भिरालो पहाडलाई खोतलेर भौतिक संरचना निर्माण गरिएका कारण सामान्य वर्षा हुँदा पनि पहिरो र बाढीको समस्या थपिएको हो । खोला, खोल्सा तथा नदीको बहाव क्षेत्र अतिक्रमण गरेर बनाइएका संरचनाहरू बाढीले बगाइदिनु स्वभाविकै हो । प्राकृतिले अतिक्रमणकारीहरूविरुद्ध मुद्दा हाल्दैन, सुनुवाइको मौका पनि दिँदैन, सिधै दण्डित गरिदिन्छ भन्ने हेक्का कतिपय सर्वसाधारण जनताले चेतनाको अभावका कारण राख्न सकेनन्, तर विज्ञका रूपमा राज्यको नीति निर्माण तहमा राखिएकाहरूले समेत यो हेक्का राख्न नसक्नु ठूलो विडम्वना हो ।
नेपालमा प्रत्येक वर्ष मनसुनले भारी वर्षा गराउँछ । यो मौसमी वायु हो जुन बंगालको खाडीबाट पूर्वी नेपाल प्रवेश गर्छ । साधारणतया नेपालमा मनसुनले झन्डै ११० दिनसम्म भारी वर्षा गराउँछ । यस्तो वर्षा खास गरी जेठ, असार, साउन र भदौमा हुन्छ ।
सामान्यतया नेपालमा जुन १० देखि सेप्टेम्बर २३ सम्मको अवधिलाई मनसुन अवधि भनिन्छ । किनभने यस अवधिमा यहाँ मनसुनको धेरै प्रभाव रहन्छ । यस अवधिमा देशभरि धानको खेती गरिन्छ जसलाई धेरै पानीको आवश्यकता पर्छ । धान नेपालको प्रमुख बाली भएकोले यसको उत्पादनले यहाँको उत्पादनमा निकै प्रभाव पर्छ । यसको उत्पादनमा घटबढ हुनाले यहाँको कुल ग्रार्हस्थ्य उत्पादनमा हुने योगदानमा पनि घटबढ हुन्छ ।
नेपालमा वर्षभरिमा औसत १६ सय मिलिमिटर वर्षा हुन्छ जसको औसत ८० प्रतिशत वर्षायाममा हुन्छ । अधिक वर्षाको कारण यस अवधिमा बाढी पहिरोको कारण धेरै धनजनको क्षति हुन्छ । नेपाल विपद् प्रतिवेदन, २०७४ अनुसार नेपालको कुल जनसंख्याको झन्डै ८० प्रतिशत जनता प्राकृतिक प्रकोपको जोखिममा छन् । विश्वव्यापी रूपमा हेर्ने हो भने पनि यो विश्वको उच्च जोखिममा रहेका देशहरूमध्ये एक हो । बाढी पहिरोको दृष्टिकोणबाट यो विश्वको ३०औँ स्थानमा छ ।
नेपाल भौगोलिक विविधताले भरिएको देश हो । यहाँ समुन्द्रको सतहबाट ७० मिटर उचाइको केचनादेखि संसारको सबैभन्दा अग्लो शिखर सगरमाथा रहेको सबैलाई विदित छ । यस देशलाई प्राकृतिक सम्पदाले भरिएको र विभिन्न किसिमका हावापानी पाइने देशको रूपमा पनि चिनिन्छ । तर, प्राकृतिक प्रकोपको दृष्टिले यो देश अति जोखिम अवस्थामा छ । यही कारणले यहाँ प्रत्येक वर्ष धेरै मानवीय र भौतिक क्षति हुँदै आएको छ । सरकारले हरेक वर्ष विपद् व्यवस्थापनका लागि धेरै धनराशि खर्च गरेको छ । परन्तु, हालसम्म पनि यो फलदायी हुन सकेको छैन । वास्तवमा वन विनाश नै यसको प्रमुख कारण हो ।
नेपालमा बाढीपहिरोको कारण झन्डै ६० प्रतिशत जनता जोखिम अवस्थामा छन् । यस्तो जोखिम न्यूनीकरणका लागि वन–जंगल संवद्र्धन तथा प्रवद्र्धनले महत्वपूर्ण भूमिका खेल्छन् । जलवायु परिवर्तनको कारण यहाँका हिमालको तापक्रम बढिरहेको छ । जसको नकारात्मक प्रभाव यहाँको तराईदेखि पहाड र हिमालसम्मका वन–जंगलमा परेको छ । एकातिर यहाँको हिमताल विस्फोटनले हिमाली वातावरणको विनाश गरेको छ भने डढेलोले वन विनाश गरेको छ ।
नेपालमा बाढीपहिरोले विगतदेखि हालसम्म धेरै दुःख दिएको छ । २०११ सालमा नेपालमा ठूलो बाढी आएको रेकर्ड छ । जसले यहाँका भूस्वरूप नै परिवर्तन गरेको थियो । त्यसबेला नेपालमा झन्डै ३२० व्यक्तिको मृत्यु भएको थियो भने तीन हजार घर क्षतिग्रस्त भएका थिए । त्यतिबेला बाढी पीडितहरूको लागि दुःख निवारण कोषको स्थापना गरिएको थियो । जसबाट केही राहत प्राप्त भएको थियो ।
हाल नेपालमा मनसुन सुरु भइसकेकोले यहाँका विभिन्न ठाउँहरूमा बाढी पहिरोका कारण मानवीय तथा भौतिक क्षति भएको समाचार दिनदिनै सुनिन्छ । वास्तवमा यस्तो क्षति घटाउन सरकारी प्रयास जारी भए पनि आशा गरेअनुरूप घटाउन सकिएको छैन । बाढीपहिरो प्रकृतिले मानवलाई दुःख दिन सिर्जना गरेको होइन । यो मानव आफैँले सिर्जना गरेको समस्या हो ।
नेपालमा यस वर्षको मनसुन सुरु भएपछि विगतमा जस्तै बाढीपहिरोका घटना बढिरहेका छन् । राजमार्गहरू बिग्रनाले यातायात बेलाबेलामा अवरुद्ध हुने गरेको छ । फलतः यात्रुहरू जोखिम यात्रा गर्न बाध्य छन् । वस्तुतः नेपालमा रहेका अधिकांश नदीनालाहरू हिमाली क्षेत्रबाट बगेर तराईका जिल्लाहरूमा पुग्छन् । त्यसपछि यिनीहरू भारतका विभिन्न जिल्लाहरू हुँदै समुद्रसम्म पुग्छन् । यस क्रममा यी नदीहरूले तटीय आसपासमा रहेका सहर तथा गाउँबस्तीहरू उच्च जोखिममा पर्ने गरेका छन् । धेरैजसो नदीहरूको किनारामा तटबन्दी नहुनाले सम्बन्धित नदीहरूको आसपासमा रहेका बस्तीहरू पुरिन्छन् । फलतः प्रत्येक वर्ष करोडौँ मूल्य बराबरको क्षति हुन्छ । उदाहरणका लागि संघीय राजधानीबाट बग्ने बागमती, विष्णुमति, टुकुचा र धोबीखोलाले आसपासमा बसोबास गर्ने नागरिकहरूलाई त्रसित गरेका छन् ।
काठमाडौँमा साँघुरा तटबन्धसँग जोडिएका बस्तीमा निर्माण गरिएका घरहरू वर्षायाममा भत्किन्छन् । यसैगरी, भक्तपुरको हनुमन्ते नदीको दोहानले नयाँठिमी र राधेराधेको आसपासमा बनाइएका घरहरू जलमग्न हुन्छन् । यी त केही उदाहरणहरू मात्र हुन् । यस्ता समस्या प्रत्येक वर्ष वर्षायाममा धेरैजसो नदीनालाहरूको भेलबाट उत्पन्न हुन्छन् । नेपालका सहरहरू वैज्ञानिक दृष्टिकोणबाट अव्यवस्थित छन् । विगतमा यहाँ घर निर्माण गर्दा नदीनालाहरूको दोहन गरी बनाइयो । तसर्थ, वर्षायाममा यी नदीनालाका भेलले पूरा बस्ती जलमग्न हुन्छ ।
पहिरो खासगरी भारी वर्षा, भूकम्प, माइनिङ र स्लोप कटिङको कारण हुन्छ । परन्तु, नेपालमा धेरैजसो ठाउँहरूमा भारी वर्षा र असुरक्षित ठाउँहरूमा भारी वर्षा र असुरक्षित कटिङको कारण पहिरो जान्छ । यहाँ पहिरोको सम्भावना भएका ठाउँमा भारतको अमृता विश्वविद्यालयमा लामो अवधिसम्म अनुसन्धान गरी तयार गरिएको पूर्व चेतना प्रणालीको विकास गरी प्रयोग गर्नसके भविष्यमा यहाँ पहिरोको रोकथाम गरी जनधनको क्षति कम गर्न सकिन्छ । यसै गरी, भूकम्पको कारण जाने पहिरोको रोकथामको लागि तिब्बतमा प्रयोग गरिएको केएफ–एफएफसी–एसमियम प्रविधि प्रयोग गरी भविष्यमा जोखिम घटाउन सकिन्छ । यसको लागि सम्बन्धित पक्षको ध्यान यथाशीघ्र आकृष्ट हुनुपरेको छ ।
नेपालका लागि मनसुन प्राकृतिक बरदान हो । पहिलो कुरा त नेपालको अर्थतन्त्रमा मनसुनी वर्षाको प्रतक्ष योगदान २५ देखि ३० प्रतिशतको हाराहारीमा रहेको छ । अप्रतक्ष योगदानको कुरा गर्ने हो भने कुनै हिसाबकिताब नै गर्न सकिन्न । किनकी मनसुनविनाको नेपाल कल्पना पनि गर्न सकिन्न । मनसुन नभित्रिँदो हो त नेपाल मरुभूमि भइसक्ने थियो । दोस्रो कुरा मनसुन नेपालका लागि वरदान मात्रै होइन, कहिलेकाहीँ अभिशाप पनि हुने गरेको छ । कहिलेकाहीँ अत्यधिक वर्षा हुँदा बाढी, पहिरो र डुबानले ठूलो बिपत्ति निम्त्याउने गरेको छ । विपत्तिबाट बच्नका लागि पूर्वसतर्कता अपनाउन पनि मनसुनबारे धेरैको चासो हुने गरेको देखिन्छ । यति हुँदाहुँदै पनि हरेक वर्ष मनसुनको समयमा धनजनको ठूलो क्षति हुने गरेको छ ।
अहिलेसम्म नेपालको अर्थतन्त्र मनसुनमा निर्भर छ । मनसुनी वर्षा सन्तुलित र लामो समयसम्म भइदियो भने धान कोदोलगायत अन्नबाली उत्पादन राम्रो हुन्छ । पछिल्लो समयमा जलविद्युत् पनि नेपालको अर्थतन्त्रको मेरुदण्ड बन्दै गएको छ । मनसुनी वर्षा सन्तुलित र लामो समयसम्म भइदियो भने जलविद्युत् उत्पादन पनि धेरै हुन्छ । पानी पर्दा गर्मी कम हुने भएकोले विद्युत्को खपत कम हुन्छ । स्वदेशमा विद्युत्को खपत घट्दा निर्यात गर्ने विद्युत्को मात्रा बढ्छ । तर, हरेक वर्षको मनसुनमा सरदर करिब ४ लाख घरपरिवार दुस्प्रभावित हुने गरेको डरलाग्दो तथ्यांक छ ।
केही अपवादबाहेक बाढी, पहिरो तथा डुबानको समस्या बढ्नुमा मानवीय क्रियाकलाप जिम्मेवार छ । भिरालो पहाडलाई खोतलेर भौतिक संरचना निर्माण गरिएका कारण सामान्य वर्षा हुँदा पनि पहिरो र बाढीको समस्या थपिएको हो । खोला, खोल्सा तथा नदीको बहाब क्षेत्र अतिक्रमण गरेर बनाइएका संरचनाहरू बाढीले बगाइदिनु स्वभाविकै हो । प्रकृतिले अतिक्रमणकारीहरूविरुद्ध मुद्दा हाल्दैन, सुनुवाइको मौका पनि दिँदैन, सिधै दण्डित गरिदिन्छ भन्ने हेक्का कतिपय सर्वसाधारण जनताले चेतनाको अभावका कारण राख्न सकेनन्, तर विज्ञका रूपमा राज्यको नीति निर्माण तहमा राखिएकाहरूले समेत यो हेक्का राख्न नसक्नु ठूलो विडम्वना हो ।
प्रतिक्रिया