हेटौँडाको राजस्व विवाद : व्यवसायीले बुझाए एकैदिन १० ठाउँमा ज्ञापनपत्र

हेटौँडा । उपमहानगरपालिकाले करको दर वृद्धि गरेको भन्दै आन्दोलित हेटौँडाका उद्योगी व्यवसायीहरुले मंगलबार जिल्लादेखि प्रदेश सरकारसम्म विभिन्न निकायलाई ज्ञापनपत्र बुझाएका छन् ।

उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि ३८० प्रतिशतसम्म कर वृद्धि गरेको भन्दै व्यवसायीहरुले मंगलबार बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालाई ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री लामाले आफू पनि व्यवसायी भएकाले झन्झटिलो करको व्यवस्थाबाट व्यवसायीले पाउने गरेको दुःखबारे जानकार रहेको बताए । उनले एउटै व्यवसायलाई धेरैतिर दर्ता र नवीकरणका नाममा तिर्नुपर्ने करले व्यवसायी निरन्तर मारमा परिरहेको बताए ।

व्यवसायीहरुले मंगलबार नै बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले, उद्योग मन्त्री सुकमाया तामाङ, जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर घलान र प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवाललाई ज्ञापनपत्र बुझाएको मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष एवं प्रवक्ता उज्वल चौलागाईंले बताए । यस्तै नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राप्रपा, रास्वपा तथा नेकपा एकीकृत समाजवादीका जिल्ला प्रमुखहरुलाई पनि ज्ञापनपत्र बुझाइएको चौलागाईंले जानकारी दिए ।

मकवानपुर उद्योग वाणिज्य संघको समन्वयमा भइरहेको आन्दोलनमा जिल्लाका निर्माण व्यवसायी संघ, होटल एसोसिएसन तथा सहकारीहरुले पनि साथ दिएका छन् । यस्तै मंगलबार विभिन्न १५ वटा वस्तुगत संघसंस्थाले आन्दोलनमा ऐक्यवद्धता जनाएको चौलागाईंले बताए ।

मकवानपुर उद्योग वाणिज्य संघको अगुवाईमा सोमबारदेखि ५ दिने आन्दोलनको घोषणा गरेका व्यवसायीहरु दोस्रो दिन व्यवसायीहरूलाई कर अवज्ञाका लागि आह्वान गर्दै नगर क्षेत्रमा माइकिङसमेत गरेका छन् ।

औसतमा ५० प्रतिशत मात्रै कर बढेको हो ः उपमहानगरपालिका

व्यवसाय नै धरासायी हुने गरी हेटौँडा उपमहानगरपालिकाले कर बढाएको भन्दै व्यवसायीहरुले आन्दोलन गरिरहँदा हेटौँडा उपमहानगरपालिकाले भने औसतमा ५० प्रतिशत मात्रै कर बढाइएको दाबी गरेको छ । जारी आन्दोलनका विषयमा प्रष्ट पार्न भन्दै मंगलबार बोलाइएका सीमित सञ्चारकर्मीबीच उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले राजस्वको दर हेरफेरको बारे जानकारी दिएका थिए ।

छवि अनित्य

मकवानपुर

प्रतिक्रिया