मानव र वन्यजन्तुको द्वन्द्व कम गर्न ‘बाघ–मित्र मधेस–अभियान’

बारा । मानव र वन्यजन्तुको द्वन्द्व कम गर्न ‘बाघ–मित्र मधेस–अभियान’को बारामा सोमबार मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले उद्घोष गरेका छन् ।
उक्त अभियानको उद्घोष गर्दै मुख्यमन्त्री सिंहले आन्तरिक तथा बाह्य लगानीकर्तालाई निम्त्याएर पर्सा निकुञ्जमा पर्यटन क्षेत्रमा लगानी गर्न आफूले उत्प्रेरित गर्ने पनि प्रतिबद्धतासमेत जनाएका छन् ।

विश्व बाघ दिवसको अवसरमा पर्सा राष्ट्रिय निकुञ्ज मुख्यालय आधाभारमा सोमबार आयोजित मानव बाघ सहअस्तित्व र समृद्धि विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले लगानी सम्मेलनमार्फत पर्यटन क्षेत्रको विकासका निम्ति जोड दिइने बताए ।

आन्तरिक तथा बाह्य लगानीकर्तालाई निम्त्याएर मधेस प्रदेश सरकारले निकट भविष्यमै लगानी सम्मेलन गर्ने तयारी गरीरहेको उनले जानकारी दिए ।
‘बाघ–मित्र मधेस–अभियान’ सञ्चालन गर्न परियोजना प्रस्ताव गरी पेस गर्न मुख्यमन्त्री सिंहले निकुञ्जका बरिष्ठ संरक्षण अधिकृत रामचन्द्र खतिवडाको संयोजकत्वमा ३ सदस्यीय कार्यदलसमेत गठन गरिएको बताए ।

नवगठित कार्यदलमा डिभिजन वन कार्यालय बाराका प्रमुख विनोद सिंह र डिभिजन वन कार्यालय पर्साका प्रमुख सुनीलकुमार कर्ण सदस्य रहेको उनले जानकारी दिए ।
मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रममा पर्सा राष्ट्रिय निकुञ्ज र कोसी टप्पु वन्यजन्तु आरक्षलाई लक्षित गरी काम सुरु गर्ने तयारी आफूले गरेको मुख्यमन्त्री सिंहले बताए ।
‘चितवन राष्ट्रिय निकुञ्ज र ठोरीसँग जोडिएको पर्सा राष्ट्रिय निकुञ्जमा पर्यटन विकासको प्रचुर सम्भावना मैले देखेको छु’, मुख्यमन्त्री सिंहले भने, ‘पर्सा निकुञ्जमा सक्दो बढी पर्यटक भित्र्याउन सरोकारवाला सबैले आआफ्नो स्तरबाट प्रयास गर्नुपर्छ ।’ पर्सा निकुञ्जको प्रवद्र्धनका लागि मधेस प्रदेश सरकारले फास्ट ट्रयाकमा काम गर्ने र यसका लागि आवश्यक ऐन कानुनहरू पनि बनाउने उनले प्रतिबद्धतासमेत जनाए ।

संघ सरकारको फेरबदलसँगै प्रदेश सरकारमा पनि फेरबदल हुने क्रम चल्ने गरेको भए पनि आफ्नो कार्यकाल जति अवधिको भए पनि पर्यटन क्षेत्रको विकासका लागि सक्दो कार्य गर्ने प्रतिबद्धता मुख्यमन्त्री सिंहले व्यक्त गरे । उक्त अवसरमा कार्यक्रमका बिशिष्ट अतिथिसमेत रहेका जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले चितवन, ठोरी र भारतको बाल्मिकी टाइगर रिजर्भको संगमस्थल रहेको पर्सा राष्ट्रिय निकुञ्जको मधेस प्रदेश सरकारले लाभ लिन सक्ने प्रचुर सम्भावना रहेको बताए ।

‘पर्सा निकुञ्जमा पर्यटक भित्र्याउन आफूले लगानी गर्न अगाडि सर्दा पनि कानुनी वाधा अड्चनको कारण काम गर्न सकिन’, उनले भने, ‘सफारी गाडीमा अनुदान दिने आफ्नो योजना पनि विफल भयो ।’ योजना विफल भएसँगै यहाका पर्यटन व्यवसायीसमेत निरुत्साहित भएको उनले बताए । पर्सा र चितवन राष्ट्रिय निकुञ्जको संगम ठोरीको शिकारीबास गाउँमा इको टुरिजमको सम्भावना रहेकाले त्यहाँ ठूला लगानीकर्ता ल्याएर होटल व्यवसाय सञ्चालन गर्न वातावरण बनाउन प्रदेश सरकारले पहल गर्नुपर्नेमा उनको जोड थियो ।

निकुञ्जमा बाघसहित हाती, गैडा, गौरीगाईलगायत वन्यजन्तुको संख्या बढ्नुमा सबैभन्दा बढी मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिको प्रभावकारी संरक्षणको भूमिकाको देन भएको जनहित मध्यवर्ती उपभोक्ता समिति सिमराका अध्यक्ष अमृतलाल श्रेष्ठले बताए । ‘निकुञ्जको छेउका बासिन्दाले वन्यजन्तुको प्रहार खेपेर भए पनि वन्यजन्तु संरक्षण गर्छन,’ उनले भने, ‘तर राज्यले निकुञ्ज छेउका वासिन्दा तथा मध्यवर्ती उपभोक्ता समितिका निम्ति केही सोचेको देखिँदैन ।’ राज्य तथा निकुञ्ज कार्यालयले स्थानीय सरोकारवालाको आर्थिक उन्नतिका निम्ती कार्यक्रम ल्याउन आग्रह गरे ।

उक्त अवसरमा पर्सा राष्ट्रिय निकुञ्जका बरिष्ठ संरक्षण अधिकृत रामचन्द्र खतिवडाले एक कार्यपत्र प्रस्तुत गर्दै बाघको संख्या वृद्धिका लागि गरिएको प्रयास स्वरूप निकुञ्जमा तीव्र गतिमा बाघको संख्या बढेको बताए । ‘निकुञ्ज घोषणा हुनुअगाडि यहाँ सन् २००७ मा ८ वटा बाघ मात्रै थियो’, उनले भने, ‘सन् २०२२ मा आइपुग्दा बाघको संख्या बढेर ४१ पुगेको छ ।’ पछिल्लो समय निकुञ्ज छेउछाउका मानव बस्तीमा मानव र बाघबीचको द्वन्द्व अत्यधिक बढेर ५ महिनामा ५ वटा बाघ मारिएको र उद्धार गरिएका ३ बाघ पनि मरेको उनले जानकारी दिए ।
बाघ र मानवबीचको द्वन्द घटाउन तथा बाघलाई मित्रु जीव बनाउने अभियान सञ्चालन गरिएको उनले बताए ।

बाघको उद्धार, संरक्षण लगायतका अभियान सञ्चालन गर्न बारा, पर्साका जनता र निकुञ्ज प्रशासनले सहकार्य गर्नुपर्नेमा उनले जोड दिए । मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष सीताराम अर्यालको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई पर्सा राष्ट्रिय निकुञ्जका प्रवक्ता एवं संरक्षण अधिकृत सन्तोष भगतले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया