रौतहट । जिल्लाको मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहले विद्यार्थी संख्याको अनुपातमा शिक्षकको माग गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलाई ज्ञापनपत्र बुझाएकी छन् । सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा पुगेर मेयर साहले अपुग शिक्षक दरबन्दी तत्काल आपुर्ति गर्नुपर्ने माग गरेकी हुन् । तहगत र विषयगत अपुग शिक्षक तत्काल आपूर्ति नगरिए भदौ महिनादेखि मौलापुर नगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयको पठनपाठन बाध्य भएर बन्द गर्नुपर्ने चेतावनीसमेत मेयर साहले शिक्षा मन्त्री भट्टराईलाई दिएकी छन् ।
मौलापुर नगरपालिकाका विभिन्न सामुदायिक विद्यालयमा ८ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । शिक्षक दरबन्दी १६० हुनुपर्नेमा मौलापुरमा ५८ शिक्षक मात्रै रहेका छन् । हाल मौलापुरमा १०२ शिक्षक दरबन्दी अपुग रहेको छ ।
‘मौलापुर नगरपालिकामा ८ हजारभन्दा बढी विद्यार्थीहरू अध्ययनरत रहेका छन् । मौलापुरमा १६० शिक्षक हुनुपर्नेमा ५८ शिक्षक मात्रै रहेका छन् । ‘तपाईं आफै विचार गर्नुस् त ५८ शिक्षकले १६० शिक्षकले पढाउने काम कसरी गर्न सक्छन् ?’ मौलापुरकी मेयर साहले प्रश्न गर्दै भनिन्, ‘कि शिक्षा मन्त्रालयले अपुग शिक्षकको व्यवस्था गर्नुप¥यो होइन, भने हामीलाई शिक्षक नियुक्त गर्ने अधिकार दिनुप¥यो । ‘विद्यार्थीको भविष्यसँग मन्त्रालयले खेलवाड गर्न पाउँदैन । हामीले यस बारेमा सरकारलाई पटकपटक जानकारी गराउँदासमेत कुनै सुनुवाई भएको छैन् । सरकारको यस्तै रवैया रह्यो भने हामी बाध्य भएर पठनपाठन बन्द गरेर आन्दोलनमा जान्छौँ ।’
मौलापुरमा अपुग शिक्षक आपूर्तिका लागि मेयर साहले सरकारको पटकपटक ध्यानाकर्षण गराउँदै आएकी छन् । तर सरकारले नसुनेजस्तो गर्दै आएको छ । विद्यार्थी अनुपातमा मौलापुरमा मात्रै नभएर मधेस प्रदेशमै शिक्षकको अभाव रहेको छ । तर सरकारले विभेद गर्दै आएको कारण विद्यार्थीको भविष्य अन्धकार बनाउन खोजेको आरोप मेयर साहले लगाएकी छन् ।
मधेस प्रदेशको पहिलो महिला मेयर साहले भनिन्, ‘विद्यार्थी संख्याको अनुपातमा शिक्षक दरबन्दी नहुँदा शिक्षकको अभावमा मौलापुर नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरूको पठनपाठन अस्तव्यस्त भई बालबालिकाहरूको भविष्य अन्धकारमा पर्न गएको छ ।’
ज्ञापनपत्र बुझदै शिक्षा मन्त्री भट्टराईले विभिन्न विद्यालयमा अपुग रहेका शिक्षक दरबन्दी छिटै नै व्यवस्थापन गर्ने गृहकार्यमा लागेको बताइन् । ‘हामी अध्ययन गरिरहेका छौँ । विभिन्न विद्यालयमा दरबन्दीअनुसार शिक्षक नभएकाले छिटै नै व्यवस्थापन गर्दैछौँ । तपाईंहरू आन्दोलन नगरिदिनुहोला ।’
शिक्षा ऐनको मापदण्डअनुसार तराई मधेसमा ५० विद्यार्थीमा १ शिक्षक, पहाडमा ४० विद्यार्थी बराबर १ शिक्षक, हिमालमा ३५ विद्यार्थी बराबर १ शिक्षक हुनुपर्ने प्रावधान रहेको छ । यो मापदण्ड निर्धारण गर्दा नै विभेदकारी रूपमा निर्धारण गरिएको छ । तैपनि यो मापदण्डअनुसार तराई मधेसमा शिक्षकको व्यवस्था मन्त्रालयले गरेको छैन ।
शिक्षा मन्त्री भट्टराईलाई ज्ञापनपत्र बुझाउन मौलापुरकी मेयर साहका साथै आम जनता पार्टी (आजपा)का केन्द्रीय सदस्य तथा लेखक डा.हेमप्रसाद साह लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया