सपनाको मायालु’, ‘पुतली’जस्ता गीतहरू चर्चित छन् । रोचक कुरा, एलिमेन्ट्सको नयाँ गीत चलचित्रमा नेपाली चलचित्र क्षेत्रकै दिग्गज अभिनेत्री गौरी मल्लको अभिनय गरेकी छन् । मल्लसँगै कुन्शाङ तामाङ र एलिमेन्ट्स ब्यान्डका तीनै जना सदस्य ईशानराज वन्त, रौनक अधिकारी र दिपेश गुरूङको अभिनय देख्न पाइन्छ ।

रविन शर्माको निर्देशनमा तयार भएको चलचित्रमा कुन्शाङ तामाङले रुद्रको भूमिका निभाएका छन्, जसले एक साधारण पात्रबाट नायक बन्ने यात्रालाई सजीव बनाएका छन् ।

चलचित्रको म्युजिक भिडिओमा सांस्कृतिक सिनेमाटिक फ्युजन देख्न पाइन्छ । रोचक कथामा सांस्कृतिक विशेषतासमेत झल्काउने गरी बुनिएको म्युजिक भिडिओ हो यो । चलचित्रका कला निर्देशक चे शंकरले नेपाली परम्परा र सांस्कृतिक विशेषता झल्किने दृश्यहरू सिर्जना गरेका छन् । त्यस्तै, सौरभ लामिछानेको छायांकन रहेको चलचित्रले पाटन क्षेत्रको सांस्कृतिक, आध्यात्मिक सौन्दर्यलाई सिनेमाटिक रूप दिएको छ ।

ब्यान्डका गायक ईशानराजले भने, ‘यो गीतले सबै मान्छे आफ्नो चलचित्रका हिरो आफैँ हौ भन्ने भाव बोकेको छ र म्युजिक भिडिओले पनि त्यहीअनुसार तयार भएको छ ।’ चलचित्र बोलको गीत एलिमेन्ट्सको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक हुनेछ ।

प्रतिक्रिया