काठमाडौँ । नाजिर हुसेन अभिनीत फिल्म ‘गुन्यो चोलो– कमिङ अफ अ्याज अफ अ गर्ल’ उर्फ ‘गुलाबी’ को प्रदर्शन मिति तय भएको छ । यो फिल्म आगामी ९ कात्तिकमा रिलिज हुने पक्का भएको हो । बिहीबार निर्माण टिमले नाजिरको लुक्स सहितको पोस्टर सार्वजनिक गर्दै फिल्मको रिलिज मिति घोषणा गरेको हो । सार्वजनिक पोस्टरमा नाजिर फरक अवतारमा देखिएका छन् ।
पोस्टरमा नाजिर पहेलो रंगको वान पिसमा छन् । उनले एउटा हातमा विग(नक्कली कपाल) बोकेका छन् भने अर्को हातमा हिल्स बोकेका छन् । उनको शरीरमा कहीँ कतै चोटको निसानसमेत देखिन्छ ।
नाकमा नथिया, कानमा झुम्का र पुरै श्रृंगारमा सजिएका नाजिरको ‘ट्रान्सवुमन लुक्स’ आकर्षक देख्न सकिन्छ, जसको मेकअपदेखि चरित्र रूपान्तरण गज्जबको छ । पोस्टरका अनुसार चलचित्रमा नाजिरको पात्रको नाम ‘गुलाबी’ राखिएको छ । नाजिरको लुक्स र पोस्टरले नै चलचित्रको कथावस्तु बोल्छ ।
सिने क्षेत्रमा भर्सटायल अभिनेताको छवि बनाएका नाजिरले यस चलचित्रमा पनि कडा मिहिनेत गरेका छन् भन्ने छनक पोस्टरबाटै मिल्छ । नाजिरले ‘गुन्यो चोलो–उर्फ गुलाबी’ कै लागि भनेर आफ्नो १६ केजी तौलसमेत घटाएका थिए । यस चलचित्रलाई निर्देशक समुन्द्र भट्टले निर्देशन गरेकी हुन् । निर्देशक भट्टले चलचित्रको पटकथा निर्माण र अनुसन्धानमा लैंगिक अल्पसंख्यकको क्षेत्रमा कार्य गर्ने संस्थाहरू ‘नीलहिरा समाज’ र ‘मितिनी नेपाल’ सँग पनि परामर्श गरेकी थिइन् । धेरै खोज र अनुसन्धानपछि उनले यस चलचित्रमा प्राण भरेकी हुन् ।
चलचित्रलाई लिएर समुन्द्र निकै आशावादी छन् । ‘गुन्यो चोलो उर्फ गुलाबी’ ले आफ्नो निर्देशनको यात्रामा थप उचाइ थप्नेमा भट्ट विश्वस्त छिन् ।
अमेरिकी कम्पनी ‘भिजन इन्टरटेन्मेन्ट’ र ‘दि स्काई ओसन इन्टरटेन्मेन्ट’ को ब्यानरमा निर्माण भएको चलचित्रले पारलैंगिकताको कथालाई उठान गरेको छ । चलचित्रमा समुन्द्र भट्ट र नाजिर हुसेनको पटकथा तथा संवाद छ । फिल्ममा नाजिरसहित संचिता लुइँटेल, सुशील सिटौला, अनुपम श्रेष्ठ र विशाल पहारीको अभिनय रहेको छ ।
चलचित्रको सम्पूर्ण पोस्ट प्रोडक्सनको काम बाहिर गरिएको हो । चलचित्रको एडिट, कलर, मिक्सिङ, साउन्ड डिजाइनदेखि ब्याकग्राउन्ड म्युजिकसम्मको काम हलिउड शैलीमा बाहिरै गरिएको छ । चलचित्रमा हलिउडकी कलाकार लिजा जेरार्डले स्वर दिएकी छिन् भने ब्याकग्राउन्ड म्युजिकको सम्पूर्ण काम मार्सेलो दि फ्रान्सिसीले गरेका छन् । लिजाले स्वर भरेको वर्ष २०२४ कै बहुप्रतिक्षित हलिउड चलचित्र ‘ग्ल्याडिएटर–२’ यहीँ डिसेम्बरमा आउँदै छ ।
नेपालको पहिलो पूर्णरूपको ट्रान्स स्टोरीमा निर्मित यो चलचित्र नेपाली फिल्म प्रोड्क्सन हाउस र हलिउड फिल्म प्रोड्क्सन हाउसको संयुक्त कोलाबोरेसनमा बनेको हो । चलचित्रमा आकाश बुढाथोकी र भि.भन्से जानुबोनको लगानी छ । चलचित्रको कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जोन्स्टन हुन् । अनुपम श्रेष्ठ चलचित्रका सहयोगी निर्माता हुन् ।
प्रतिक्रिया