‘करेलीको अचार धुर्सेलीको पातमा, बाहुनले रौसी खानी मध्यरातमा, स्वामिज्युले भन्नुभयो पानीलाई वाटर, नजारेर मैले दिए काँचो कटहर, उठ बज्यै दैलो पोत पढ्न हिँडियो । अन्धेरी खोलाले लग्यो बरिलै, वर्ष दिनको तिजमा बाबा लिन आएनन् आदि ।
महिलाहरूको चाड तिजले आजकल सबै घरपरिबारमा एकछत्र छाएको छ यो पर्व वर्षमा एकपटक आउने भएकाले महिलाहरू निस्फिक्री रमाउँछन् । महिलाहरू स्वच्छन्द रूपमा मनाउने यो पर्व प्रत्यक्षरूपमा पुरुषसँग जोडिएको भए पनि पुरुषबाट नै टीकाटिप्पणी खप्नुपरेको छ । ‘यत्र नार्यस्ते पुज्यन्ते रमन्ते तत्र देवता’ को परम्परा तथा संस्कार भएको हाम्रो मुलुकमा तिज पर्वको आकर्षण बढ्दो छ ।
तिज पर्व आमनेपाली महिलाहरूको चाड हो यसमा हिन्दू र बौद्ध सबै महिला आफ्ना पिर, मर्का, वेदना पोख्ने अवसरको रूपमा लिन्छन् । जुन तिजको लय र भाखामा गाइन्छ । समाज घरपरिबारको पिर, मर्काको बारेमा गीत गाउनु, नाँच्नु समाज परिवर्तनको ज्वलन्त उदाहरण तथा आयाम हो । तिज पर्व हिमाल, पहाड तथा तराईमा पनि मनाउने क्रम बढदो छ, मूलतः पहाडमा मनाइन्थ्यो ।
अहिले समाज विकासको क्रममा मानिसको बसाइँसराइले गर्दा सबैजसो चाडपर्व साझा बनेका छन् । तिज पर्वमा धार्मिक त छँदै छ समाजिक अभियान, राजनीति, अपराध, भेदभाव, नारी वेदना, महिला हिंसा, शिक्षा, घर, माइती, जागिर आदि विषयहरूमा केन्द्रित गरेर गीत बनाइन्छ । जसका २ पाटाहरू छन् एकथरी गीत हरेक सालजसो पेशेवर गायकले गाउँदै आएका छन् भने अर्को स्थानीय महिला, क्लब, समाज र समूहमा मिलेर भाखा निकालेर समाजकै बारेमा चित्रण गरेर गाउने गरिन्छ ।
हाम्रो समाज पितृसत्तात्मक भएकाले समाजमा रहेका पुरुष, श्रीमान, बाबु, दाजुभाइबाट भएको असमान व्यवहार, भेदभाव, माया र प्रेम आदिलाई गीतको माध्यमबाट प्रस्फुटन गरिन्छ । यो चलनबाट महिलामा मन हल्का हुने, पीडामा हुने साथै समाजमा सामाजिक भेदभावमा कमी हुने महत्वपूर्ण पक्ष छ । धार्मिक ग्रन्थहरूमा महिला माइतीमा रहँदा बाबुको संरक्षणमा र घरमा गएपछि श्रीमानको संरक्षणमा रहने उल्लेख छ । यो मनस्मृतिको कथन हो, तर पनि महिलाको साक्षरता दर, श्रम बजारमा उपस्थिति आदि हेर्दा सत्य हो जुन मतबाट बाहिरिएर समाजमा दिनप्रतिदिन हिंसा बढेका छन् जसमा पिता र पति दुबै कर्तव्यबाट विमुख भए ।
तिजको धार्मिक, सनातन पक्षः
धर्म मानिसलाई अनुशासित बनाउने माध्यम हो । आस्थाको कारणले मानिस गलत कामबाट टाढा रहन्छ । त्यहि गलत कामलाई पाप भनेर परिभाषित गरियो । तिजमा मूलतः श्रीमानको सुस्वास्थ्य र दीर्घायुको कामना सफल दाम्पत्य जीवन, असल र सुयोग्य वरको कामना, पारिवारिक सफलता आदि विषयसँग जोडिएको हो जुन समाजको सुन्दर पक्ष हो समाजको आदिमकालदेखि पुरुष बाह्य काजमा, महिला घरकाजमा रहने हुनाले ‘ब्रेड मेकर र होम मेकर’ मानिएको थियो भलै अहिले रोल परिवर्तन भएको छ र पनि तिजको महिमा उतिकै छ ।
समाजलाई सुन्दर बनाउने धर्म, संस्कार, परम्परा, रिवाज र चलनले बाँध्ने गरिन्छ मानिसहरू यसलाई कुरीति, आडम्बर र भेदभावसमेत भन्दछन्, तर समाज चलाउन समाजमा अनुशासन कायम गर्न धर्म अहं छ । हुन त माक्र्स र लेनिनले धर्मलाई अफिम तथा आध्यात्मिक दमन हो भनी व्याख्या गरे पनि सन्दर्भ पूर्वीय र पश्चिमा दर्शन पनि हो, यो फरक फरक छ ।
महिलाहरूमा शौभाग्यको स्वरूपमा रातो, सिंदुर, पोते, चुरा लगाउने चलन छ । महिला अधिकारकर्मी यसलाई प्रतिवाद पनि गर्छन् । हरेक कुराको राम्रो र नराम्रो पक्ष हुन्छन् । महिलाले खासगरी तिजमा रातो पहिरन, सारी, चोलो, टीका, पोते लगाउने चलन छ । यसबाट सजिएर उनीहरू सुन्दर पनि देखिन्छन् । महिला आफैँमा पनि भगवानको सुन्दर सृष्टि हो र चाडपर्वमा उनीहरू सज्जिएर हिँडनु गलत होइन यसलाई महिला हिंसा हो ‘महिलालाई चुरापोते लगाएर कमजोर पारियो भन्ने मतधेरै छ, तर शिक्षा नदिएर पछि पारियो’ भन्ने मत आउँदा उत्तम हुन्थ्यो होला ।
तिजको गीत रचनाबाट समाजमा भइरहेको विकृति, राजनीतिको प्रभाव, भ्रष्ट्राचार, नेतृत्व दलको कटाक्ष गरेर गीत बनाइन्छ र गाइन्छ । तिजको गीतमा महिला रचइताको गीत संयोजनमा अत्यधिक मिठास र वेदना छ । यसको अर्थ पुरुषको नराम्रो भन्ने होइन । तर तिजको गीतमा महिलाको रचना नै उत्कृष्ट छन् । यसबाट समाजका केही हदसम्म चेतना फैलाउन टेवा पुगेको छ । समाज सुधार्न साहित्य, व्यंग्य, प्रहसन, गीत, संगीत उत्कृष्ट माध्यम हो यसबाट समाज नजानिँदो ढंगबाट सचेत हुन्छ जुन औपचारिक शिक्षाबाट पनि सम्भव हुँदैन ।
तिजप्रति पुरुषजनको कटाक्षः
वर्षमा ५ दिन महिलाहरू तिज मान्छन । त्यो समयमा बजार, चौक, गल्ली, सहर, सडकमा महिलाहरू सज्जिएर भिडमा, समूहमा हिँडेका भेटिन्छन । अन्य समयमा ३६० दिन नै घरको चुलाचौकामा सीमित बन्धकजस्तै महिलाहरू यो ५ दिन घरबाट निस्कँदा समाज महिलाप्रति असहिष्णु बन्छ, टीकाटिप्पणी गर्छ, अभद्र बन्छ र कटाक्ष गर्छ । ऊ बिर्सन्छ कि उसको आमा दिदीबहिनी, श्रीमती पनि महिला नै हुन् । यसकारण मूलतः पुरुषहरू संयमित, भद्र, अनशासित भएर तिज मनाउन महिलाहरूलाई सहयोग र समन्वय गरी हौसला बढाउन जरुरी छ । महिलाले तिज मनाउँदै गर्दा, समाजले महिलाप्रति गर्ने गालीगलौज र लाञ्छनाहरूमा ः मदिरा पिएको, छाडा बनेको, नाचेको, उच्छृंखल बनेको, फेसन गरेको, पैसा उडाएको, उत्ताउलो बनेको, समाज बिगारेको आदि छन् । जसमा केही सत्यता भए पनि पुरुषको आरोपजस्तो छैन, जुन आरोप संकीर्ण सोचको उपज हो ।
यी आरोपहरूमा कुरा गर्दा पहिला गाउँसमाजमा सार्वजनिक स्थलहरू थिए जहाँ महिला नाच्थे, गाउँथे, रमाउँथे । अहिले सार्वजनिक स्थल टुँडिखेलबाहेक अन्यत्र छैन । त्यो पनि बन्द छ । सबैलाई त्यहाँ जान सम्भव छैन । स्थान अभावले पार्टी प्यालेसमा गएका हुन् । ३–४ आनामा बनेको घरकोठामा तिज मनाउनका लागि, रमाइलो गर्नका लागि त्यतिका धेरै मान्छे अटाउने ठाउँ छैन । फेसन गरेको भन्ने सवालमा पुरुष नै महिलालाई सुन्दर देख्न चाहन्छ । महिला आफँैमा भगवान्को सुन्दर श्रृष्टि नै हो । महिला सुन्दर बन्दा हुँदा पुरुषलाई कुनै घाटा हुने अवस्था छैन । ‘माइ बडी, माइ राइट’ जस्ता कुरा आइरहेका बेला महिलाले यो खाए, यो लगाए यसो गरे, उसो गरे भनेर टीकाटिप्पणी गर्ने फुर्सदिला पुरुषहरू नै हुन ।
महिलाहरू कामकाजी भएकाले आजकल सारी लगाउने रातो लगाउने दिन भनेकै तिज हो अरू बेला सम्भव हुँदैन । फरकफरक फेरिफेरि सारी लगाए फेसन गरे भन्ने सोच पुरुषवादी पनि हो, यसमा केही सत्यता रहे पनि टिप्पणी गर्नु अन्यथा हो । किनकी महिलाले पुरुषले लगाउने लुगा लत्ताकपडामा कुनै पनि टीका टिप्पणी गर्दैनन् । महिला महिला जस्तै बन्नु, सुन्दर बन्नु, सज्जिनु अस्वभाविक होइन बरु ‘महिला महिलाजस्तै नबनेर पुरुषजस्तो बन्नुपर्छ’ भन्ने सोच अव्यावहारिक छ ।
वाइन खाने विषयले चर्चा पाएको छ जसमा पनि बढि नै पूर्वाग्रह छ । जो वर्ग आफैँमा घरमा मदिरा सेवन गर्छन्, १–२ सिप चुस्की लिन्छन्, यसमा विरोधमा उत्रिनु गलत छ । सबै तिज मान्ने महिलाले वाइन पिएका पनि छैनन्, महिला पार्टी प्यालेस जानै हुन्न, रमाइलो गर्नै हुन्न भन्नु गलत प्रवृत्ति हो । हरेक समाजमा हरेक क्रियाकलापमा यदाकदा विकृति हुन्छन् । यसलाई उछालेर सिंगो चाडप्रति विरोध गर्नु अन्यथा हो । अर्को आरोप छाडा बने भन्ने छ । जसमा छाडा गीत बनाउने रेकर्ड गर्ने निर्देशन गर्ने पुरुष समाज नै हो फेरि छाडाको परिभाषा के हो । माइतीले दही च्युरा खुवाउने परम्परालाई बेबी सावरमा लैजाने पनि यहि पुरुष समाज नै हो ।
तिजका ५ दिनको आआफ्नै विशेषताहरूः
दर खानुको तात्पर्य भोलिपल्ट निराहार कठोर व्रत बस्नुपर्ने भएकोले अघिल्लो दिन राती उज्यालो नहुदाँसम्म अडिलो आँतिलो मिठो मसिनो खाने घिउ, दूध, दही खाने चलन हो त्यो बेला गाभा, कर्कलो, करेलो, काँक्रो, घिरौला, फर्सी, भिन्डी, लौका, भेन्टा, गेडागुडी तथा अन्य पोसिलो तरकारीका विविध परिकार खाने चलन थियो अहिले त्यो सबै वातावरण छैन । त्यसकारण पनि बजारमा जे जे उपलव्ध छ त्यहि बनाएर पकाएर दर खान्छन् । अहिले शुद्ध दूध, दही, घिउ पाउन कठिन छ पनि ।
व्रत बस्ने कुरामा पनि धेरै अधिकारवादीहरूको आक्रोश छ । मत राख्न सबै स्वतन्त्र छन् । आस्था आआफ्नो हो । यो व्रतले श्रीमानको दीघार्यु सुस्वास्थ्य सौभाग्यको कामना तथा भविष्यमा असल वर परोस् भन्ने कामना पनि छ । पुरुषप्रधान समाज भएकाले सबै कुरा पुरुषका लागि गरिएको अर्थमा अधिकारवादीहरूको आक्रोश होला, तर वास्तवमा परिवारको पाइलट श्रीमान र कोपाइलट श्रीमती नै हो । यसमा २ मत छैन भयानक डिर्भोस रेटको यो बेला श्रीमान श्रीमती बीचको हार्दिकता सद्भाव तथा मर्यादाले दाम्पत्य जीवनमा सहज हुन्छ नै यसबाट समाजमा शान्ति हुन्छ ।
तिजमा गणेशको पूजा गर्ने, रजश्वला दोष मेटाउने विषय छ । यो परम्परा पनि प्रजनन स्वास्थ्यसँग जोडिएको छ । रजश्वलाको समयमा अलग बस्ने, सरसफाइ गर्ने, भान्सा तथा पूजा स्थानमा नजाने कुरामा पनि वैज्ञानिकता छ । साथै यो समयमा महिलालाई आराम पनि मिल्छ कसमेकम महिनामा ४ दिन भए पनि । दतिवन खानु, खोला नदी तलाउमा जानु, नुहाउनुजस्ता परम्परा पनि छन् । तिजको शृंखला बाबु खुबाउने औँसीसँग जोडिएको छ । हुन त हाम्रो हिन्दू संस्कारमा बाबुछोरीको संबन्धलाई विशेष रूपमा लिइन्छ । तिजका यी ५ दिन बाबुको मुख हेर्र्ने, दर खाने, व्रत बस्ने, गणेश पुज्ने, महादेवको पूजा गर्ने ऋषिमुनिहरूको पूजा आराधना गर्ने चलनमा धेरै कारणहरू छन् । हामी सबै कुनै न कुनै ऋषिका सन्तानको रूपमा थर गोत्रको व्यवस्था छ । यसबाट सगोत्रमा विवाह नगर्ने भनिएको छ यसमा पनि वैज्ञानिकता छ ।
‘करेलीको अचार धुर्सेलीको पातमा, बाहुनले रौसी खानी मध्यरातमा, स्वामिज्युले भन्नुभयो पानीलाई वाटर, नजारेर मैले दिए काँचो कटहर, उठ बज्यै दैलो पोत पढ्न हिँडियो । अन्धेरी खोलाले लग्यो बरिलै, वर्ष दिनको तिजमा बाबा लिन आएनन् आदि । त्यो बेला वर्षाको समय मोटर थिएन नदीमा पुल थिएन नदी तर्दा ज्यानै जान्थ्यो टाढाको बाटो दिदीबहिनी लिन दाजुभाइ जाने चलन थियो । अहिले जस्तो पार्टी प्यालेस पनि थिएनन् तसर्थ पात केराको पात, दुना टपरी, बोतामा खानुपर्ने बाध्यता थियो । प्लास्टिकको प्रयोग थिएन । छोरी मानिस पढने स्कुल जाने वातावरण पनि थिएन । घाँस, दाउरा, पानी, पँधेरोमा दिन बित्थ्यो । श्रीमान श्रीमतीबीच धेरै फरक हुन्थ्यो ज्ञान, सीप, पढाइ सबै कुरामा यसकारण यस्ता कुराहरू गीतमा सुनाइन्थ्यो ।
यी गीतका पंक्तिहरूमा निश्चय नै मिठास छ, तर आज यी गीतहरू श्रोताले नै बुझ्दैनन् । समय परिवर्तनसँगै गीत गाउने तिज मनाउने तरिका खानपिन सबै बदलिएको हो । यसमा कसैको कुनै पनि दृष्टिकोणबाट गलत छैन । मात्र केबल समयानुकूल सोचको कमी हो । अपडेट हुन नसकेको मात्र हो । सबैले जे जे गरिरहेका छन्, जसरी मनाइरहेका छन् त्यो समयले ल्याएको हो । काल बेला परिस्थितिको उपज हो । यसकारण दोषारोपण, हिंसा, आक्षेप छाडी सदभावपूर्ण तिज मनाउ, पहिचान जोगाउ, परम्परा संस्कार जोगाउ ।
प्रतिक्रिया