तीजका नाममा विकृतिजन्य गीतप्रति राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको गम्भीर ध्यानाकर्षष

काठमाडौं । राष्ट्रिय लोक सञ्चारकमी नेपालले तीजका नाममा विकृतिजन्य गीतहरु सृजना गरेर बजारमा ल्याउने कलाकारहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आइतबार बसेको लोक सञ्चारकर्मी नेपालको केन्द्रीय बैठकले यस विषयप्रति गम्भीर ध्यानाकर्षण भएको अध्यक्ष चन्द्रमणि गौतमले जानकारी दिए ।

बैठकले नेपालीहरुको मौलिक कला संस्कृतिमाथि विकृति भित्र्याएकोप्रति ती गीतहरुलाई प्रतिबन्ध लगाएको हो । सञ्चारकर्मी नेपालका सचिव कमल सरगमले बताए । बैठकले एक प्रेस विज्ञप्ति जारी गर्दै यस्ता विकृतिजन्य गीतहरुले नेपालको धर्म, संस्कृति र सिंगो संगीत क्षेत्रमाथि क्षति पुग्ने जनाएको छ ।

सञ्चारकर्मी नेपालले नेपाल पत्रकार महासंघ, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, राष्ट्रिय संगीतकर्मी संघ नेपाल, म्यूजिक भिडियो निर्देशक समाज नेपाल, म्युजिक भिडियो कलाकार संघ नेपाललाई बोदार्थ दिएर सम्पूर्ण सञ्चारकर्मीहरुलाई विकृति ल्याउने गीतहरुलाई प्रचार प्रसार नगरिदिन अनुरोध समेत गरेको छ ।

सार्वजनिक विज्ञप्तिमा यस्ता विकृतिजन्य गीतहरू सृजना गर्ने केही कलाकारहरूको नामसमेत उल्लेख गरिएको छ । साथै, अध्यक्ष गौतमले यस्ता गीतहरुले सिंगो राज्यको मानमर्दन गिर्नुका साथै र मौलिक सृजनामाथि बलात्कारको रूप लिएको बताए ।

सार्वजनिक विज्ञप्तिमा भनिएको छ, ‘हिन्दू नेपाली महिलाहरुको महान् पर्व ‘हरितालिका तीज–२०८१’ लाई लक्षित गर्दै सार्वजनिक भएका विकृतिजन्य गीतहरुप्रति राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल स्थापना कालदेखि नै गीत संगीतको क्षेत्रमा मौलिक गीतहरुलाई प्रोत्साहन र विकृतिजन्य गीतहरुको खबरदारी गर्दै आएको संस्था हो । तीज आफैँमा मौलिक पर्व हो । धार्मिक सांस्कृतिक मूल्य र मान्यतासँग जोडिएको यस पर्वको गीत संगीत महत्वपूर्ण विशेषता हो । यस पर्वको अवसरमा मौलिक गीतहरु सार्वजनिक हुनुपर्ने हो । तर पछिल्लो समयमा सार्वजनिक भएका दर्जनभन्दा बढी गीतहरुले तीजको मौलिक परम्परामाथि प्रहार भएको महसुस भएको छ ।

यसले धर्म, संस्कृति र सिंगो संगीत क्षेत्रलाई ठूलो क्षति पुग्ने प्रष्ट देखिन्छ । यसलाई मध्यनजर गर्दै मौलिक गीतहरुलाई प्रोत्साहन गर्न र विकृतिजन्य गीतहरुलाई निरुत्साहित गर्नको लागि राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल सदैव कटिबद्ध रहेको छ । सोहि अनुरुप यस राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको बैठकले तल उल्लेखित केही गीतहरुलाई प्रचारप्रसार गर्न प्रतिबन्ध लगाएको कुरा हाम्रा सम्पूर्ण सदस्य एवम् सञ्चारकर्मीहरुमा जानकारी गराउँदछौँ । देशभरका सम्पूर्ण सञ्चारकर्मीहरुले आफ्नो सञ्चारमाध्यममा यस्ता विकृतिजन्य गीतहरुलाई स्थान नदिनसमेत अनुरोध गर्दछौँ । साथै त्यस्ता विकृतिजन्य गीतहरुलाई कलाकारहरु जोडिएको संघ संस्थाले पनि ध्यानाकार्षण गरी ऐक्यबद्धता जनाउनुहुनेछ भन्ने अपेक्षा राखेका छौँ । आगामी दिनमा कलाकार स्वयम्‌ले पनि आफ्नो सिर्जनाको आफैँले सेन्सर गर्नुहुन पनि अनुरोध गर्दछौँ ।

प्रतिक्रिया