सूर्यकुमार कप्तान हुनुको अर्थ

नयाँ दिल्ली । भारतीय क्रिकेट टोलीमा नसोचिएका कुराहरू एकपछि अर्को घटना हुन थालेका छन् । धेरैले अनुमान गरेभन्दा फरक निर्णय भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले गरेको छ । केही समयअघि मात्रै हार्दिक पाण्डेले बलियो कमब्याक गर्दै भारतलाई टी–२० विश्वकपको उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । इन्डियन प्रिमियर लिगका रोहित शर्माको स्थानमा मुम्बई इन्डियन्सको कप्तान बनाइएका उनलाई हरेक मैदानमा समर्थकहरूले विरोध गरेका थिए । उनी र उनको टोली मुम्बई इन्डियन्स आइपिएलमा कमजोर सावित भए ।

हार्दिकले अमेरिका र वेस्ट इन्डिजमा भएको टी–२० विश्वकपमा शानदार पुनरागमन गरेका थिए । विस्फोटक ब्याट्सम्यानको छवि बनाएका उनले तेस्रो सिमरको भूमिकासमेत राम्रोसँग निर्वाह गरेका थिए । पूरै प्रतियोगितामा हार्दिकले महत्वपूर्ण भूमिका खेलेका थिए । उनको बलिङ र मिडल अर्डरमा कहीँ पनि ब्याटिङ गर्ने क्षमताका कारण उनले टोलीलाई धेरै आवश्यक सन्तुलन दिइरहेका थिए । उनले फाइनल खेलमा महत्त्वपूर्ण ओभर बलिङ गर्दै टोलीको जितमा योगदान पु¥याएका थिए ।

भारतले श्रीलंका विरुद्धको आगामी शृङ्खलाका लागि आफ्नो ‘पूर्ण शक्ति’ सहितको टोली घोषणा गरेको छ । सो टोलीमा उनलाई बेवास्ता गर्दै सुर्य कुमार यादवलाई कप्तानको जिम्मेवारी दिइएको छ ।

यो कदमलाई अलि असामान्य पनि मान्न सकिन्छ । सूर्यकुमारको टी–२० म्याचमा ठुलो स्कोर गर्ने क्षमता उपयोगी भए पनि एकदिवसीय र टेस्टका लागि छनोट हुँदैनन् । सूर्यकुमार यादवलाई ५० ओभर र टेस्ट क्रिकेटमा सीमित अवसर दिइए पनि उनले आफ्नो स्थान पक्का गर्न खास केही गर्न सकेका छैनन् ।

भारतीय टोलीको इतिहास हेर्दा एउटै कप्तानले सवै फर्म्याटमा कप्तानी गर्दै आएका छन् । विराट कोहलीले टी–२० कप्तानी छोडे पछि उनको एकदिवसीय कप्तानी पनि खोसिएको थियो । उनले टेस्ट क्रिकेटको कप्तानीबाट पनि राजीनामा दिए ।
सूर्यलाई टी–२० कप्तानीको जिम्मेवारीलाई केही अर्थ भने लगाउन सकिन्छ । हार्दिकलाई कुनै पनि सेतो बल फर्म्याटको उपकप्तान बनाइएको छैन । उनको सट्टा टी–२० विश्वकप टोलीमा नअटाएका शुभमन गिललाई उपकप्तान बनाइएको छ । यस्तो अवस्थामा गिल भविष्यमा सबै फर्म्याटको कप्तान बन्न सक्ने बीसीसीआईको विश्वास रहेको स्पष्ट छ ।

पाण्डेको फिटनेसलाई एउटा मुख्य कारण मानिएको छ । पाण्डेका लागि अलराउन्डरको भूमिका निर्वाह गर्न पनि त्यति सजिलो थिएन । उनले कहिलेकाहीँ पूरा सिरिज खेल्न सकेनन्, त्यसपछि कडा मेहनत गरेर कमब्याक गरेका हुन् । कहिलेकाहीँ उनले बलिङ त्यागेर ब्याट्सम्यानको रूपमा मात्र पनि खेलेको अनुभव छ । रिपोर्टका अनुसार नयाँ मुख्य प्रशिक्षक गौतम गम्भीरले सूर्यलाई कप्तान बनाउन विशेष आग्रह गरेका थिएनन्, बरु फिटनेस र चोटका कारण टिम बाहिर रहेका पाण्डेसँग काम गर्दा असन्तुष्टि व्यक्त गरेका थिए । पाण्डेले श्रीलंका भ्रमणका क्रममा एकदिवसीय खेलबाट ब्रेक मागेका छन् । बीसीसीआईले पनि उनको अनुरोध स्वीकार गरेको छ । अबको एकदिवसीय अन्तर्राष्ट्रियको अवस्था कस्तो हुन्छ भन्न गाह्रो छ ।

पाण्डेको क्षमतालाई हेर्दा उनले अवश्य पुनरागमन गर्ने छन् । यो पनि प्रष्ट छ कि भारतसँग अहिले पहिलेभन्दा धेरै अलराउन्डर विकल्पहरू छन् । शिवम दुबे, अक्षर पटेल, वासिङ्टन सुन्दर र रायन पराग यी सबै खेलाडी श्रीलंकाविरुद्धको सिरिजका लागि दुवै टोलीमा छन् ।

तिनीहरू मध्ये एकले उत्कृष्ट प्रदर्शन गरेर टोलीमा आफ्नो स्थान पक्का गर्न सक्छन् । चयनकर्ता र प्रशिक्षकहरू अगाडि सोचिरहेका छन् । सूर्यकुमार यादवको कप्तान छोटो अवधिका लागि भएको स्पष्ट छ । उनी ३४ वर्षका छन् र अन्तर्राष्ट्रिय स्तरमा एकै फर्म्याटमा खेल्छन् । तथापी पनि लामो समय खेल्ने सम्भावना छैन ।

गिल अबको सम्भावित कप्तान हुनेछन् । गिलको प्रदर्शन अपेक्षाअनुरुप भएन भने विकेटकिपर भएर सबै फर्म्याटका ब्याट्सम्यान भएका ऋषभ पन्त कप्तानको सम्भावित उम्मेदवार बन्नेछन् । श्रीलंका भ्रमणका लागि भारतीय टोलीको छनोटले पनि चयनकर्ता र प्रशिक्षकले सीमित ओभरको क्रिकेटलाई नयाँ दिशा दिन खोजेको देखाएको छ ।

रोहित, कोहली र जडेजाले टी–२० इन्टरनेशनलबाट संन्यास लिएपछि युवा खेलाडीका लागि आईपीएल र घरेलु क्रिकेटमा प्रदर्शन गर्ने ढोका खुलेको छ । यसबाहेक सञ्जु सैमसन एकदिवसीय टोलीमा छनोट नभएको तथ्य पनि रोचक छ । यी ३० वर्षीय खेलाडीमा पक्कै पनि क्रिकेट बाँकी छ । अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेको ९ वर्षमा उनले १६ ओडिआई र २८ टी–२० अन्तर्राष्ट्रिय खेल मात्र खेलेका छन् ।

टोलीमा स्थानका लागि प्रतिस्पर्धा र ब्याटिङमा बढी योगदान दिने विकेटकिपरको उपस्थितिले उनको करियर छोटो भएको हो । र अब यो देखिन्छ कि चयनकर्ता र प्रशिक्षकहरू पनि पछाडि फर्केर हेर्नुको सट्टा अगाडि सोचिरहेका छन् । अभिषेक शर्माको मामला पनि रोचक छ, उनले हालै जिम्बाब्वे भ्रमणमा उत्कृष्ट शतक बनाएका थिए । तथापी उनी श्रीलंका सिरिजबाट बाहिर छन् । अभिषेक अझै जवान छन् र उनले आफ्नो समय पर्खनुपर्नेछ ।

प्रतिक्रिया