काभ्रेको शिर मेमोरियल अस्पतालमा एक सुत्केरीको मृत्यु

काभ्रे । धुलिखेल अस्पतालमा सुत्केरी महिला र शिशुको मृत्युको घटना भएको एक हप्ता नपुग्दै फेरि अर्को अस्पतालमा अर्की सुत्केरी महिलाको मृत्यु भएको छ ।

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका– ३ नालामा बस्ने विकास सुन्दासकी श्रीमती ३२ वर्षीया इश्वरी सुन्दास डेलिभरीका लागि शिर मेमोरियल अस्पताल बनेपा नगरपालिका– ५ मा भर्ना भएकी थिइन् । यही साउन ११ गते शुक्रबारदिउँसो करिब १२ः२५ बजे इश्वरीले सामान्य डेलिभरीमार्फत छोराको जन्म दिएकी थिइन् ।

छोराको जन्मपछि इश्वरीको स्वास्थ्य स्थिति बिग्रँदै गएपछि उनलाई रगत जस्तो तरल पदार्थ बग्न नरोकिएपछि अस्पतालले पाठेघरको शल्यक्रिया गरेर सघन उपचार कक्ष (आईसीयु) मा राखेको थियो ।

तर, इश्वरीको स्वास्थ्य अवस्थामा सुधार नआउँदा साँझ ११ बजे उनका ३०–४० जना आफन्तहरू अस्पतालमा जम्मा भई डाक्टरको लापरबाहीको आरोप लगाउँदै हुलहुज्जत गरेको प्रहरीले जनाएको छ । यो क्रममा आईसीयुमा जाने ढोकाको सिसा फुटेको थियो ।

घटनाको जानकारी प्राप्त हुनासाथ अस्पतालमा खटिएको प्रहरी टोलीले स्थिति नियन्त्रणमा लिएको थियो भने आक्रोसित आफन्तहरुलाई सम्झाउने प्रयास गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रातको ११ बजे डाक्टरले इश्वरी सुन्दासलाई मृत घोषणा गरेपछि अस्पताल प्रशासन र पीडितका आफन्तहरु छलफलमा बसेका थिए ।

थप छलफलका लागि साउन १२ गते शनिबार बिहान पुनः वार्तामा बस्ने निर्णय गर्दै ३ बजे जम्मा भएका मानिसहरू तितरबितर भएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको छ भने अस्पताल प्रशासन र पीडित परिवारबीच वार्ता जारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया