काठमाडाैँ । गण्डकीमा मन्त्रिपरिषदले पूर्णता पाएको छ । केन्द्रमा कांग्रेस–एमाले समीकरण बनेको २ महिनापछि गण्डकीको मन्त्रिपरिषदले पूर्णता पाएको हो । गण्डकीमा नेकपा एमालेबाट नियुक्त ४ जना मन्त्रीले शपथ लिएसँगै मन्त्रिपरिषदले पूर्णता पाएको छ ।
एमाले केन्द्रीय लेखा आयोग सदस्य पद्मा जिसीको नेतृत्वमा गएका ४ जना मन्त्रीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको सपथ खुवाएका हुन् ।
नवलपुरकी पद्माले कृषि, भूमि व्यवस्था तथा सहकारी, बागलुङका कृष्ण पाठकले स्वास्थ्य, पर्वतका मित्रलाल बस्यालले उद्योग तथा पर्यटन र कास्कीका प्रकाशबहादुर केसीले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रीका रुपमा शपथ लिएका छन् ।
गण्डकीमा ७ बाट बढाएर ९ मन्त्रालय बनाएपछि एमालेले ४ मन्त्रालय पाएको हो । भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री दीपक मनाङेको जिम्मेवारी हेरफेर गर्दै वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको हो ।
प्रतिक्रिया