हिमालयन टेलिभिजनको स्क्रिनमा देखिने जोगिन्दर पानवाला नेपाली कमेडी क्षेत्रमा एउटा ब्रान्ड नाम । प्रायः मानिसका लागि उनको चिनारी शिवशंकर रिजालभन्दा बढी जोगिन्दर पानवाला नै हो । त्यसै नाम शिवशंकर अहिले व्यस्त मात्र होइन, धेरैका लागि चासोको नाम पनि बनेको छ । एउटै स्टाइललाई ब्रान्ड बनाएर दर्शकको मन जित्न सफल उनका बारे धेरैको चासो हुनु स्वभाविक नै हो ।
पछिल्लो समय नेपाली कला क्षेत्रमा हास्यव्यंग्य विधाको लोकप्रियता बढ्दो छ । टेलिभिजन, युट्युब, सार्वजनिक महोत्सव र वैदेशिक भ्रमण सबै क्षेत्रमा हास्य कलाकारको माग बढ्दो छ । यसै बढ्दो मागले भ्याइनभ्याइ भएका रिजाल अहिले गाईजात्राको तयारीमा छन् । उनले गाईजात्रा सो ठगठाग कम्पनी बजारमा ल्याउँदै छन् । ओएसआर डिजिटलमार्फत बजारमा आउने सो प्रदर्शनले दर्शकको मन जित्ने कुरामा रिजाल आशावादी मात्र होइन ढुक्क छन् ।
त्यसो त रिजालको नेपाली कला क्षेत्रमा उपस्थिति नै गाईजात्राको क्यासेटबाट भएको हो । २०५२ मा सर्लाहीका उनी अध्ययनका लागि काठमाडौँ भित्रिएका थिए । २०५९ सालमा उनले पहिलोपटक नेपाली कला क्षेत्रमा उपस्थिति जनाए । सुरुआती दिनमा उनी क्यासेट बेच्दै हिँड्थे । ‘३५ रुपैयाँमा मैले पाउँथे । ५० रुपैयाँमा बेच्ने गरेको थिएँ । एउटा क्यासेटमा १५ रुपैयाँ नाफा हुन्थ्यो’, विगत सम्झँदै उनले भने । शम्भु दाहाल र सन्तोष पन्त लगायतको क्यासेट उनले बेच्ने गरेका थिए । उनलाई पनि क्यासेट बेच्दा बेच्दै आफैँ निकाल्ने जंग चलेको थियो । संयोगवश पहिलो प्रयासमा नै सफलता पाएपछि उनको यात्रा गतिशील रूपले अघि बढेको थियो ।
उनको पहिलो क्यासेटको रूपमा शेखर खनालसँग मिलेर रञ्जना क्यासेटबाट सराद्धे निकालेका थिए । आजको डिजिटल युगमा जस्तो लोकप्रिय नाप्ने प्रष्ट र वैज्ञानिक मापदण्ड त पक्कै थिएन । परन्तु उनलाई सो क्यासेट सफल भएको अनुभूत भयो । यसै कारण पनि हरेक वर्ष गाईजात्रालाई विशेष पर्वको रूपमा मनाउँदै उनले नयाँ उपहार ल्याएका छन् । यस वर्ष ल्याउन आटेको सो क्यासेटको काममा पनि आफू सन्तुष्ट रहेको बताउँदै उनी सबैलाई हेरिदिन आग्रह गर्छन् ।
पहिलो क्यासेटबाट नै उनी हौसिएका थिए । त्यसो त नेपालमा स्थापित ब्रान्डले स्थापित नामलाई नै प्राथमिकता दिने प्रचलन छ । यसै कारण नयाँ व्यक्तिलाई प्रवेशका लागि धेरै ठुलो संघर्ष गर्नु यथार्थ कसैका सामु छिपेको छैन । तथापि उनले त्यो अनुभव गर्नु परेन । पहिलोपटक नै रञ्जना क्यासेट सेन्टरले मौका दिनुलाई उनी आफू भाग्यमानी भएको पनि स्वीकार गर्छन् ।
शेखर खनालसँग मिलेर यो यात्रा सुरु गरेका उनको जोडी खेम शर्मा र सुरेन्द्र केसीलगायत धेरै भए । यी हरेक जोडीदारसँग उत्तिकै जमेका उनी टिम मिलेको बताउँछन् । साथै सहकर्मी सबैसँग उनी खुसी पनि छन् ।
गाईजात्रा सोको रूपमा लकडाउन, रिमोट कन्ट्रोल र कर्फ्युलगायत अनेकन् प्रस्तुति बजारमा ल्याएका उनको टेलिभिजनमा प्रवेश २०६१ सालमा एक्सक्युज मी टेलिसिरियलमा ‘बोरा बोकेर’ भन्ने थेगोमार्फत सुरु भएको हो । मधेसी समुदायको लबज झल्काउने उनको बोली नै नेपाली कलामा ब्रान्ड बनेको छ । उनलाई यसै भूमिकामा धेरैले मन पनि पराए । त्यसै लबजमा उनले नेपाली समाजमा उठाउनै पर्ने धेरै विषय उठाएका पनि छन् ।
उनी कला क्षेत्रमा जम्दै गर्दा रामकृष्ण ढकाल नेपाली संगीतका एउटा ब्रान्ड भइसकेका थिए । धेरैका लागि ढकाल रोल मोडल थिए । रिजाल जम्दै थिए ढकालसँग नाम र सम्बन्धित विषयमा जोडिनु धेरैका लागि स्वतः गर्वको विषय पनि थियो । गोपाल कर्माचार्यले रामकृष्ण ढकालको जीवनीमा आधारित ‘आशीर्वाद’ फिल्म बनाए । सोही फिल्ममा उनी माइकिङ गर्ने भूमिकामा थिए । यसअघि रिजालले माइकिङको काम पनि गरे । फिल्ममा प्रवेश भए पनि उनको सो भूमिका धेरैले हेक्का राख्ने किसिमको भने थिएन ।
युट्युब, सिरियल र महोत्सवमा धेरै छाएका उनको फिल्मी अनुभव भने कमै छ । फिल्म पसिनामा मुख्य भूमिका निभाएका उनले निखिल उप्रेतीको पिँजडामा पनि अभिनय गरेका थिए । यसमा त उनी धेरै सन्तुष्ट नै छन् । त्यसो त अन्य फिल्ममा असन्तुष्टि भने होइन । कहिलेकाहीँ आफूसहित टिमले राम्रो काम गरेको अनुभव भए पनि दर्शकको मन भने अपेक्षाकृत रूपले जित्न नसकेको अनुभव उनको पनि छ ।
प्रियंका कार्कीसँगै उनले प्रेम दिवसमा पनि काम गरेका थिए । शर्मिला मल्ल र मौसमी मल्ल अभिनीत नेपाल एक्सप्रेसमा पनि उनले आफ्ना कला देखाएका थिए । तथापि उनको परिचय भने टिभी सोमै हो । १०० वटा सोमा उनको भूमिका छ । थोरै फिल्ममा आफ्नो कला देखाएको उनको खास परिचय भने टिभी सो नै हो ।
जोगिन्दर पानवालाको भूमिकामा उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, झलनाथ खनाल, कृष्णप्रसाद भट्टराई र तत्कालीन समयमा चर्चामा रहेका सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितसँग कुरा गर्न भ्याइ सकेका छन् । यो भेटमा उनले नागरिकको मनमा उठ्ने गरेका धेरै विषयमा छलफल गरे ।
२०६० को दशक नै उनका लागि उपलब्धिको दशक हो । यो दशकको एउटा चर्चित टेलिभिजन पात्रको रूपमा जोगिन्दर रहेको थियो । यो क्रम लामो समय चलेपछि उनको वास्तविक नाम भन्दा जोगिन्दरको नामले धेरैले चिन्न थाले । यसै कारण उनको माग पनि त्यत्तिकै बढेको छ । उनले ३५ वटा देशको भ्रमण गरेका छन् । असार र साउन महिनाभन्दा बाहेक कार्यक्रम सञ्चालकले बोलाएका महोत्सवमा समय मिलाउन पनि उनलाई हम्मेहम्मे पर्छ ।
नेपालका स्थापित र संघर्ष गर्दै गरेका कलाकारलाई उनको प्रस्ट मत छ । मिहिनेत गरे अब कलामा समृद्धि छ । ‘हास्य विधामा अझ धेरै समृद्धि छ’, उनले प्रस्ट भने । यसकारण भाइरल हुनकै लागि सस्तो विषय नछान्न उनले सबै नयाँ पुस्तालाई आग्रह गर्छन् ।
नेपाली हास्य विधाको आइकन नाम ‘मह’ जोडी नै हो । यस क्षेत्रमा प्रवेश गर्ने जो कोहीका लागि त्यो जोडी आदर्श हो नै । सो जोडीले कलामार्फत नेपाली समाजको हरेक यथार्थका विषयमा आवाज उठाए । यस कारण पनि सो जोडी सबैको प्रिय र आदर्श बनेको हो ।
यस पछिको पुस्तामा भन द्वैध अर्थी लाग्ने कुराले दर्शक हँसाउने प्रयास धेरै भएको उनी स्वीकार गर्छन् । उनमै मतमा अब त्यो आवश्यक छैन । राम्रो कन्टेन्ट र समाजलाई जागरूप गराउने कन्टेन्ट बनाएरै पनि हसाउन सफल भइन्छ भन्ने उनको मत छ ।
उनको विचारमा नेपाली कलामा धेरै परिवर्तन आइसकेको छ । कलाले समाजको बारे बोल्ने भएकाले कलाकारले राजनीतिलगायत समाजका अन्य विषयमा पनि जागरूप हुनुपर्छ र सबै विषयमा केही जानकारी राख्नुपर्छ भन्ने मतमा उनी छन् ।
उनी भन्छन्, ‘हामी कलाकारको काम समाजलाई सही बाटोमा लाग्न प्रेरित गर्नु पनि हो । तसर्थ कन्टेन्टमा हामीले यो विषय पनि पक्कै ध्यान दिनुपर्छ ।’ उनी संसारभर रहेका नेपालीले देखाएको सद्भावप्रति नतमस्तक छन् । सबैको सद्भाव र उत्प्रेरणाले आफूलाई कामप्रति अझ धेरै गम्भीर बनाएको उनी बताउँछन् ।
उनकै मतमा पनि पछिल्लो पुस्ता जागरूप छ । प्रविधिप्रति जानकार छ । यसले यो विधालाई नै नयाँ उचाइमा लगेकोमा सहमत हुँदै उनी भन्छन्, ‘सबै मिलेर राम्रो कन्टेन्ट बनाएर यस विधालाई अझ सम्मानित बनाउन सकिन्छ ।’
प्रतिक्रिया