हेटौँडा । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा श्रेणीविहीन (नन ग्रेडेड) मा परेका विद्यार्थीलाई हेटौँडा उपमहानगरपालिकाले निःशुल्क मौका परीक्षाको तयारी कक्षा सञ्चालन गरेको छ । साउन २ गतेदेखि सुरु भएको निःशुल्क तयारी कक्षाबाट पालिकाभित्रका विभिन्न ५ वटा केन्द्रमा झण्डै ५०० विद्यार्थीले अध्ययन गरिरहेका छन् ।
२०८० सालको एसइई परीक्षाको नतिजामा हेटौँडा उपमहानगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयका गरी १ हजार ५४७ विद्यार्थी नन ग्रेडिङमा परेका थिए । पालिकाभित्रका विद्यार्थीको शैक्षिक अवस्थामा सुधारका लागि शिक्षा विकास महाशाखाको संयोजनमा ५ वटा केन्द्र निर्धारण गरी तयारी कक्षा सुरु गरिएको उपमहानगरपालिका शिक्षा निर्देशक सिताराम कोइरालाले जानकारी दिए ।
विगतमा यस किसिमको तयारी कक्षा विद्यालय आफैँले विद्यार्थीसँग निश्चित शुल्क लिएर सन्चालन गर्ने गरेकोमा यसपटक शिक्षा महाशाखाको संयोजनमा भइरहेकोमा प्रधानाध्यापहरूले खुसी व्यक्त गरेका छन् । ‘पहिलो कुरा त विद्यार्थीले निःशुल्क पढ्न पाए, अर्को कुरा आफ्नो विद्यालयको मात्र नभई अन्य विद्यालयका समेत विज्ञ शिक्षकहरूबाट तयारी कक्षा सञ्चालन भइरहेकोले तयारी पनि राम्रो भयो ।’ जनप्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक भूपेन्द्र चौलागाईंले भने ।
तुलनात्मक रूपमा कमजोर नतिजा आएपछि उपमहानगरपालिकाले सुरु गरेको तयारी कक्षामा शिक्षा महाशाखाले नियमित अनुगमनसमेत गर्ने गरेको निर्देशक कोइरालाको भनाइ छ । कतिपय विद्यालयले अहिले पनि आफ्ना विद्यार्थीहरूका लागि छुट्टै तयारी कक्षा सञ्चालन गरिरहेका कारण सोचेअनुसार विद्यार्थी सहभागिता भने हुन नसकेको महेन्द्रकिरण माध्यमिक विद्यालयका तारा गौतमले बताइन् ।
तयारी कक्षा सञ्चालनका लागि उपमहानगरपालिकाले प्रतिघण्टा ४०० रुपैयाँका दरले शिक्षकलाई पारिश्रमिक उपलब्ध गराउने भएको छ । ‘आर्थिक रूपले सम्पन्न विद्यार्थीले त आफ्नै हिसाबले पनि तयारी गरिरहेका छन् तर विपन्न विद्यार्थीका लागि उपमहानगरपालिकाले सञ्चालन गरेको कक्षा बढी प्रभावकारी देखिएको छ’, निर्देशक कोइरालाले बताए ।
मकवानपुर
प्रतिक्रिया