हेटौँडा । वर्षैपिच्छे कर्मचारी भर्ना र निष्कासन भइरहँदा हेटौँडा अस्पतालको सेवा प्रवाह फेरि एकपटक प्रभावित हुने भएको छ । राजनीतिक गठबन्धनमा आएको फेरबदलसँगै बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी लिएका मुख्यमन्त्री शालिकराम जमकट्टेलले मन्त्रीस्तरीय निर्णय गर्दै अस्पतालका १३० कर्मचारी कटौती गरेपछि साउन १ गतेदेखि अस्पतालको सेवा प्रभावित हुने भएको छ ।
प्रदेश स्वास्थ्य मन्त्रालयले असार २७ गते मन्त्रालय र मातहत कार्यालयमा कार्यरत कर्मचारीको असार मसान्तपछि करार अवधि थप नगर्ने निर्णय गरेको हो । यस निर्णयपछि अस्पतालका १३० सँगै प्रदेश स्वास्थ्य निर्देशनालय अन्तर्गतका १६ तथा मन्त्रालय मातहत करार नियुक्त भएका १६ जना सुरक्षा तथा सरसफाइ कर्मचारीको पनि करार अन्त्य हुने भएको छ ।
मन्त्रालयले असार मसान्तपछि करार अवधि थप नगर्ने भएपछि १ साउनदेखि कटौतीमा परेका कर्मचारीहरूले अस्पतालमा सेवा दिने छैनन् । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अस्पताल हस्तान्तरण भएपछि स्वामित्व विवादको विषय चर्किरहँदा कर्मचारी कटौतीले अस्पतालको सेवाप्रवाह चुनौतीपूर्ण हुने देखिएको छ ।
गतवर्ष पनि प्रदेश सरकारले बजेटको कारण देखाउँदै १४४ जना प्राविधिक तथा प्रशासनिक क्षेत्रका करार कर्मचारीलाई हटाउने निर्णय गरेको थियो । हटाइएका कर्मचारीहरूले २०८० साउन र भदौ महिनामा बिनातलब स्वयंसेवकको रूपमा काम गरेर अस्पतालको सेवा प्रभावित हुन दिएका थिएनन् । २०८० असोजमा पुनः नियुक्त गरिएका कर्मचारीहरू नियुक्ति लिएको ९ महिनामै अहिले कटौतीमा परेका हुन् ।
हेटौँडा अस्पताल व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष राजेश प्रसार्इंले कर्मचारी कटौती गर्ने मन्त्रालयको निर्णयले साउन १ गतेदेखि अस्पतालको सेवा प्रत्यक्ष रूपमा प्रभावित हुने बताए । हरेक वर्ष कर्मचारी हटाउने र नयाँ भर्ना गर्ने गरेर मन्त्रालयले अस्पतालको सेवा प्रवाहलाई अवरोध पु¥याएको उनले बताए ।
नेकपा एमाले मकवानपुरले सोमबार एक विज्ञप्ति जारी गर्दै कर्मचारी कटौती गर्ने निर्णय गरेर मुख्यमन्त्री जमकट्टेलले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई तहसनहस पार्ने मनसाय राखेको प्रष्ट भएको आरोप लगाएको छ । एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलद्वारा जारी विज्ञप्तिमा वैकल्पिक व्यवस्था नगरी अस्पतालको सेवा प्रभावित हुने गरी कर्मचारी कटौती गरिएको भन्दै बिरामीले पाउनुपर्ने सेवासुविधा प्रभावित नगर्न माग गरिएको छ ।
मकवानपुर
प्रतिक्रिया