नयाँ दिल्ली । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को अध्यक्षमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) का सचिव जय शाह निर्वाचित भएका छन् ।
सो पदमा शाह निर्विरोध निर्वाचित भएको जनाइएको छ । आइसिसी अध्यक्षका रूपमा जय शाहको कार्यकाल डिसेम्बर १, २०२४ देखि सुरु हुनेछ । वर्तमान आइसिसी अध्यक्ष न्युजिल्यान्डका ग्रेग बार्कलेको कार्यकाल ३० नोभेम्बरमा सकिँदै छ ।
उनले यो पद लगातार दोस्रोपटक सम्हालेका हुन् । हालै उनले तेस्रो कार्यकालको दौडमा सहभागी नहुने बताएका थिए । ३५ वर्षीय जय शाह आइसिसीको सबैभन्दा कान्छो अध्यक्ष बनेको बिबिसी हिन्दीले दाबी गरेको छ । जय शाहले विज्ञप्तिमा आइसिसी टोली र सदस्य राष्ट्रहरूका साथमा क्रिकेटलाई विश्वभर फैलाउन प्रतिबद्धता जनाए । जय शाह आइसिसीको शीर्ष स्थानमा पुग्ने पाँचौँ भारतीय हुन् । यसअघि जगमोहन डालमिया, शरद पवार, एन श्रीनिवासन र शशांक मनोहरले यो पदमा काम गरिसकेका छन् । जय शाह अक्टोबर २०१९ मा बिसिसीआईको सचिव बने । उनी २०२२ मा फेरि यो पदमा निर्वाचित भए । उनको कार्यकाल २०२५ सम्मको छ तर आइसिसीको जिम्मेवारी सम्हाल्नेबित्तिकै उनले यो पद छाड्नुपर्नेछ ।
प्रतिक्रिया