नयाँ दिल्ली । भारतीय क्रिकेट टोलीले यसै महिना श्रीलंका भ्रमण गर्ने कार्यक्रम रहेको छ । श्रीलंका भ्रमणका क्रममा भारतीय टोलीले आयोजक राष्ट्रसँग ३ वटा टी–२० अन्तर्राष्ट्रिय र ३ एक दिवसीय अन्तर्राष्ट्रिय खेलको शृंखला खेल्ने कार्यक्रम रहेको छ ।
भारतीय टोली पहिलोपटक नयाँ प्रमुख प्रशिक्षकको नेतृत्वमा श्रीलंका भ्रमणमा निस्कनेछ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)ले हालै मात्र गौतम गम्भीरलाई भारतीय टोलीको प्रमुख प्रशिक्षकमा नियुक्त गरेको हो ।
श्रीलंका भ्रमणका लागि टी–२० टोलीको कप्तान बनाउने विषयलाई लिएर प्रमुख प्रशिक्षक गौतम गम्भीर र बिसिसिआईका सचिव जय शाहबीच चर्को मतभेद देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आफ्नो कप्तानीमा भारतलाई हालै आइसिसी टी–२० विश्वकपको उपाधि चुमाएलगत्तै रोहित शर्माले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए । त्यसपछि भारतीय टोलीमा कप्तान कसलाई बनाउने भनेर विवाद सुरु भएको हो ।
बिसिसिआईका सचिव जय शाह श्रीलंका भ्रमणका लागि हार्दिक पाण्डेलाई टी–२० टोलीको कप्तान बनाउन चाहन्छन् । नवनियुक्त प्रमुख प्रशिक्षक गौतम गम्भीर भने श्रीलंका भ्रमणका लागि सूर्यकुमार यादवको कप्तानीमा टोली घोषणा गर्न चाहन्छन् ।
बोर्डका सचिव र प्रमुख प्रशिक्षकबीचको यही विवादका कारण टोलीमा घोषणामा समेत ढिलाइ भइरहेको बताइएको छ । बिसिसिआईले श्रीलंका भ्रमणका लागि बिहीबार आफ्नो टोलीको घोषणा गर्ने सम्भावना रहेको बताइएको छ ।
कप्तानको विवाद भने अझै समाधान भएको छैन । हालै अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न टी–२० विश्वकपमा हार्दिक पाण्डे भारतीय टोलीका उप–कप्तान थिए । बिसिसिआईका अन्य केही पदाधिकारी पनि सूर्यकुमारलाई कप्तान बनाउनुपर्ने पक्षमा देखिएको समाचारमा जनाइएको छ ।
प्रतिक्रिया