नेपाली खेलकुदको ठूलो हिस्सा मार्सल आर्टले नै बोकेको छ । यो हिस्सामा अहिलेको चर्चा ओखलढुंगाको ग्रामीण परिवेशमा हुर्किएर नेपाली खेलकुदमा पहिचान बनाएका एक युवाको । मुक्कामुक्की र लात्ती हानाहान । कुहिना र घुँडाको प्रहार । शरीरका अधिकांश भागमा हिर्काउन पाइने नियम । हेर्दै निर्मम र डरलाग्दो । नाक मुखबाट रगत बगेर अनुहार रक्ताम्य हुनु सामान्य जस्तै । मार्सल आर्टअन्तर्गत पर्ने खेल मुवा थाई विधाको नियम हो यो । यसै नियमलाई अंगीकार गर्दै स्थापित नाम गुणराज रुचाल ।
६ चैत २०८० का दिन थाइल्यान्डको बैंककस्थित द बजार रत्चडाफिसेकमा १९औँ विश्व मुवा थाई प्रतियोगिताको फाइनल चलिरहेको थियो । सेमी–प्रोफेसनल विधाअन्तर्गत ५४ किलो तौल समूह पुरुषतर्फको प्रतिस्पर्धामा थिए, नेपालका गुणराज रुचाल । रिङभित्र रुचालका प्रतिस्पर्धी थिए इटालीका ग्राभियल ओलारियु । ३ राउन्डको ९ मिनेट लामो मुक्कामुक्कीपछि रेफ्रीले गुणराजको बायाँ हात उचाल्दै विजेता घोषित गरे ।
त्यो जित गुणराजको एक्लो थिएन । सिंगो नेपालको जित थियो । नेपालको राष्ट्रिय झण्डा फहराउँदै गुणराजसहितको सानो नेपाली टोलीले त्यहाँ उत्सव मनाए । मुवा थाई खेलमा देशले प्राप्त गरेको हालसम्मकै ठुलो सफलता थियो त्यो । जब विश्वविजेताको पेटी (बेल्ट) गुणराजको कम्मरमा बाँधियो । गुणराज एकछिन भावुक भए । आँखाहरू रसाए । सपना पूरा भएकामा उनी रोमाञ्चित भए । मन भने बहलिँदै त्यही देवीटार गाउँ पुग्यो ।
खेतीपाती गरेर वर्षभरि खान नपुग्ने परिवार । छोराछोरीका लागि बुबाआमाले निरन्तर गरिरहनुभएको संघर्ष । छाती गह्रौँ भयो । गला अवरुद्ध भए । आफ्नै मनले भन्यो, ‘बाबा तिम्रो छोरा पनि विश्वविजेता बन्यो ।’ ताजा खुसीको उन्मादले ओझेलमा परेको अर्को पीडा साथमै थियो । भीडन्तको पहिलो राउन्डमै उनको दायाँ हात भाँचिसकेको थियो । तर, हात भाँचिएको कुरा न उनले कोचलाई सुनाए न त रेफ्रीलाई । ‘मेरो हात भाँचियो भनेर मैले पहिले थाहा पाइसकेको थिएँ । किनभने त्यसरी नै मेरो हात पहिले पनि भाँचिएको थियो’, उनले त्यो क्षण सम्झिँदै भने, ‘तर मैले मेरो हात भाँचिएको सुनाउने बित्तिकै खेल छाडेर हार स्वीकार्नुुपथ्र्यो वा मेरो प्रतिद्वन्द्वीले थाहा पाएको भए मेरो हातलाई केन्द्रमा राखेर प्रहार गरेपछि म खेल्नै सक्दिनँ थिएँ ।’
१० वर्षदेखिको विश्वविजेता बन्ने लक्ष्य पूरा नहुने उनले सम्झिए, त्यसपछि ‘गिभ अप’ गरेनन् । बक्सिङभन्दा बढी लात्ती, कुहिना र घुँडाको प्रहार गर्दै प्रतिद्वन्द्वीसँग फाइनल राउन्डसम्म भिडिरहे । यो त्यही दायाँ हात हो, जो मुवा थाईकै प्रतियोगितामा तेस्रोपटक भाँचिएको थियो ।
सिस्नेरी टु वल्र्डच्याम्पियन
ओखलढुंगाको सुनकोसी गाउँपालिका–३, सिस्नेरीस्थित देवीटार गाउँ । जहाँ ५ घर दलित, ३ घर मगर र ६० घर जति क्षेत्री ब्राह्मण समुदायको बस्ती छ । त्यही गाउँका खड्गबहादुर र फूलमायाको ३ भाइ र १ बहिनी छोरीमध्येको जेठो हुनुहुन्छ गुणराज । नुन र चामल बोक्न ५ घण्टा पैदल हिँडेर घुर्मी बजार पुग्नुपर्ने । ‘अझ बुबाआमाले २ दिनको पैदल बाटो कटारी पुगेर नुन ल्याउनुहुन्थ्यो रे, बाल उमेरमा यस्तो सुन्दा मलाई कथा सुनेजस्तै लाग्थ्यो’, गुणराजले बाल्यकाल सम्झिँदै भने ।
दलित समुदायलाई अझै उच्च जात भनाउँदाले हेर्ने दृष्टिकोण कहाँ बदलिएको छ र ? कहीँ खेतालो, गोठालो, बजार जाँदा नजानिँदो ढंगले हेपिएको महसुस गुणराजलाई हुन्थ्यो । तर, आफूलाई हेपेको मात्र नभई अरूलाई हेपेको पनि देख्न नसक्ने उनीमा विद्रोही स्वभाव थियो । प्रतिवादमा उत्रिनु गुणराजको नानीदेखिको बानी हो ।
स्कुल बाहेकका समय गोरु, बाख्रा चराउन कहिले खोला किनार त कहिले जंगलतिर सुसेल्दै हिँडेको त्यो स्वर्णिम बाल्यकाल अझै उनको मानसपटलमा झल्झली आउँछन् । छुट्टीको दिन घाँस, दाउरा जानुपर्ने नियमित तालिका छँदै छ ।
सामान्य लेखपढ गरेका खड्गबहादुर र फूलमायाले दुःखै किन नहोस् छोरालाई सरकारी जागिरे बनाउने सपना देखे । छोराले २०६४ सालमा गाउँकै कालिका माध्यमिक विद्यालयबाट एसएलसी पास गर्ने बित्तिकै १८ महिने ‘कम्युनिटी मेडिसिन असिसटेन्ट’ (सिएमए) पढाउन सदरमुकामस्थित हिमालयन पारामेडिकल शिक्षालय पठाए ।
गुणराजले पनि बुबाआमाको सपना पूरा गर्न सिएमए पढे । सिएमए उत्तीर्ण गरेपछि बाँकी रह्यो अहेबको परीक्षाको तयारी । त्यसका लागि लोकसेवा आयोगले लिने परीक्षा उत्तीर्ण गर्नुपर्ने । तयारीस्वरूप किताब किनेर ल्याए । किताब पढ्न थालेको दोस्रो दिन मात्रै भएको थियो । रेडियोमा अचानक गाउँपालिकाको केन्द्र मूलखर्कमा कराँते तालिम सञ्चालन हुने सूचना उनको कानमा ठोक्कियो ।
रेडियोमा सूचना पूरा बज्न नपाउँदै गुणराजले अहेबका लागि लोकसेवा तयारीसम्बन्धी पुस्तक त्यसपछि कहिल्यै खुलेन । कराँते सिकेरै छाड्ने छोराको जिद्दीसामु बाबुआमाको केही लागेन । गाउँदेखि उकालैउकालो दौडिँदा २ घण्टामा पुगिन्थ्यो मूलखर्क । ६ बजेदेखि सुरु हुने कराँते प्रशिक्षणमा सहभागी हुन गुणराज बिहान ४ बजे घरबाट हिँडिसक्थे । पुस–माघको चिसो ठिही र लामो रात । गाउँदेखि माथि रहेको दमार जंगल अँध्यारोमै कट्नुपथ्र्यो । तैपनि मनमा कुनै डर थिएन । थियो त एक मात्र कराँतेको गुरु बन्ने लक्ष्य ।
३ घण्टाको प्रशिक्षण सकेर फर्किंदा १० बज्थ्यो । त्यसपछि फेरि घरको काम गर्नुपथ्र्यो । तर, त्यो कराँते प्रशिक्षण विविध कारणले ३ महिनाभन्दा बढी सञ्चालन हुन सकेन । गुणराजको खेलाडी बन्ने सपना अधुरै रह्यो । उनी १५ असार २०६९ मा नेपाली सेनामा भर्ती भए । बाँकी सपना पूरा गर्ने माध्यम उनले नेपाली सेनालाई बनाउने सोचे ।
सेनाको तालिममै मार्सल आर्टस विधाअन्तर्गतका विभिन्न खेलहरू अनिवार्य सिक्नुपथ्र्यो । त्यो आधारभूत किसिमको मात्र हुन्थ्यो । त्यसअन्तर्गत पनि गुणराजले मुवा थाई रोजे । मुवा थाईमा उनको लगाव यति धेरै देखियो कि नेपाली सेनाले उनलाई त्रिभुवन आर्मी क्लबमा आबद्ध गरायो । अनि पूर्णकालीन मुवा थाई खेलाडी बने । अहिले नेपाली सेनाको अमलदार पदमा कार्यरत छन्, रुचाल ।
निरन्तरको मिहिनेत र लगावले गर्दा उनी बिस्तारै मुवा थाईमा सफलता प्राप्त गर्न सुरु गरे । २०७६ सालमा काठमाडौँमा आयोजित ‘बेल्ट च्याम्पियनसिप’को राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक प्राप्त गर्न सफल उनले २०७७ मा चितवनमा भएको ‘टप फाइभ’ मुवा थाई प्रतिस्पर्धामा स्वर्ण पदक हासिल गरे ।
२८ माघ २०७४ मा चितवनमा भएको तेस्रो इन्डो–नेपाल प्रतियोगितामा पनि स्वर्ण पदक हात पारेका उनले जितलाई निरन्तरता दिँदै २०७९ सालको चौथो इन्डो–नेपाल प्रतियोगितामा स्वर्ण पदक आफ्नै कब्जामा राखे । २०७९ सालको आठौँ इन्डो–नेपाल मुवाथाई प्रतियोगितामा स्वर्ण जितेर इन्डो–नेपाल प्रतियोगितामै ३ वटा स्वर्ण पदक प्राप्त गर्ने खेलाडी बने ।
मुवा थाईको अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा पनि उनको वर्चस्व कायम छ । २०७५ असोजमा नेपालमै आयोजित तेस्रो केब्याक इन्टरनेसनल मुवा थाई प्रतियोगितामा स्वर्ण पदक जितेका उनी २०७६ भदौमा थाइल्यान्डमा सम्पन्न जेएफ बक्सिङ फाइट प्रोमोसनमा इटालीका खेलाडीलाई नकआउट गर्दै विजयी भएका हुन् । २०७९ सालमा थाइल्यान्डको बैंककमा भएको फेयरटेक्स फाइटमा म्यानमारका खेलाडीलाई पराजित गर्दै रुचाल विजयी भए ।
यसैबीचमा रुचालको विश्व च्याम्पियनसिप यात्रा सुरु भइसकेको थियो । २०७९ सालमा थाइल्यान्डको पतायामा आयोजित १७औँ अम्याचुअर एन्ड प्रो–एम वल्र्ड मुवा थाई च्याम्पियनसिप २०२२ मा कास्य पदक प्राप्त गरे । त्यही सालको चैतमा थाइल्यान्डमै सम्पन्न १८औँ अम्याचुअर एन्ड प्रो–एम वल्र्ड मुवा थाई च्याम्पियनसिप २०२३ मा पुनः दोस्रोपटक कास्य पदकमा चित्त बुझाए ।
दुईपटक कास्य पदक प्राप्त गरेपछि पनि विजेता बन्ने अठोटबाट गुणराज पछि हटेनन् । त्यसपछिको तयारी यति मिहिनेतका साथ गरे कि त्यो लक्ष्य पूरा गर्न १ वर्ष पनि कुर्नु परेन । २९ फागुनदेखि ६ चैत २०८० सम्म थाइल्यान्डमा सम्पन्न १९औँ अम्याचुअर एन्ड प्रो–एम वल्र्ड मुवा थाई च्याम्पियनसिप २०२४ मा विश्व विजेता हुन सफल भए ।
उनले मुवा थाई विधामा ७ अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पराजय भोगे । तथापि पराजय नै विजयको पहिलो आधार मानेर निरन्तर अभ्यास गर्ने बानीले उनलाई सफलताको बाटोमा डोर्याइरहेको छ । नेपाल राष्ट्रिय मुवाथाई संघले उनलाई सन् २०१६, २०१८ र २०२२ मा तीनपटक मुवाथाईको उत्कृष्ट खेलाडीको अवार्डबाट सम्मान गरिसकेको छ ।
के हो मुवा थाई ?
मार्सल आर्टअन्तर्गतकै एक खेल विधा हो मुवा थाई । ‘द आर्ट अफ एट लिम्बस्’ अर्थात दुवै कुहिना र दुवै घुँडा, दुवै बक्सिङ र दुवै किक गरेर ८ वटा भागले आफ्नो प्रतिस्पर्धीमाथि नियममा रहेर आक्रमण गर्न पाइन्छ ।
यो थाइल्यान्डको राष्ट्रिय खेल पनि हो । त्यसो त यसको इतिहास जान्नलाई १३औँ शताब्दीतिर थाइल्यान्ड सुखोथाई राज्यको बेलासम्म पुग्नुपर्ने हुन्छ । पहिलो थाई सेना जसले राज्यको सुरक्षा गर्न यो युद्धकलाको विकास गरे र उनले आफ्नो सेना तथा गैरसेनालाई यो कला सिकाए । मार्सल आर्ट अन्तर्गतकै यो कलालाई पछि मुवा बोरन र मुवा थाई नामकरण गरियो ।
मुवाको खास अर्थ बक्सिङ हो । मुवा थाई भन्नाले थाई बक्सिङ भन्ने बुझिन्छ । सुरुमा मुवा थाई खेलाडीले हातमा डोरीले बाँधेर बक्सिङ खेल्ने गर्थे । २०औँ शताब्दीको सुरुआतपछि यो खेल ब्रिटिस बक्सिङबाट प्रभावित भएर आधुनिकीकरणतर्फ लाग्यो र पछि हातमा पञ्जा लगाएर खेल्न थालियो । नेपालमा मुवाथाई खेलले सन् २०१० मा मान्यता पाएको हो । नेपाल राष्ट्रिय मुवाथाई संघ सन् २०१२ मा दर्ता भयो ।
गुणराजका प्रशिक्षक तथा नेपाल राष्ट्रिय मुवा थाई संघका केन्द्रीय अध्यक्षसमेत रहेका गणेशलाल कक्षपति गुणराज पछिल्लो समय व्यावसायिक खेलाडीको रूपमा परिचित भइसकेको बताउँछन् ।
मुवाथाई अहिले मार्सल आर्ट खेलअन्तर्गत उत्कृष्ट विधाको रूपमा स्थापित भएको कक्षपतिको भनाइ छ । गुणराजको अन्तिम लक्ष्य भनेको ‘वान च्याम्पियनसिप’ सम्म पुग्नेछ । ‘वान च्याम्पियनसिप’ मार्शल आर्टसँग सम्बन्धित प्रतिस्पर्धा हुने संसारकै एक ठूलो ‘प्लेटफर्म’ हो । यो प्रतियोगिता संसारका १९० भन्दा बढी देशको टेलिभिजन च्यानलहरूमा प्रत्यक्ष हेर्न पाइन्छ ।
सिंगापुरमा मुख्यालय रहेको ‘वान च्याम्पियनसिप’मा गुणराजले आफ्नो प्रोफाइल पेस गरिसकेका छन् । मुवा थाई विधामा उक्त प्लेटफर्मका लागि छनोट हुनु नेपाली खेलाडीका लागि फलामको चिउरा चपाउनुसरह छ । तथापी कुनैदिन त्यहाँसम्म पुग्ने उनको सपनामा तगारो भने लागिसकेको छैन । उनको ‘आइडल’ खेलाडी बुवाक बान्चामेक हो । जो थाइ फाइटर हुन् । बान्चामेक ‘वान च्याम्पियनसिप’लगायतका विश्व चर्चित मार्शल आर्ट प्रतियोगिताका ‘नम्बर वान’ खेलाडी हुन् ।
गुणराजलाई उनका बुबाआमाले यो कुटपिट गर्ने खालको खेल छाड्न सुझाव दिए । ‘जति गरिस् त्यसले हाम्रो इज्जत राखिस् हामी खुसी छौँ, अब भने यो छाड भन्नुहुन्छ बुवाआमा’, गुणराजले भने, ‘तर मलाई अहिले नै यो खेल छोड्ने इच्छा छैन ।’ नेपालमा अझै मुवा थाई खेलेरै व्यावसायिक बन्ने अवस्था छैन ।’ अन्तर्राष्ट्रिय चर्चित प्रतियोगितामा सहभागी हुनसके मात्र दाम कमाउन सकिने उनको भनाइ छ ।
संसारमा मार्सल आर्टका चर्चित खेलाडी हङकङ ब्रुस ली हुन् या अमेरिकाका बक्सर मुहम्मद अलि जसले ‘फाइट’ खेलेरै आफू मात्र प्रसिद्ध भएनन्, देशलाई समेत चिनाए । यसरी नै गुणराजले पनि देशको प्रतिनिधित्व गर्दै कुनै दिन नेपाललाई चिनाउने सपना बोकेका छन् । उनी भन्छन्, ‘मेरो रगतमा मुवा थाई छ, मैले खेल्दा देशकै लागि खेल्नेछु ।’
प्रतिक्रिया