चितवनमा ६४ जनामा ५१ डेंगु संक्रमण, तीमध्ये ५१ जना चितवनकै

चितवन । चितवनमा ६४ जनामा डेंगुको संक्रमण देखिएको छ । तीन सय जनाको परीक्षणका क्रममा उनीहरुमा डेंगु संक्रमण देखिएको हो । संक्रमितमध्ये ५१ जना चितवनका हुन् । जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीका अनुसार यस वर्ष इच्छाकामना गाउँपालिकामा डेंगुको संक्रमण बढेको छ ।

गाउँपालिकामा हालसम्म ४५ जनामा डेंगुको संक्रमण देखिएको उनले बताए । भरतपुर महानगरपालिकामा हालसम्म ६ जनामा डेंगु देखिएको छ । उनले भने, ‘डेंगुको संक्रमण इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिकाको बजार क्षेत्रमा बढी छ ।’ संक्रमण बढेसँगै संक्रमित क्षेत्रमा सचेतना बढाइएको उनले बताए ।

जिल्लामा २०८० साउनदेखि २०८१ असारसम्म एक हजार आठ सय ३१ जनामा डेंगुको संक्रमण देखिएको थियो । प्रमुख रुपाखेतीका अनुसार २३ हजार आठ सय ४० जनाको परीक्षणका क्रममा उनीहरुमा संक्रमण देखिएको हो । विशेष गरी भदौ र असोजमा डेंगु रोग बढी देखिने गर्दछ ।

उनले भने, ‘अहिले साउनको सुरुवातदेखि नै डेंगुको संक्रमण देखिन थालेको छ ।’ यो रोग एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । यो लामखुट्टेले प्रायः बिहान र बेलुकाको समयमा टोक्छ । वर्षात्को महिनासँगै जताततै पानी जम्न थालेपछि यो रोग देखिो गर्छ ।

यो लामखुट्टेले प्लाष्टिक, टिनका डब्बा, ड्रमहरु, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्यांकी, आदिमा फूल पार्ने गर्दछ । यी ठाउँमा जम्मा भएको पानीलाई सफा नगर्दा रोगको प्रकोप बढ्छ ।

डेंगु लाग्दा आँखाको गेडी तथा टाउको धेरै दुख्ने, शरीर कट्कटी दुख्ने, जोर्नी, हड्डी तथा मांसपेशी दुख्ने, शरीरमा बिबिरा आउने र रक्तस्राव हुने, उच्च ज्वरो आउनेजस्ता लक्ष्यण देखा पर्छन् । यस्तै वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिँजाबाट रगत बग्ने, रक्तश्राव हुने जस्ता लक्षण देखापर्ने उहाँले बताउनुभयो । डेङ्गुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु हो ।

डेंगु ज्वरो नेपालमा पहिलो पटक सन् २००४ मा चितवनमा देखिएको थियो । चितवन घुम्न आएका एक जापानी पर्यटकमा यो रोग पुष्टि भएको थियो । उनलाई सामान्य ज्वरो आएका कारण उपचारपश्चात् जापान फर्किएर परीक्षणका क्रममा डेंगु पुष्टि भएको कार्यालय प्रमुख रुपाखेतीले जानकारी दिए ।

त्यसपछि सन २००६ मा तराई र भित्री मधेसका केही जिल्लामा डेंगुका बिरामी भेटिएका थिए । सन् २००९ मा चितवनमा ९ जनामा डेंगुको संक्रमण देखिएको उनले बताए । योसँगै आपसका जिल्लाबाट पनि ज्वरोका बिरामी उपचारका लागि चितवन आउने गरेका थिए । सन् २०१० मा तीन हजार दुई सय ९८ जनाको परीक्षणका क्रममा सात सय ३९ जनामा डेंगु संक्रमण देखिएको थियो ।

यस्तै आर्थिक वर्ष २०७४–७५ मा एक हजार दुई सय ९१ जनाको परीक्षणका क्रममा ५९ जनामा डेंगु पुष्टि भएको थियो । सो समयमा एक जनाको मृत्यु भएको कार्यालयको तथ्यांकमा उल्लेख छ । यस्तै आव २०७५–७६ मा एक हजार ९ सय ५१ जनाको परीक्षणका क्रममा ३१ जनामा डेंगु भेटिएको थियो ।

आव २०७६–७७ मा १९ हजार दुई सय ३० जनाको परीक्षणका क्रममा चार हजार आठ सय तीन जनामा संक्रमण देखिएको थियो भने तीन जनाको मृत्यु भएको थियो । आव २०७७–७८ मा एक हजार सात सय १७ जनाको परीक्षणका क्रममा दुई सय ४३ जनामा डेंगु रोग देखिएको कार्यालयले जनाएको छ ।

आव २०७८–७९ मा १४ हजार ९ सय ७८ जनाको परीक्षण गरिएकोमा तीन हजार तीन सय ३६ जनामा संक्रमण पुष्टि भएको थियो । त्यस वर्ष डेंगुका कारण चार जनाको मृत्यु भएको उनले जानकारी दिए । आव २०७९–०८० मा पाँच हजार चार सय ५४ जनाको परीक्षण गर्दा तीन सय तीन जनामा डेंगुको संक्रमण देखिएको थियो ।– रासस

प्रतिक्रिया