आचार्यलाई आदिकविको उपाधि प्रदान गर्ने व्यक्तित्वमा मोतीराम भट्टको नाम आउँछ । मोतीराम भट्टले नै भानुभक्त आचार्यलाई चिनाउने काम गरेका हुन भन्ने गरिन्छ । भानुभक्त आचार्यका कृतिहरू प्रकाशन गरिदिने काम भट्टबाट भएको हो । यस अर्थमा रामायणको प्रकाशन पनि मोतीले नै गरेका हुन् । मोतीले भानुका अन्य कृतिहरूको संकलन गरी प्रकाशनको व्यवस्था गरेका थिए । मोतीले भानुलाई चिनाउन उनका कृतित्वको बारेमा चर्चा गरे । भानुको जीवनी लेख्ने काम पनि गरे ।
आधुनिक नेपाली साहित्यका तीन सर्वाधिक शक्तिशाली व्यक्तित्वमा महाकवि लक्ष्मीप्रसाद देवकोटा, कविशिरोमणि लेखनाथ पौड्याल र नाट्यसम्राट बालकृष्ण समलाई मानिन्छ । महाकवि देवकोटाको व्यक्तित्व विराट रहेको कुरामा कसैलाई कुनै द्विविधा छैन । यसो पनि भन्ने गरिन्छ, समग्र नेपाल र सम्पूर्ण नेपालीमा सबैभन्दा लोकप्रिय व्यक्तित्व हुन् देवकोटा । उनको व्यक्तित्वको विस्तार जहाँसम्म नेपाली भाषा र नेपाली नागरिक भएका छन्, त्यहाँसम्म भएको छ । देवकोटा सबैका प्रिय महाकवि हुन् । धेरै कविका आदर्श कवि पनि हुन् । नेपाली साहित्यलाई विश्वस्तरमा चिनाउने प्रथम अद्भुत प्रतिभा हुन् । यसैले महाकवि देवकोटाको नाम नै काफी छ नेपाली साहित्यको परिचय दिलाउनमा । देवकोटालाई नेपाली साहित्यको पर्यायको रूपमा पनि स्वीकार गरिएको छ ।
नेपाली साहित्यका अध्येताहरूले नेपाली साहित्यको विकास क्रमलाई तीन भागमा बाँडेर प्राथमिक काल, माध्यमिक काल र आधुनिक मानेका छन् । जसरी आधुनिक कालका सर्वाधिक शक्तिशाली व्यक्तित्वमा देवकोटा, पौड्याल र सम रहेका छन्, त्यसरी नै प्राथमिक कालका सर्वशक्तिशाली नेपाली कविमा भानुभक्त आचार्यको नाम आउँछ । भानुभक्त आचार्यले बसालेको नेपाली साहित्यको जगमा नेपाली भाषा र साहित्यको विस्तार, पहिचान र एकीकरण भएको मानिन्छ । मान्यता यस्तो रहेको छ ः भानुभक्त आचार्यले आफ्नो रामायणको माध्यमले नेपाली भाषाको विश्वव्यापी एकीकरण गरेका छन् । नभन्दै जहाँजहाँ नेपाली भाषी पुगेका छन्, त्यहाँत्यहाँ यदि कुनै एक कृति गएको छ भने त्यो हो रामायण । भानुले अनुवाद गरेका रामायण नेपाली साहित्यका सर्वदा पूज्य ग्रन्थ हुन् । यसको महिमा जनस्तरमा कति विशाल छ भने नपढेका मानिसहरूले पनि यस भित्रका श्लोकहरू गाउने गरेका छन् ।
आचार्यलाई आदिकविको उपाधि प्रदान गर्ने व्यक्तित्वमा मोतीराम भट्टको नाम आउँछ । मोतीराम भट्टले नै भानुभक्त आचार्यलाई चिनाउने काम गरेका हुन भन्ने गरिन्छ । भानुभक्त आचार्यका कृतिहरू प्रकाशन गरिदिने काम भट्टबाट भएको हो । यस अर्थमा रामायणको प्रकाशन पनि मोतीले नै गरेका हुन् । मोतीले भानुका अन्य कृतिहरूको संकलन गरी प्रकाशनको व्यवस्था गरेका थिए । मोतीले भानुलाई चिनाउन उनका कृतित्वको बारेमा चर्चा गरे । भानुको जीवनी लेख्ने काम पनि गरे । यसरी भानुलाई चिनाउनको लागि मोतीरामको ठुलो योगदान रहेको कुरामा कसैले दुई मत मानेको छ्रैन । बरु मोतीराम भट्टको उदयन भएको भए भानुभक्त आचार्य पनि यत्ति प्रभावकारी रुपमा नेपाली समाजमा आफ्नो पहिचान कायम गर्न सक्ने थिएनन् कि ? भन्ने प्रश्न पनि उठ्ने गरेको छ । यद्यपि मोतीराम भट्टले भानुभक्तलाई चिनाउने काम गरेका छन् तर भट्टले आचार्यलाई नै किन यसरी प्रभावकारी रूपमा महत्व दिएर चिनाउने काम गरे ? यसको सिधा जवाफ हुनुपर्छ – मोतीले भानुका ग्रन्थहरूमा त्यो प्रकाश देखे जसलाई सर्वसाधारणसम्म पु¥याउँदा समाजको कल्याण हुने सम्भावना थियो ।
भानुको रामायणलाई प्रकाशनको व्यवस्थापन गरिदिएपछि मोतीले रामायणको लोकप्रियता बढेको देखे । अनि उनले भानुको जीवनी लेख्ने काम गरे । मोतीले भानुका अन्य कृतिहरूलाई पनि प्रकाशनको व्यवस्था मिलाए । भानुलाई सम्भव भएसम्म मोतीले चिनाउने काम गरे । यसैले मोतीको नाम भानुलाई चिनाउनेमा अग्रपंक्तिमा आउने गर्दछ । हरेक युगमा भानुलाई चिनाउने मोतीहरू जन्मिँदैनन् । भानुलाई आदिकवि बनाउने मोतीराम भट्ट आफैँ पनि एक सिद्धहस्त साहित्यकार थिए । जसरी भानुलाई बहुमुखी प्रतिभाको साहित्यकार भनेर मोतीले परिचित गराए, त्यसरी मोतीराम भट्ट आफू पनि बहुमुखी प्रतिभाका साहित्यकार हुन् भन्ने कुरा सबैलाई बताउन सम्भव नभएको देखिन्छ । भानुलाई प्राथमिक कालको सर्वाधिक शक्तिशाली व्यक्तित्वको रूपमा पहिचान बनाउनमा तद् युगीन परिवेशमा अहं भूमिका खेलेका मोतीराम भट्ट नेपाली साहित्यको माध्यमिक कालका सबैभन्दा उच्च स्थानमा रहेका व्यक्तित्व हुन् । यसैले कतिपयले भन्ने गरेका छन्, नेपाली साहित्यको माध्यमिक काल भन्नुचाहिँ मोतीराम भट्टको युग हो ।
मोतीराम भट्टले साहित्य सिर्जन गरेको युगलाई कतिपयले मोतीयुग भन्ने गरेका छन् । मोतीले नै नेपाली साहित्यलाई माध्यमिक काल दिएका हुन् । जतिबेला भक्तिधाराका साहित्य सिर्जना भइरहेका थिए त्यतिबेला भट्टले शृंगारिक धाराको आरम्भ गरेका हुन् । शृंगारिक धाराका रचनाहरूले नेपाली साहित्यलाई नयाँ बाटो नै दिएका हुन् तत्कालीन परिवेशमा । के मानिन्छ भने नेपाली साहित्यको आरम्भ, मुख्य गरी कविताको क्षेत्रमा, वीरधाराबाट भएको हो । प्राथमिक कालमा दुई प्रवृत्तिका रचनाहरू मध्ये पहिलोचाहिँ भक्तिधारा हो जसका सर्वोच्च कवि भानुभक्त आचार्य हुन् । भक्तिधारामै निर्गुण भक्तिधारा पनि आउँछ । राम भक्तिधारा, कृष्ण भक्तिधारा र निर्गुण भक्तिधाराका रचनाहरूले नेपाली साहित्यको आरम्भिक इतिहासलाई आलोकित पारेका छन् र जब मोतीराम भट्टको उदय हुन्छ तब नेपाली साहित्यले एकैचोटि नवीनता प्राप्त गर्दछ । नेपाली साहित्यको लागि वरदान पुरुषको रूपमा मोतीको जन्म भएको देखिन्छ । मोतीको उमेर र तिनको कार्यलाई हेर्दा सजिलै भन्न सकिन्छ कि भट्टको जन्म नेपाली साहित्यको सेवा गर्नका लागि भएको हो । भट्टले आफ्नो जीवनमा विभिन्न तरिकाले नेपाली साहित्यको सेवा गरेका छन् । नेपाली साहित्यमा भट्टले लगाएको गुण अविस्मरणीय रहेको छ । नेपाली साहित्यका अध्येताहरूले भट्टलाई कदापि बिर्सन सक्दैनन्, बिर्सनु हुँदैन पनि कहिल्यै ।
नेपाली साहित्यले भट्टलाई युवा कविको उपाधि दिएको छ । विभिन्न अर्थमा उनी युवाकवि हुन् । पहिलो कुरो त नेपाली साहित्यमा उनले शृंगारिक धारालाई भित्र्याएका छन् । शृंगारिक धाराप्रति युवा साहित्यकारको अहिलेसम्म पनि अत्यन्त ठुलो आकर्षण रहेको छ । तद्युगीन परिवेशमा पनि तिनले युवा साहित्यकारहरूको एउटा जमात नै तयार पारेका थिए जसलाई मोती मन्डली भनिन्थ्यो । यस मन्डलीमा हुने गरेका साहित्यिक चर्चाका साथै साहित्य सिर्जनको बहसले पनि नेपाली साहित्यलाई एउटा उचाइदिन सकेको हो । यसको अर्को महत्वपूर्ण र विशिष्ट कारणचाहिँ उनले ३० वर्षको उमेरसम्म मात्र नेपाली साहित्यको सेवा गर्न पाएका हुन् । अर्थात् उनी केवल ३० वर्ष बाँचे भौतिक शरीरले । युवाकालमै भट्टको भौतिक शरीर अस्ताएकाले पनि उनलाई युगले युवाकविको संज्ञा दिएको हो । यसरी युवाहरूको साहित्य सिर्जना गर्नु, युवाहरूको जमात खडा गर्नु, नेपाली साहित्यलाई नयाँ उचाइ दिनु, साहित्यको बाटो फराकिलो पारिदिनुजस्ता अनेक कारणले उनी नेपाली साहित्यका युवाकवि हुन् ।
भट्टले नेपाली साहित्यलाई धेरै थोक दिएका छन् । भट्ट प्रथम जीवनीकार हुन् । अहिले नेपाली साहित्यमा जीवनी साहित्यले जुन बिस्तार पाइरहेको छ, त्यो मोतीकै देन हो । यसै गरी प्रथम गजलकार पनि हुन् भट्ट । आज पनि भट्टका गजल विभिन्न किसिमले अध्यापन गराइन्छ । भानुभक्त आचार्यका विभिन्न रचनाको उनले समालोचना पनि गरेका छन् । उनी प्रशंसावादी समालोचकका रूपमा देखा परेका छन् । उनीबाटै नेपाली साहित्यमा समालोचनाको आरम्भ भएको देखिएको छ । यसै गरी उनले नेपालमा प्रेस ल्याएर पत्रिका तथा पुस्तक छपाउने काम पनि गरेका हुन् । र, यी भिन्नभिन्न विधामा भट्टले केवल कलम चलाएका मात्र होइनन्, वास्तवमा आफ्नो युगका अब्बल सिर्जना पनि गरेका छन् । भनिन्छ, भट्टले नेपाली साहित्यलाई प्राथमिक कालबाट मुक्ति दिलाएर माध्यमिक कालको लागि आधार भूमि तयार पारिदिए । अर्थात्, सिंगो माध्यमिक काल मोतीराम भट्टकै केन्द्रियता रहेको मानिन्छ ।
भानुभक्तलाई चिनाउने, उनलाई आदिकविको रूपमा नेपाली साहित्यमा पहिचान दिलाउने मोतीराम भट्टले आफैँले सिर्जना गरेका साहित्यका कारणले पनि अमर बन्न पुगेका छन् । जम्मा ३० वर्ष भौतिक उमेर बाँचेका व्यक्तित्वले जे जति गरे त्यो अकल्पनीय नै लाग्दछ । नेपाली साहित्यका युग पुरुष भट्टको समग्र नेपाली साहित्यमा रहेको योगदानको कारणले उनलाई मधेसले पनि निकै सम्मान गर्ने गरेको छ । मधेस र मधेसी साहित्यकारका बीचमा मोतीको प्रतिष्ठा धेरै माथि रहेको छ । मोतीराम भट्टबाट धेरैले प्रेरणा पाएका छन् । आफूभन्दा अग्रजलाई सम्मान गर्दै आफू पनि साहित्य सिर्जनामा रमाउनुपर्छ भन्ने भावना मोतीराम भट्टबाट विश्वका सबै साहित्यकारले सिक्नुपर्ने गुण हो । भट्टको जीवन साहित्य सिर्जना, प्रकाशन, प्रोत्साहन तथा विस्तारमा समर्पित भएको देखिन्छ । अन्य भाषाका साहित्यबाट प्रभावित भएका भानुमा अपार मौलिकता पनि थियो । साहित्यका असल साधक तथा प्रोत्साहक भट्टको नेपाली भाषाको विकास र विस्तारमा पनि योगदान रहेको छ । उनलाई हरेक साहित्यकारले उच्च सम्मान गर्नुपर्छ ।
प्रतिक्रिया