‘गरिबी न्यूनीकरण गर्न कृषिमा लगानी बढ्नु पर्छ’

विराटनगरमा कृषि एक्स्पो

विराटनगर । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले ग्रामीण कृषकमाझ रहेको गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनुपर्नेमा जोड दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशको आयोजनामा बिहीबार विराटनगरमा कृषि एक्स्पो २०८१ उद्घाटन कार्यक्रममा कृषि मन्त्री अधिकारीले कृषि उत्पादन र उत्पादकत्व वृद्धिका लागि सरकारले कृषि लगानी दशक घोषणा गरेको बताएका हुन् ।
लगानी दशकका लागि बैंक तथा वित्तीय संस्थामार्फत कृषिमा लगानीका लागि विशेष उत्पादनहरूमा लगानी सहजीकरण गर्ने पनि मन्त्री अधिकारीले बताए । उनले भने, ‘निजी क्षेत्र र सहकारी क्षेत्रको लगानी अपेक्षा गरे अनुरूप हुन नसक्दा कृषि क्षेत्रको आधुनिकीकरण व्यवसायीकरण हुन सकिरहेको छैन ।’

मन्त्री अधिकारीले कृषिमा निजी क्षेत्रले लगानी गर्ने वातावरण निर्माण गर्न जरुरी रहेको बताए । निजी क्षेत्रको सहभागिताविना लगानी दशकले सार्थकता पाउन गाह्रो रहेको बताउँदै कृषि मन्त्री अधिकारीले भने, ‘कृषिमा लगानी दशकको अभियानले वर्तमान शासकीय संरचनाका तीन वटै तह, कृषक, सहकारी, निजी क्षेत्र, विकास साझेदारको लगानी कृषि क्षेत्रको व्यवसायीकरणमा केन्द्रित गर्नेछ ।’

नेपाली बजारमा दूधको खपत नहुँदा दुग्ध किसान तथा व्यवसायी मर्कामा परिरहेको जनाउँदै मन्त्री अधिकारीले देशमै दुग्ध पदार्थको विविधीकरणका साथै बजारी करणको खोजी गर्न आवश्यक रहेको बताए । दुग्ध विकास संस्थानमार्फत किसानलाई उपलब्ध गराउनुपर्ने दूधको मूल्य भुक्तानीका लागि सरकारले काम गरिरहेको जानकारी गराउँदै उनले भने, ‘अब भुक्तानीको चरणमा रहेको छ । दुग्ध विकास संस्थानमार्फत दूधको मूल्य बक्यौता छिटै समाधान हुनेछ ।’ कोसी प्रदेशमा आयोजना हुन गइरहेको अन्तर्राष्ट्रिय चिया सम्मेलनका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तर्फबाट समन्वय भइरहेको पनि उनले जानकारी दिए ।

भदौ ३० गतेसम्म सञ्चालन हुने एक्स्पोमा १३० वटा स्टल रहेका छन् । एक्स्पो अवधिभर कृषि, पशुपन्छी, कस्टम हाइकिङ, क्लाइमेट चेन्ज, जैविक मल तथा विषादि बनाउने र प्रयोग विधिलगायत विषयमा नेपाल र भारतका विज्ञ सहभागितामा संवाद हुने जनाइएको छ । पहाडी जिल्लाबाट अवलोकन गर्न आउने र एकै दिनमा फर्कन नसक्नेका लागि निःशुल्क बस्न र खानाको व्यवस्था मिलाइएको आयोजकले बताएको छ । एक्स्पो सञ्चालनका लागि १ करोड रुपैयाँ खर्च हुने पनि अनुमान गरिएको छ ।

प्रतिक्रिया