ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘रामायण : साझा धरोहर’ प्रदर्शनी सुरु

काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान तथा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र भारतीय राजदूतावासको संयुक्त आयोजनामा ‘रामायण रिसोनेन्स : सेलेव्रेटिङ अ शेयरड हेरिटेज’ (रामायण : साझा धरोहर) प्रदर्शनी सुरु भएको छ ।

सोमबारदेखि नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा आयोजित प्रदर्शनीको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का डिडिजी अन्जु रञ्जन र प्रदर्शनीको क्युरेटर तथा डाइरेक्टर गार्गी सेठले संयुक्तरूपमा उद्घाटन गरे । प्रदर्शनी उद्घाटनमा उनीहरुले यस्ता कला प्रदर्शनीले २ देशको संस्कृति आदानप्रदानमा योगदान पुग्ने बताएका थिए ।

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले प्रतिष्ठानले विभिन्न देशसँग मिलेर कला प्रदर्शनी आयोजना गर्दै आइरहेको जनाउँदै यसले संस्कृति आदानप्रदानसँगै पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले प्रदर्शनीले एक अर्काको कला सिर्जनाका सोच र शैलीको समेत आदानप्रदान हुने बताए । साथै उनले भने, ‘यो प्रदर्शनीले संस्कृति बुझ्ने मौकासमेत मिलेको छ ।’

प्रतिष्ठानका सदस्यसचिव देवेन्द्र काफ्ले थुम्केलीले प्रतिष्ठानले देशभित्रै र विदेशमा समेत आफ्नो गतिविधि फैलाउँदै लगेको र यसले ललितकला क्षेत्रलाई रुपान्तरण गर्ने योजना सार्थक बन्दै गएको बताए ।

प्रदर्शनीमा नेपाली कलाकार उमाशंकर साह, नरेन्द्रबहादुर श्रेष्ठ, एससी सुमन र अगम श्रेष्ठका कलाकृति प्रदर्शनमा छन् । यस्तै, अम्बालिका चितकरा, आनन्द पञ्चाल, अरपना कौर, असित पटनायक, ब्राटिन खान, चन्द्र मोरकोण्डा, कल्याण पि जोशी, कञ्चन चन्दर, के जी बाबु, नागेश गौर, नवल किशोर, नीरज गुप्ता, प्रिती गुप्ता, सुशील कुमार, राजेश कुमार, रेनुका सोढी गुलाटी, सरला चन्दर, सिमा कोहली, शाम्पा सिरसर दास, सिद्धार्थ, सुवोध केलकर, सिन्धे श्रीरामुलु, स्वर्ण चैत्रकार, सुनिता लाम्बा, कामिनी बाघेल, लक्ष्मण कुमार नायक, बलदेव पवार, युगदिपक सोनीका कलाकृति प्रदर्शनमा राखिएका छन् ।

प्रदर्शनीका क्युरेटर गार्गी सेठले रामायणको विषयमा केन्द्रित रही तयार पारिएका कलाकृति प्रदर्शनी राखिएको जनाइन् । प्रदर्शनी यही असोज १४ गतेसम्म हुनेछ ।

प्रतिक्रिया