सामाजिक र राजनीतिक विद्रोहका आवाज बनेका ती संगीत

एउटा मान्यता छ, संसारको समाजवादी आन्दोलनको एउटा मियो म्याक्सिम गोर्कीको ‘आमा’ उपन्यास हो । अक्षर एउटा शक्ति हो । त्यस्तै शक्ति संगीत पनि हो । जसले सत्ताको विरुद्धमा आवाज उठाउँछ । संसारका धेरै यस्ता संगीत छन् जसले चलिआएको परम्परा मात्र होइन, सत्तालाई नै चुनौती दियो ।

संसारमा राजनीतिक र सामाजिक अभियानमा संगीतकर्मीको भूमिका विगतदेखि नै महत्वपूर्ण रहँदै आएको छ । अनेक विकृति र विसगंतिविरुद्ध जागरण ल्याउन संगीत निकै प्रभावकारी माध्यम हो नै । संसारमा भएका धेरै राजनीतिक र सामाजिक परिवर्तनमा संगीतकर्मीहरू प्रभावकारी र सहयोगी सावित भए । विद्रोहको आवाज उठाउने क्रममा संगीत सधैँ अग्रमोर्चामा रह्यो । संसारको संगीत इतिहासमा धेरै यस्ता नाम छन्, जसको विद्रोही आवाज सत्ताका लागि टाउको दुःखाइ बन्यो भने विद्रोहीका लागि आत्मबल ।

जुन समय अमेरिका र क्यारेबियन क्षेत्रमा रंगभेद थियो, हिपपले आवाज उठायो । नेपाली समाजमा महिलाको लुकेको पीडालाई धेरै लोकसंगीतले बाहिर ल्यायो । यस्ता उदाहरण संसारका अन्य धेरै स्थानमा हुन सक्छन् । नेपालमै दिवंगत समबुद्धका आमा र साथी दुवै गीत सामाजिक अभियानको एउटा पाटो थियो । लैंगिक विभेद, चेलीबेटी बेचबिखन र लागुपदार्थको व्यापारको विरुद्धमा यमबुद्धको आवाज उठेको थियो ।

सन् ८० र ९० को दशकमा हिपपको दुनियाँमा क्विन लतिफाको नाम चर्चामा थियो । ‘हिपप क्विन’ को उपमा पाएकी लतिफालाई उनका समर्थकहरूले संगीत, टिभी र सिनेमाकी क्विन भनेर बुझ्थे । उनका डाइङ हर्ट फ्यान संसार नै थिए । बजारमा क्विन लतिफा अर्थात् मेघन स्टालिनको पोस्टरको उच्च माग थियो । उनको अभियानका कारण रंगको र लिंगको आधारमा विभेद हुन हुँदैन भन्ने भावना उच्च भएको थियो । यो आवाजले संसारलाई तरंगीत तुल्याएको थियो ।

सन् २०१८ मा अमेरिकी गायक डोनाल्ड ग्लेभरले इन्टरनेटमा एउटा भिडियो अपलोड गरेका थिए । अमेरिकी समाजमा रहेका गलत परम्परातर्फ इंगीत गर्दै राखिएको सो भिडियो भाइरल भएको थियो । अम्ब रेलीको ‘फ्रिडम’ एउटा विद्रोही गीत थियो । त्यसो त सन् ८० को दशकको ‘आइ वान्ट अ ब्रेक फ्री’ को प्रभाव अहिलेसम्म छ । सो गीतको पारखी दक्षिण एसियामा मात्र नभई नेपालमा समेत त्यत्तिकै छ । गीतसंगीतमार्फत सामाजिक र राजनीतिक विकृतिको विरुद्धमा बोल्ने, मान्छेलाई जागृत गर्ने र परिवर्तनको दिशा देखाउने काम संसारभरकै हो ।

नेपालमा अहिलेसम्म भएका राजनीतिक परिवर्तनमा संगीतकर्मीको भूमिका निकै महत्वपूर्ण मनिएको छ । भारतमा धेरै सिनेमा र गीत तत्कालीन ब्रिटिस शासनको सेरोफेरोमा रहेर बनेका छन् । त्यो समयमा पनि गीतमार्फत सत्ताको विरुद्धमा चेतना फैलाउने काम भएको थियो ।

यो क्रम सन् १९३० देखि अझ बढेको थियो । ब्रिटिस सरकारको विरुद्धमा कलाकारहरू पनि सक्रिय रहे । भारतीय संगीतको चर्चा हुँदा त्यो समयमा सक्रिय व्यक्तिहरू सम्झना गरिन्छन् । एक वीरंगना भारतमा थिइन् जसको जीवनकथा आश्चर्यजनक र पठनीय छ । उनी हुन् गायिका तथा अभियानी खुर्सदबेन नाओर्जी । यी ऐतिहासिक महिलाका बारे धेरैलाई थाहा छैन । भारतीय स्वतन्त्रता संग्रामको समयमा यी गायिकाको विशिष्ट योगदान थियो । उनीसँग महात्मा गान्धी पनि प्रभावित थिए । उनी यस्ती महिला थिइन् जसको साहसबाट ब्रिटिस शासकका लागि टाउको दुःखाइ बनेको थियो ।

खुर्सदबेन पछिल्लो पुस्ताका धरै भारतीयका लागि परिचित नाम होइन । केही समयअघि इतिहासकार डिनार पटेलले उनको बारे लेखेका थिए । रामचन्द्र बारुले खुर्सदबेनको वृत्तान्त पुस्तकमा लेखे । यसपछि भारतीय, स्वतन्त्रता संग्राम, गान्धीको अहिंसात्मक आन्दोलन तथा भारत–पाकिस्तान विभाजनबारे अझै धेरै बुझ्न खुर्सदबेनका बारे पढ्नुपर्छ ।

पर्सिएन मूलकी नाओर्जीको जन्म सन् १८९४ मा एक प्रतिष्ठित घरानामा भएको थियो । खुर्सदबेनका हजुरबा दादाभाइ नओर्जी ब्रिटिस संसदमा काम गर्ने पहिलो भारतीय थिए । युवा अवस्थासम्म बम्बई (हालको मुम्बई) मा हुर्किएकी खुर्सदबेनको शास्त्रीय संगीतमा विशेष खुबी थियो ।
सन् १९२० मा उनी संगीत अध्ययनका लागि पेरिस पुगेकी थिइन् । त्यहाँ सांस्कृतिक परिवर्तित हुँदै गर्दा उनको भेट अर्की आप्रवासी संगीतकर्मी इभा पाल्मरसँग भएको थियो ।

भारतीय स्वतन्त्रता संग्राममा विशिष्ट योगदान गरेकी संगीतकर्मी खुर्सदबेन नाओर्जीका बारे धेरैलाई थाहा छैन । यिनको साहसबाट महात्मा गान्धी औधी प्रभावित थिए । गान्धीवादी संगीतकर्मी खुर्सदबेनको अभियानबाट अंग्रेज शासकहरू त हैरान नै थिए । यी दुईको जोडी जमेपछि पेरिसमै गैरपाश्चात्य संगीत विद्यालयको बाटो खुलेको थियो । पेरिसमा रहँदा खुर्सदबेन ग्रिक संगीतमा पारंगत भइन् । भारतीय संगीतका धार पछ्याउन भने छाडिनन् । खुर्सदबेन महात्मा गान्धीले सुरू गरेको स्वतन्त्रता आन्दोलनमा सहभागी हुन भारत फर्किन् । उनले गुजरातमा गान्धीसँग भेट गरिन् र आन्दोलनमा महिलाको व्यापक सहभागिता हुन आवश्यक हुने बताइन् ।

उनी कसरी सीमा क्षेत्रमा पुगिन् भन्नेचाहिँ धेरैका लागि आश्चर्यजनक नै रहेको छ । अझ भनौँ, यसबारे इतिहास खोतल्ने काम भइरहेको छ । सन् १९३० मा उनी एनडब्लुएफए (नर्थ वेस्ट फ्रन्टियर पोलिटिक्समा) मा आबद्ध भइन् । सीमा क्षेत्रमा अब्दुल गफर खानसँग उनको दोस्ती भयो । उनले त्यहाँ चालेको कदमले ब्रिटिस सरकारलाई क्षुब्ध बनायो ।

त्यही रहेको समयमा ब्रिटिस सरकारले खुर्सदबेनलाई गिरफ्तार गरेर पेसावरको एउटा जेलमा राखियो । उनले यहीँबाट चिठ्ठी लेखेर गान्धीलाई घटना जानकारी गराइन् । उनले जेलमै रहेर आफ्नो अभियान चलाइरहँदा गान्धीले हिन्दू र मुस्लिमलाई एकजुट बनाएर अभियान चलाउँदा सार्थक हुने सुझाएका थिए ।
जेलबाट रिहा भएपछि खुर्सदबेन बाजिरिस्तानमा सक्रिय रहिन् । त्यहाँ मुस्लिम डकैतले छानीछानी हिन्दूहरूलाई यातना दिइरहेका थिए । त्यस क्षेत्रमा अपहरणका घटना सामान्य मानिन्थे । एउटा निश्चित क्षेत्रमा सक्रिय डाकाहरूको समूहले बेलायती र भारतीय प्रहरीलाई आजित तुल्याएको थियो ।
खुर्सदबेन बिस्तारै डाकाहरूको सम्पर्कमा पुगिन् । उनले तिनीहरूलाई सम्झाइबुझाई गरेर गान्धीको अभियानमा सरिक गराउने अभियान चलाइन् । एनडब्ल्युएफपीका उनका सहकर्मीहरू विकृत हुँदै गएपछि उनलाई आफ्नो अभियानलाई निरन्तरता दिन अप्ठेरो नभएको होइन । परन्तु खुर्सदबेन आफ्नो पथमा अविचलित रहिन् ।

ग्रामीण भेगका सर्वसाधारणसँगको भेटमा उनले त्यहाँका महिलालाई डकैती गर्नु अपराध हो भन्ने कुरा बुझाउँदै हरेकले आफ्ना श्रीमान् र छोरालाई डकैती छोड्न लगाउने अभियान चलाइन् । यो अभियानका कारण उनी थुप्रै डाका नाइकेको निसानामा पर्न थालिन् । आफ्नो शिविरमा फर्किएपछि पनि उनीमाथि आक्रमण भयो । एकपटक उनले आफ्नो छेवैबाट गोली गएको र भाग्यले मात्र बाँचेको भन्दै गान्धीलाई चिठी लेखेकी थिइन् । ब्रिटिस सत्ताले पनि उनको यो अभियानको प्रशंसा गरेको थियो ।

सन् १९४० को दशकमा उनको सक्रियता रहेकै समयमा केही हिन्दूहरूलाई मुस्लिम अपहरणकारीले बाजिरिस्तानको एक ठाउँमा राखेका थिए । ती अपहृतहरूलाई छुटाउन खुर्सदबेन आफैँ जान तयार भइन् । उनले यस विषयमा जानकारी गराउँदै गान्धीलाई एउटा पत्र लेखिन् । उनी अपहृत व्यक्तिहरू राखिएको ठाउँतिर जाँदै थिइन्, बाटैमा ब्रिटिस सत्ताले गिरफ्तार गरेर उनलाई जेल पठायो । सन् १९४४ सम्म उनी जेलमै थिइन् । सन् १९४७ मा भारत विभाजन र आफूले लामो समय बिताएको क्षेत्र भिन्नै देश भएपछि यसले उनलाई निकै पीडा दियो । सन् १९६६ मा देहावसान समाप्त हुनअघि खुर्सदबेन केही सरकारी आयोगमा रहेर काम गरिन् ।

खुर्सदबेनका बारेमा त्यति धेरै समाचार बनेन । परन्तु, भारतीय लेखक र इतिहासकारहरू खुर्सदबेनले उठाएको जागरण धेरैका लागि अनुकरणीय र भारतीय इतिहासमा सधैँ स्मरणीय रहने बताउँछन् । बाजिरिस्तानमा सन् १९३६ देखि पास्तुन राष्ट्रवादी अभियानका कारण तनावको वातावरण थियो । पश्चिमा इरानी मूलका भारतीयहरूले बेलायती सत्ताको विरुद्ध भिन्नै आन्दोलन चलाउँदै थियो । यहीँ हिन्दू र मुस्लिमबीचको साम्प्रदायिक मनमुटाब पनि थियो । यही डकैती र अपरहणका घटना पनि हुने गरेका थिए ।

त्यो समयमा बाजिरिस्तानको यात्रा मात्र पनि एउटा महिलाका लागि कठिन थियो । खुर्सदबेन त झन् सम्भ्रान्त परिवारमा जन्मेकी महिलाका थिइन् ।
संसारको चेतना र विकासमा संगीतमार्फत विद्रोह गर्ने धेरै आवाज छन् । आममानिससँग घुलमिल गर्दै गान्धीवादी अभियानमा साथ खुर्सदबेनको आत्मवृत्तान्त सम्भवतः अब धेरैले खोजी गर्नेछन् ।

प्रतिक्रिया