जनकपुरधाम । मधेस प्रदेशमा बालश्रमिकको अवस्था भयावह रहेको छ । मधेसमा विद्यालय पहुँचभन्दा बाहिर रहेका करिब पौने २ लाखभन्दा बढी बालबालिकाहरू बालश्रममा रहेको पाइएको छ ।
प्रदेशका अधिकांश जिल्लाहरूमा विद्यालय पहुँचभन्दा बाहिर रहेका ५ वर्षदेखि १७ वर्ष उमेर समूहका वालश्रमिकको संख्या १ लाख ७२ हजार रहेको पाइएको हो । आसमान नेपालले मधेस प्रदेशका सञ्चारकर्मीहरूसँग जनकपुरधाममा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा मधेस प्रदेशमा रहेका बाल श्रमिकको सो तथ्यांक सार्वजनिक गरेको हो ।
बालश्रमिकहरू मध्ये सहरी क्षेत्रमा मात्र १२ दशमलव ४ प्रतिशत रहेका छन् भने ग्रामीण क्षेत्रमा बाल श्रमिकको संख्या तुलनात्मक रूपमा कम अर्थात् ९ दशमलव ८ प्रतिशत रहेका बालश्रम बारे कार्यपत्र प्रस्तुत गर्दै आसमानमा सुनुवाईका परियोजना संयोजक दीपेन्द्र तिवारीले जानकारी दिए । गरिबी तथा अशिक्षाका कारणले वालश्रमिक मध्ये ३ दशमलव ४ प्रतिशत अर्थात् ५० हजार ९३२ जना बालश्रमिकहरू जेखिमपूर्ण कार्यमा संलग्न रहेका छन् । सबै बालबालिकाहरूलाई दिउँसोको समयमा विद्यालय पठाउन सकेको खण्डमा वालश्रमिकको संख्यामा आफैँ कमी आउने भएकाले यसतर्फ सम्बद्ध सबै निकाय लाग्न जरुरी रहेको उनले बताए ।
मधेस प्रदेशमा विद्यालय बाहिर भएका २१ प्रतिशत बालबालिकाहरूलाई विद्यालय पठाउन सकेको खण्डमा बाल श्रमिकको संख्यामा आफैँ कमी आउने आसमान नेपालका कार्यक्रम व्यवस्थापक मनिराम आचार्यले जानकारी दिए ।
मधेस प्रदेशका जिल्लाहरूमा विद्यालय जाने उमेर समूहका बालबालिकाको संख्या १४ लाख ९८ हजार रहेको जानकारी दिँदै बालश्रममा लागेकाहरूलाई कसरी विद्यालय पठाउने त्यो चुनौतीपूर्ण रहेको आसमानका सुशासन सल्लाहकार एवं पूर्व स्थानीय विकास अधिकारी गुरु सुवेदीले जानकारी दिए ।
उनले बालश्रममा कमी ल्याउनका लागि बालमैत्री स्थानीय शासन आवश्यक भएको बताउँदै त्यसका लागि योजना सहितको बालबालिकाको क्षेत्रमा लगानी गर्न जरुरी रहेको बताए ।
नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष राजेश कुमार कर्णले बालमैत्री शासन तथा बालश्रममा कमी ल्याउनका यसमा नै कलम चलाउँदै आएको पत्रकारहरूलाई थप प्रोत्साहित गर्न आसमान नेपालजस्तो संस्थाहरूले सोच्न जरुरी रहेको बताए । आसमानका मधेस प्रदेशका संयोजक खिलानाथ निरौलाले जोखिमपूर्ण श्रमसहित अन्य श्रममा लागेका बालबालिकाहरूलाई विद्यालय पठाउन जरुरी रहेको बताएका थिए ।
विद्यार्थीको उमेर बढेसँगै विद्यालय भर्ना दर घट्दै
मधेस प्रदेशका जिल्लाहरूमा पूर्व प्राथमिक कक्षा भर्ना भएका विद्यार्थीहरूको संख्या उच्च भए पनि त्यसपछिको कक्षामा घट्ने गरेको तथ्यांक रहेको छ ।
पूर्व प्राथमिक तहमा भर्नाका लागि ३ देखि ४ वर्षका बालबालिकाहरू आउने गरेका छन् । नेपालमा यो उमेर समूहका बालबालिकाको भर्ना प्रतिशत ९४ दशमलव ९ प्रतिशत रहे पनि मधेश प्रदेशमा ९९ दशमलव ४ प्रतिशत रहेको छ ।
यो उमेर समूहका विद्यार्थी भर्नामा मधेस प्रदेश अग्र स्थानमा भए पनि त्यसपछि विद्यार्थीहरूको भर्ना दर घट्ने गरेको मधेस प्रदेशका शिक्षा तथा संस्कृति मन्त्रालयका निमित्त सचिव महेन्द्र महतोले जानकारी दिएका छन् ।
विद्यार्थीहरू ठूलो भएपछि अभिभावकले अन्य काममा प्रयोग गर्ने भएका कारणले विद्यार्थीहरूको विद्यालय भर्ना हुने क्रममा कमी आउने गरेको छ । ४ वर्ष उमेर समूहमाथि भर्ना हुने प्रारम्भिक वाल विकास तथा शिक्षा केन्द्रमा राष्ट्रिय स्तरमा विद्यालय भर्ना हुने प्रतिशत ७० दशमलव ५ रहेको छ भने मधेस प्रदेशमा ६८ दशमलव २ प्रतिशत रहेको छ । यो भर्ना दर पनि सातै प्रदेशभन्दा मधेस प्रदेशमा न्यून रहेको छ ।
यसैगरी कक्षा १ मा भर्ना हुनेको प्रतिशत मधेस ६२ दशमलव ५ प्रतिशत रहेको छ भने राष्ट्रिय स्तरमा भर्ना हुने प्रतिशत ७६ दशमलव ७३ प्रतिशत रहेको छ । कक्षा १ मा मधेस प्रदेशमा भर्ना हुने प्रतिशत पनि सातै प्रदेशमा सबैभन्दा न्यून रहेको छ ।
प्रतिक्रिया