जलेश्वर । जलेश्वर नगरपालिका–२ मा अवस्थित जलेश्वरनाथ महादेव मन्दिरमा साउनभरि साक्षात महादेव विराजमान रहने गरेको विश्वासका आधारमा भक्तजनहरूको निकै घुइँचो लाग्ने गरेको छ । सोमबारी पर्वका अवसर पारेर बाबा जलेश्वरनाथ मन्दिरलाई दुलही झैँ सिंगारिएको छ । मन्दिरभरि तथा मन्दिर परिसरमा भव्य झिलीमिली बत्ती, फूलमालाले सजाइएको छ । मन्दिरको ५०० मिटर टाढासम्म शिवभक्तिका गीत–संगीतले जलेश्वर गुञ्जायमान बनेको छ ।
जलेश्वरनाथको महिमा नेपालमा मात्र नभई भारतमा समेत रहेको छ । बर्सेनि बाबा जलेश्वरनाथको दर्शनका लागि हजारौँ दर्शनार्थी आउने गर्दछन् । यसवर्ष पनि बाबा जलेश्वरनाथ महालिंगको दर्शन ८ देखि १० लाख भक्तजन आउने अनुमान गरिएको छ । महाशिवरात्रि र प्रत्येक महिनाको पहिलो सोमबारको दिन विशेष मेला लाग्ने गर्दछ ।
ठूलो धार्मिक महत्व बोकेको यस मन्दिरको स्थापना कहिले भएको भन्नेबारेमा भने कुनै ठोस प्रमाण भेटिएको छैन । मन्दिरको मूल गुफामा लेखिएको छ, ‘जलेश्वरो महालिंग रुद्रेन स्थापित स्वयं’ अर्थात् जलेश्वरनाथ महालिंग स्वयं महादेवले स्थापना गरेका हुन् ।
बाबा जगदीशनाथले कसरी बनाउने, जंगलमा बाघ, भालु, हात्तीजस्ता खतरनाक जनावरहरू रहेको यस ठाउँमा कोही पनि कामदार काम गर्न नआउने भनेपछि स्वयं रुद्र (महादेव) ले जलेश्वरनाथको मूल गुफासहितको मन्दिर प्रकट गरिदिएको शिवपुराणमा उल्लेख छ । जलेश्वरनाथ महादेवको ठीक अगाडि रहेको बरुण सरोवरमा स्नान मात्र र बाबा जलेश्वरनाथ महादेवको दर्शन मात्रले प्राणी मात्रले मुक्ति पाउने गर्दछ । त्यसबेला यस महादेव मन्दिरमा पूजाआजा द्वेन्द्व गिरी नामका पूजारीले लामो समयसम्म बाबा जलेश्वरनाथको सेवा गरेको थिए ।
अनादिकालमा जलेश्वर घनाजंगल रहेको बेला बाबा जगदीशनाथ, चतुर्भुजनाथ र तसमैया बाबा आएर जलेश्वरमा बसेको बेला स्वयं महादेवले बाबा जगदीशनाथलाई सपनामा आएर जलेश्वरमा महादेवको मन्दिर निर्माण गर्न आदेश दिएको किंवदन्ती रहेको जलेश्वरनाथ महादेवका मूल पुजारी उपेन्द्र पाठकले बताए । उनका अनुसार रुद्रले स्वयं गुफासहितको मन्दिर निर्माण गरिदिएपछि बाबा जगदीशनाथले नित्य पूजाआजाका साथै यस मन्दिर र महादेवका बारेमा प्रचारप्रसार गरे ।
बाबा जलेश्वरनाथ महादेवको मन्दिरमा साक्षात् शिवको बास रहेको र चोखो मन वचनले भाकल गर्नेको मनोकामना अवश्य नै पूरा हुने गरेको जनविश्वास रहिआएको पुजारी पाठक बताउछन् । बाबा महादेवको चौतर्फी चर्चा परिचर्चा गरेर प्रख्यात बनाउन भूमिका खेलेका जगदीशनाथ जीवनको अन्तिमकालमा बाबाको मन्दिरको ठिक सामुनेमा समाधि लिएका थिए ।
मन्दिरका अर्का पुजारी कामेश्वर पाठकका अनुसार बाबा जगदीशनाथले कसरी बनाउने, जंगलमा बाघ, भालु, हात्तीजस्ता खतरनाक जनावरहरू रहेको यस ठाउँमा कोही पनि कामदार काम गर्न नआउने भनेपछि स्वयं रुद्र (महादेव) ले जलेश्वरनाथको मूल गुफासहितको मन्दिर प्रकट गरिदिएको शिवमहापुराणमा उल्लेख छ ।
जलेश्वरनाथ महादेवको मूल गुफा जमिनको सतहदेखि १६ सिँढी (भ¥याङ) मुनि जमिनभित्र रहेको छ जहाँ २४ घण्टा जल भरिएको हुन्छ र बाबा जलेश्वरनाथ महादेव वर्षको ३६५ दिन जलमै विराजमान रहन्छन् । मन्दिरभित्र करिब २० फिटमुनि जलमा बास बसेका महादेवको दर्शन गर्न मन्दिरभित्रको जल बाहिर फ्याँकेपछि मात्रै सम्भव हुने गर्दछ ।
मन्दिरको पानी फ्यालेर शिवलिंगको दर्शन गराउने चलन रहेकोमा यसभित्रका पानी मोटर वा दमकल लगाएर फ्याँकिदा पनि सक्दैनन् । यसका लागि धेरैले धेरैपटक प्रयास गरिसके पनि सकेका छैनन् तर मानव शक्तिले बाल्टिनको सहयोगमा पानी फालेमा मन्दिरको गुफा सुक्ने र भक्तजनले दर्शन गर्ने गर्ने गरेको पुजारी पाठकको भनाइ छ । एकछिनमै पुनः पानी भरिने हुँदा पटकपटक पानी फ्याँकेर भक्तजनको दर्शन गराउने गरिएको उनले बताए ।
मन्दिर सञ्चालनमै समस्या
कुनैबेला अथाह चलअचल सम्पत्ति रहेको यस मन्दिर अहिले सञ्चालन हुन नै समस्यामा रहेको छ । १८६७ सालमा राजा गिर्वाणयुद्धविक्रम शाहले महोत्तरीको तत्कालीन कञ्चनपुर गाउँस्थित जंगल (हाल रामगोपालपुर नगरपालिका–७) मा सिकार खेल्न गएको बेला जलेश्वरनाथ महादेव मन्दिरलाई सञ्चालन, व्यवस्थापन र पूजाआजाका लागि २७५ बिघा जग्गा र ४ वटा महापोखरी मौजाका रूपमा दान दिएको ताम्रपत्रमा उल्लेख छ ।
मौजेका रूपमा मन्दिरले जलेश्वर मौजे, बजराही मौजे, बहेरा मौजे, डाम्ही महेशपुर मौजेलगायत मौजेहरू पाएका थिए भने बरुण सरोवर, पुरन्दर सरोवर, मखान पोखरी र महन्थ पोखरीजस्ता महापोखरीहरू पनि पाएको थियो । लामो समयसम्म बाबा जलेश्वरनाथसँग रहेको दर्जनौँ मौजे र महापोखरीहरूबाट आएका आम्दानीबाट मन्दिरको दैनिक पूजाआजा, भगवान् शिवको भोग, साधुसन्तको भण्डारा र आगन्तुकहरूको स्वागत सत्कारसमेत हुने गरेको थियो ।
मन्दिरसँग सयौँ बिघा जग्गा र ४ महत्वपूर्ण पोखरी रहेकाले निकै भव्य तरिकाले सञ्चालन, व्यवस्थापन हुँदै आएको थियो तर समय बित्दै जाँदा पद्मशमशेरको पालामा यस मन्दिरको अधीनमा रहेको जग्गाहरू आफ्ना गुरुपुरोहित गोपालबहादुर उपाध्याय, रामबहादुर उपाध्यायलगायत ४–५ दाजुभाइलाई दान दिएको चर्चा छ । पद्मशमशेरले दान दिएपछि गुरु पुरोहित र उनका सन्तानले मन्दिरका मौजेहरू बेचेर खाएपछि बिस्तारै मन्दिरको आर्थिक अवस्था कमजोर हुँदै गएको पुजारी पाठक बताउँछन् । १९९५ सालमा बडाहाकिम रामशमशेरले जलेश्वरनाथ महादेवको भित्री गुफासहितको मन्दिरको माथि पुनः आकर्षक र ठूल–ठूला बुर्जासहितको अद्वितीय मन्दिर निर्माण गरे । यस मन्दिर निर्माण गर्न उनले २५ हजार रुपैयाँ खर्च गरेका थिए । महामन्दिर निर्माण गर्न सख्खर, उरिद, चुन, सुरखी, कत्थालगायत वस्तुहरूको प्रयोग गरिएको थियो ।
मन्दिर निर्माणको बेला जलेश्वरनाथ महादेव मन्दिरको पुजारी राजनारायण गिरी रहेको उल्लेख छ । १९८३ सालको स्रेस्तामा सयौँ बिघा जग्गा मन्दिरको नाममै उल्लेख रहेको देखाउँछ भने २००२ सालसम्म मन्दिरको महन्थको नाउँमा मौजेहरू रहेको उल्लेख छ तर मन्दिरका सयौँ बिघा जग्गाको मौजे २००८ सालबाट हराएको छ । दानको नाउँमा जग्गा हराए भन्ने मन्दिरका ४ महापोखरी अहिले जलेश्वर नगरपालिकाको कब्जामा छ । अहिले दैनिक भक्तजनको दान, चन्दा र सहयोग निर्भर हुन पुगेको पुजारीको भनाइ छ ।
मन्दिरको अवस्था अवलोकनका लागि पुरातत्व विभागबाट पनि ४–५ पटक विज्ञहरू आई मन्दिरको अवस्था हेरेर गएको भए पनि जीर्णोद्वार तथा मर्मतसम्भारका लागि कतैबाट कुनै सहयोग नआएको पुजारीहरूको गुनासो छ । जलेश्वर नगरपालिकाका प्रमुख सुरेशसाह सोनारले मन्दिरको संरक्षणका लागि विशेष पहल र बृहत् योजना बनाउनुपर्ने बताए ।
प्रतिक्रिया