सडक निर्माण कार्यले गति नलिँदा सर्वसाधारण समस्यामा

राजविराज । सप्तरीको पूर्व–पश्चिम राजमार्गको कन्चनपुर– कमला सडक योजनाको निर्माण कार्यले गति नलिँदा सर्वसाधारणलाई समस्या भएको छ । लामो समयदेखि सडक भत्काएर अलपत्र अवस्थामा छोड्दा सडक आसपासका बासिन्दाले हिँडडुल गर्न समस्या भएको हो ।

सडक निर्माण कार्यले पानीको निकास रोकिँदा वर्षायाममा बाढी घरभित्र पसेर ठूलो समस्या खेप्नुपरेको पीडितहरूको दुःखेसो छ । पानीको वैकल्पिक निकासविनै वर्षांैदेखि सडक खनेर अलपत्र अवस्थामा राख्दा सडक आसपासका बासिन्दा बढी मर्कामा परेको साविक तेरहौता गाविसका अध्यक्ष दीपक कुमार चौधरीले बताए ।

सडक निर्माणको क्रममा ढलनिकासका लागि निर्माण गरिएको नालाहरू पुरिएर पानीको निकास ठप्प हुँदा घरभित्र बाढी बग्ने गरेको पीडितहरू बताउँछन् ।
निर्माण कम्पनी र प्राविधिक पक्ष हेर्ने इन्जिनियरको लापरबाहीले आफूहरू मारमा परेको पीडितहरूको गुनासो छ । दुबैपक्षको कमाउने दाउले सडक निर्माण कार्य सुस्त गतिमा भइरहेको स्थानीयको आरोप छ ।
निर्माण कम्पनीले प्राविधिक पक्षलाई खुसी पार्न भोजभतेरदेखि मोटो कमिसन बुझाउँदासमेत काममा असहयोग हुँदा कामले गति लिन नसकिरहेको स्रोतको दावी छ ।
सडक निर्माण कार्यले तीव्रता नलिँदा हिउँदमा धुलो र वर्षामा बाढी तथा हिलोको मार खेप्नुपरेको अग्नीसाइर कृष्णासवरन गाउँपलिका–२ का बैजु माझीले बताए ।
सडक निर्माणले पूर्णता नपाउँदा सवारी साधन आवतजावतमा समस्या हुने गरेको उनले जानकारी दिए । सडकका कारण सडक आसपासका बासिन्दा मारमा परेका छन् नै सार्वजनिक तथा निजी सवारी साधनमा यात्रा गर्नेहरूले झनै ठूलो सास्ती खेप्नुपरेको उनले बताए ।

सडक निर्माणको कार्य ४ वर्ष अगाडिदेखि सुरु गरिए पनि अहिलेसम्म ५० प्रतिशत मात्र काम भएको सडक डिभिजन कार्यालय लहानले जनाएको छ ।
कंचनपुर–कमला सडक योजनाको ठेक्का चाइना रेल्वे नम्बर २ इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेडले लिएका छन् भने परामर्शदाता कुनुवाहा इन्जिनियरिङ कन्सल्टेसिङ प्रालि (साउथ कोरिया) इन ज्वाइन्ट इन्टरमेन्ट विसिएल एसोसिएसन ( बंगलादेश) र एसोसिएसन विट प्रालि नेपाल रहेको छ ।

सडक निर्माणको कार्यको थालनी २०२० अक्टोबर २९ देखि सुरु भई २०२३ अक्टोबर २८ सम्म सक्नुपर्ने भए पनि समयमा काम सम्पन्न नभएपछि पुनः १४ महिना म्याद थप गरी २०२४ डिसेम्बर २८ सम्म पु¥याइएको सडक डिभिजन कार्यालय लहानले जनाएको छ ।

करिब ४ महिना मात्र समयावधि रहँदा कन्चनपुर–कमला सडक योजना पूर्वी खण्डअन्तर्गत कन्चनपुरदेखि कुसाहासम्मको ३९ दशमलव ४२ किमिको निर्माण कार्य ५१ दशमलव ५ प्रतिशत तथा कुशाहा–कमला पश्चिम खण्डको ५५ प्रतिशत काम सम्पन्न भएको बताइएको छ ।

वर्षा हुनासाथ निर्माण कार्य ठप्प पारिने भएकोले सडक योजनाको काम अझै वर्षौंवर्ष लाग्न सक्ने आयोजना पीडितहरूले जानकारी दिए ।

प्रतिक्रिया