जनकपुरधाम । सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा पूर्वप्रदेश सांसद कौशल यादव पुर्पक्षका लागि जेल चलान भएका छन् ।
जिल्ला अदालत महोत्तरीले उनलाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो । जिल्ला अदालत महोत्तरीका न्यायाधीश फनेश्वरी घिमिरेको इजलाशले यादवलाई कर्तव्य ज्यान मुद्दामा थुनामा राख्ने र आगजनी मुद्दामा ५ हजार धरौटी राख्ने आदेश दिएको स्रेस्तेदार नुतन झाले जानकारी दिइन् ।
लामो समयदेखि फरार रहेका यादवलाई शनिबार राति महोत्तरीको साम्सी गाउँपालिका–५ पोखरीभण्डाबाट पक्राउ गरी आइतबार अदालतमा पेस गरिएको थियो । असई विकको हत्या आरोपमा पूर्वसांसद यादवको हकमा मुद्दा मुल्तबीमा राखिएको थियो । सोमबारदेखि उनको पक्षविपक्षमा थुनछेक बहस भएको थियो ।
उनी २०७४ सालमा तत्कालीन संघीय समाजवादी फोरमबाट महोत्तरी क्षेत्र नं. ४ (क) मा प्रदेश सांसद निर्वाचित भएका थिए ।
महोत्तरी जिल्ला अदालतले २८ मंसिरमा असई थमन विक हत्या प्रकरणमा लोसपा मधेस प्रदेश संसदीय दलका नेता अभिराम शर्मासहित ७ जनालाई जन्मकैदको सजाय सुनाएको थियो ।
एमाले प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो र पुर्पक्षका लागि थुनामा रहेका पवन कापरले सफाइ पाएका थिए । यादवसहित १९ जनाको मुद्दा मुल्तबीमा राखिएको थियो । मधेस आन्दोलनका क्रममा २५ भदौ २०७२ मा महोत्तरीमा सशस्त्र प्रहरी बलका असई थमन विकको हत्या भएको थियो । उक्त मुद्दामा २८ साउन २०७५ मा महोत्तरी जिल्ला अदालतमा २८ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो ।
प्रतिक्रिया