मधेस ब्यूरो । रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिकामा पुनः तालाबन्दी गरिएको छ । करारमा रहेका कर्मचारीहरुले तलब नपाएपछी तालबन्दी गरेका हुन् ।
उनीहरूले नगरपालिकाको मूल गेटमा ताला लगाएका हुन् । सो नगरपालिकामा करारमा रहेका कर्मचारीहरूले आफूहरूको माग पूरा नहुन्जेलसम्म तालाबन्दी जारी रहने बताएका छन् ।
आर्थिक वर्ष २०७९–८० को पुरानो बाँकी तलब तथा चालू आर्थिक वर्ष २०८०–८१ का कर्मचारिहरुको तीन महिनाको बक्यौता तलब भुक्तानी नभएको एवम् कार्यालय प्रमुख सुरेन्द्र प्रधानसँग सम्पर्क हुन नसकेकाले तलब भत्ताको भुक्तानी नहुन्जेलसम्म तालाबन्दी गरी कार्यालयको कामकाज ठप्प पार्ने उनीहरूले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ । सो ज्ञापनपत्रमा नगरपालिकामा कार्यरत ५० जना कर्मचारीहरूले हस्ताक्षर गरेका हुन् ।
फतुवा विजयपुर नगरपलिकाकी कार्यवाहक नगरप्रमुख अम्बेया खातुनको नाममा जारी गरिएको ज्ञापन पत्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र जिल्ला प्रशासनको नाममा बोधार्थ गरिएको छ । प्रमुख प्रशासकिय अधिकृत उप सचीव प्रधान र लेखापाल यादव सम्पर्कबिहीन भएपछि उनीहरु तालाबन्दी गर्न बाध्य भएका हुन् ।
उनीहरु दुवै जना मिली चन्द्रपुरबाट नै कार्यालय सञ्चालन गर्न थालेपछि कर्मचारीहरू आक्रोशित बनेका हुन् । हाकिम प्रधान र लेखापाल यादव आउनै छाडेको एक कर्मचारीको भनाइ छ । फतुवा विजयपुरका प्रमुख प्रशासकीय अधिकृत प्रधानसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेको छैन ।
मधेश ब्युराे प्रमुख
प्रतिक्रिया