वीरगन्ज । चिनियाँ कम्पनीले विकासको नाममा मधेसको लाइफ लाइनमा सिरहा सप्तरी जिल्लाको महेन्द्र राजमार्ग बनाउने बहानामा नियमित हिसाबले चुरे पहाडको विनाश गर्दै आइरहेकाले शुक्रबार अमलेखगन्जमा चुरे तथा वनजंगल संरक्षण अभियानद्वारा चिनियाँ कम्पनीविरुद्ध विभिन्न नाराका साथ विरोध प्रर्दशन गरेका छन् ।
चिनियाँ हस्तक्षेप बन्द गर, बिआरआई परियोजना खारेज गर, नेपालमाथिको अनावश्यक चिनियाँ हस्तक्षेप बन्द गर, राष्ट्रिय स्वाधिनता कायम गर भन्ने विभिन्न नाराका साथ जुलुस निकाली अमलेखगन्जको प्रहरीचौकीदेखि नेपाल आयल निगममा आई कोणसभामा परिणत भएको थियो ।
सो विरोध प्रदर्शनमा चुरे तथा वनजंगल संरक्षण अभियानका केन्द्रीय सदस्य भुलावन पासवानले चुरेलाई उत्खनन गरी विनाश गर्दै आइरहेको, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाई प्रत्येक नेपालीमाथि जबरजस्ती ऋण थुपारेको, चिनियाँ राणनीतिक तथा विकासको नाममा भुमरीको जालोमा फसाउँदै आएको आरोप लगाएका छन् ।
‘केही दिनअगाडि सिराहा डिभिजन वन कार्यालयले अवैध रूपमा उत्खनन् गर्दै आएका चिनियाँ कम्पनी (श्री चाइना रेलवे नं. २ इन्जिनियरिङ ग्रुप कम्पनी लि. काठमाडांैका स्काभेटर, टिपर तथा चिनियाँ नागरिक पक्राउ गरी जिल्ला अदालत सिराहाले मुद्दा चलाएको छ । सो मुद्दा विचाराधीन रहेको र तराई मधेसमा चिनियाँ विस्तारवादीविरुद्ध हाम्रो सदैव अभियान जारी राख्ने र मधेसलाई मरुभूमि हुनबाट जोगाउन सम्पूर्ण मधेसी तथा नेपाली दाजुभाइ एकजुट भई विकासको नाममा विनाश गर्दै आएका चिनियाँ र चिनियाँ कम्पनीविरुद्ध विरोध गर्न आग्रह गर्दछु’, उनले आफ्नो मन्तव्यमा भनेका छन् ।
चीनले विभिन्न चरणमा नेपाली भूमि मिच्दै आएको र चिनियाँ कम्पनीद्वारा देशको विभिन्न ठाउँमा विकासको नाममा विनाश गर्दै आएको जस्तै नारायणगढ–बुटवल सडक खण्ड, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, महेन्द्र राजमार्ग विकासको नाममा चुरे दोहनलगायत बारे पासवानले आफ्नो मन्तव्य राखेका थिए ।
सो कार्यक्रममा अभियानका अभियन्ताहरू पुनदेव चौधरी, सुनिल भान्जा, चित्रलेखा चौधरी, सुनिल कुशवाहा, सुभाष यादव र पार्वती नेपाललगायत विभिन्न पार्टीका नेता तथा कार्यकर्ता, विद्यार्थी तथा स्थानीय, समाजसेवीको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया