प्रलेशको परिसंवादमा धर्म र संस्कृति

काठमाडौँ । प्रगतिशील लेखक संघ, केन्द्रीय समितिले शुक्रबार नियमित रूपमा गरिने ७३औँ परिसंवाद बागबजारस्थित संघको कार्यकक्षमा सम्पन्न गरेको छ । माक्र्सवादका दृष्टिकोणमा धर्म र संस्कृति विषयक परिसंवादका प्रस्तोता प्रलेस केन्द्रीय सल्लाहकार प्राडा बद्रीविशाल पोखरेल थिए । डा.पोखरेलले कार्लमाक्र्सले फायरबाख र हेगेलको अधिभौतिकवादी/अध्यात्मवादी भौतिकवाद तथा द्वन्द्ववादलाई सबिस्तार भौतिकवादी वैज्ञानिक व्याख्या र विश्लेषण गरे । यो विचार समयक्रममा माक्र्सवादी सिद्धान्त बनेको हो ।

त्यसैले माक्र्सवादी चिन्तकहरू टाउकोले टेकेको भौतिकवाद र द्वन्द्ववादलाई माक्र्सले खुट्टाले टेकाएको बताउँछन् । माक्र्स क्याथोलिक धर्मका तुलनामा प्रोटेस्टियन धर्मलाई सकारात्मक ठान्नुहुन्थ्यो भन्ने कुरा बताउँदै डा.पोखरेलले माक्र्सले धर्मलाई अफिमसित तुलना गरेका कुरामा कम्युनिटहरू नै चरम भ्रममा रहेको बताए ।

वैदिक सनातन धर्म संस्कृतिमा निहित चार्वाक, सांख्यलगायत दर्शन धारालाई माक्र्सले अध्ययन गर्न नपाएको कारण नवीन निष्कर्ष नआएको डा.पोखरेलले बताए ।

उनका अनुसार माक्र्सले ‘वादे वादे जायते तत्व बोध’जस्ता वस्तुवादी द्वन्द्वात्मक चिन्तनको अध्ययन गर्न पाएपछि यी विषय माक्र्सवादमा समाहित हुन सक्ने आँकलन गरे ।

डा.पोखरेलले प्रकृतिका सेवा, सहयोग र समर्पण केन्द्रित उदात्त पक्षबाट आदि मानव समाज अत्यन्त प्रभावित भएको बताए । डा. पोखरेलका अनुसार उपर्युक्त सेवा भाव केन्द्रित प्रकृतिका गहन तथा मार्मिक पक्षबाट अभिप्रेरित भएर धर्मको आविष्कार भएको हो । त्यसैले नेपालका कम्युनिस्टहरूले धर्मसम्बन्धी अनेक चरम भ्रममा नपरी सन्तुलित धारणा बनाउन पोखरेलले परिसंवादमा उल्लेख गरे ।
उनले धर्म र संस्कृतिका क्षेत्रमा पुनव्याख्या, पुनर रचना र परिष्कार अपरिहार्य रहेको बताए । त्यसैले देवता भगवान्, ईश्वर, आत्मा परमात्मा, आदि अनेक विषयको अब वस्तुनिष्ठ व्याख्या गर्नु अपरिहार्य रहेको सहभागी वरिष्ठ, स्रष्टा, समालोचक तथा संस्कतिविद्हरूका बीच उल्लेख गरे ।

चल वा अचल प्रकृतिले मानव समाजका लागि आफूलाई समर्पित गरेकाले मानवपुर्खाले सूर्य देवता, चन्द्र देवता, जल देवता, अन्न देवता, पृथ्वी देवता, भनेका हुन् अब यही अर्थ आमजनसमाजमा प्रवाह गर्नुपर्ने डा.पोखरेलले उल्लेख गरे ।

जनताको पुराण अर्वाचीन पुराणका सम्पादक लेखक डा.पोखरेलले धर्म संस्कृति अन्तर्गतका अनेक जीवनोपयोगी समाजोपयोगी पक्षहरूको संरक्षण र सम्बद्र्धन गरी देशीय मौलिक पक्षलाई जगेर्ना गर्न ध्यान केन्द्रित गर्ने कुरा बताए । कार्यक्रममा प्रलेश केन्द्रीय अध्यक्ष प्राडा मधुसुदन गिरी, उपाध्यक्ष द्वय नमुना शर्मा र समिर सिंह, प्रलेश पूर्व अध्यक्षहरू प्राडा जीवेन्द्रदेव गिरी र मातृका पोखरेल लगायतको उपस्थिति थियो ।

प्रतिनिधिसभाका सभासद् बिजुला रायमाझी, वरिष्ठ सर्जकहरू नर्मदेश्वरी सत्याल, आरसी न्यौपाने, बाबा बस्नेतलगायत विभिन्न प्रदेश र जिल्लाका सर्जकहरूका बीच अन्तत्र्रिmयामूलक परिसंवाद सम्पन्न भएको हो ।

प्रतिक्रिया