११ वर्षीया बालिका ७ दिनदेखि बेपत्ता

जनकपुरधाम । महोत्तरीको गौशाला नगरपालिकामा ११ वर्षीया बालिका ७ दिनदेखि बेपत्ता भएकी छन् ।

गत बिहीबार गौशाला बजारमा किनमेल गर्न गएका बेला कृतिकुमारी महतो बेपत्ता भएकी हुन् ।

वडा–२ निगौल बस्ने महतो र सोही वडामा बस्ने १९ वर्षीय आकाश कुशवाहा एकैदिन बेपत्ता भएपछि बालिकाको परिवारले कुशवाहाले नै बेपत्ता बनाएको हुन सक्ने आशंका गरेका छन् ।

यसैको आधारमा कुशवाहामाथि बेपत्ता बालिकाको परिवारले किटानी जाहेरीसमेत दिएका छन् । ‘आफन्त र केही सुराकीको आधारमा छोरीलाई कुशवाहाले लिएर गएको थाहा पाएका छाँै’, कृतिकाका बुबा सञ्जयकुमार महतोले भने, ‘उमेर नै नपुगेकी ११ वर्षीय छोरीलाई अपहरण शैलीमा भगाएपछि अहिले प्रहरीलाई खोजी गरेर भगाउने कुशवाहालाई कारबाहीको माग गरेका हौँ ।’

बालिका कहाँ छिन् भन्ने विषयमा मोबाइल फोनसमेत प्रहरीले ट्रयाकिङ गरेको छ । ट्रयाकिङको आधारमा ठाउँ पहिचान गर्दा बालिका आशंका गरिएका कुशवाहाको आफन्तकोमा रहेको प्रमाणित भएको बेपत्ता बालिकाका परिवारजनले वताए ।

‘हामी प्रहरीले दिएको जानकारीअनुसार सर्लाहीस्थित भक्तिपुरमा पुग्यौँ त्यहाँ कुशवाहाका सानिमा देवकली महतोको घरमा रहेको थाहा पायाँै’, बेपत्ता बालिकाका मामा देवनारायण महतोले भने, ‘त्यसपछि उनीहरूले हामी खोजीरहेको थाहा पाएपछि कुशवाहाको हजुरबुबा प्रभु महतोको घरमा पु¥याएकोसम्म थाहा पाएका थियौँ तर अहिले हाम्री भान्जी कहाँ छिन् भन्ने केही थाहा छैन ।’

प्रहरीलाई जाहेरी दिएको ५ दिन बितिसक्दा पनि खोजविनमा सुस्तता देखिएको भन्दै आफन्तहरूले गुनासो गरेका छन् । यता प्रहरीले भने खोजविन प्रक्रियालाई तीव्रता दिएको र यसका लागि संयन्त्रहरूसमेत प्रयोग गरिरहेको दावी गरेको छ ।

इलाका प्रहरी कार्यालय गौशालाका कार्यालय प्रमुख सूर्यबहादुर राणाले मोबाइल फोन ट्रयाकिङ गरेर थप खोजी भइरहेको बताए । उनले भने, ‘हामी लागिरहेका छौँ, सर्लाहीस्थित भक्तिपुरमा केटाका आफन्तहरू थुप्रै रहेछन् हामीले घरघरमा पुगेरसमेत खोजी कार्यलाई तीव्र बनाएका छौँ ।’

यता बालिका बेपत्ताको विषयलाई लिएर मानवअधिकारवादीहरूले समेत ध्यानाकर्षण जनाएका छन् । मानवअधिकारवादी सम्बद्व संस्था मधेस प्रदेश प्रमुख मञ्जु खतिवडाले बालिका बेपत्तालाई लिएर आफूहरूको ध्यानाकर्षण भएको बताएकी छन् । ‘उमेर नपुगेकी बालिकालाई भगाउनु भनेको अपहरण गरेको जस्तै हो । अब अपहरण मुद्दामा बालिकाका आफन्त अगाडि बढ्नुपर्छ’, बेपत्ता भान्जीको विषयमा माइती नेपाललाई समेत उजुरी दिएको मामा देवनारायण महतोले जानकारी दिए ।

प्रतिक्रिया