काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले सरकारले सदनलाई हेपेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको बैठकमा विनियोजित शिर्षकमाथिको छलफलमा सम्बन्धित मन्त्रीहरु उपस्थित नभएसँगै उनले सरकारले सदनलाई हेपेको आरोप लगाएका हुन् । उनले कार्यसूचि आउने फेरि हटाउने काम जारी रहेको भन्दै आपत्ति जनाए । सदनमा आन्दोलन भएको लामो समय भए पनि सरकार बेखबर रहेको उनको भनाइ थियो ।
‘सरकारले यो सदनलाई यत्ति हेपेको छ। यसको बयान गरी साध्य छैन । बारम्बार हामीलाई कार्यसूचि आउँछ । फेरि कार्यसूचि हटाइन्छ । कारण सोध्दा मन्त्रीको उपस्थिति छैन,’ उनले भने, ‘सदनमा आन्दोलन भएको यत्रो समय भयो। त्यसको जवाफदेही पनि छैन। सम्माननीय प्रधानमन्त्रीज्यु यहाँ उपस्थित हुनुभयो । आजको कार्यसूचिमा पनि मन्त्रीहरु सबै उपस्थित हुनुहुन्न। यो विषयवस्तु संसद्ले नै हेर्नुपर्ने विषयवस्तु हो ।’
पाण्डेले मन्त्रीको उपस्थिति नभएसम्म विनियोजन विधेयकमाथिको छलफल अघि नबढाउन पनि आग्रह गरेका थिए । त्यस्तै उनले सांसदले नियमावली मान्नुपर्ने तर सरकारले मान्नु नपर्ने ? भन्दै प्रश्न गरेका थिए ।
‘मन्त्रीहरुको उपस्थिति बेगर आज हुने छलफल अघि बढाइनु हुँदैन । यो हाम्रो नियमावलीको ठाडो उल्लंघन हो,’ उनले भने, ‘नियमावली हामीले पालन गर्नुपर्ने, सरकारले पालन गर्नु नपर्ने । कहाँसम्मको अन्याय हो यो ।’ उनले बजेटको किताब नआउँदा खर्च कटौतिको प्रस्ताव दिन नपाएको गुनासो गरे ।
प्रतिक्रिया