‘माओवादी धुन्धुकारि शक्ति’

bishnu-poudelगुल्मी, २० फागुन । एमाले सचिव विष्णु पौडेलले प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार गठन गरेर देशलाई निकास दिनुपर्ने बताएका छन् । बाबुराम सरकारको बहिर्गमन गरी संविधानसभाको नयाँ चुनावको सुनिश्चितताका लागि भए पनि प्रधानन्यायाधीश नेतृत्वको सरकार आवश्यक रहेको पौडेलको भनाइ छ ।

तम्घासमा शनिबार एमाले गुल्मीको दसौँ जिल्ला अधिवेशनमा नेता पौडेलले एमाओवादी पानीको थोपा नभई पानीको फोका भएको बताए । ‘माओवादी पानीको थोपा होइन फोका हो, गएको संविधानसभा चुनावमा चिटिङ गरेर माओवादी पहिलो शक्ति बनेको हो,’ पौडेलले भने, ‘जनताले बुझिसके कि अब माओवादी सदासदाका निम्ति पतन भएर जान्छ ।’
उनले एमाओवादी हर्कतलाई बाइपास गरेर देशलाई नयाँ उचाइमा पुर्‍याउनुपर्ने धारणासमेत व्यक्त गरे । ‘विगतको संविधानसभाको चुनावमा माओवादीजस्तो धुन्धुकारि शक्ति पहिलो शक्तिका रूपमा स्थापित भयो त्यसैले संविधानसभाको अवशान भयो,’ उनले भने, ‘अहिलेको अन्तरिम संविधानले हाम्रो विद्यमान समस्या समाधान गर्न सक्दैन । अब नयाँ चुनावमा जानुको विकल्प छैन, माओवादी हर्कतका कारण एक युगमा एकपटक हुने संविधानसभाको चुनाव फेरि गर्नुपर्ने बाध्यता छ ।’
उनले बाधा अड्काउ फुकाएर देशलाई निकास दिनुको विकल्प नरहेको उल्लेख गर्दै अब संविधानसभाको चुनावबाट कसैले पनि पन्छाउन नसक्ने ठोकुवा गरे । ‘अब चुनाव हुनैपर्छ र यो कसैले पनि रोक्न सक्ने छैन’ उनले भने, ‘जेठमा नभए पनि कात्तिक–मंसिरसम्ममा चुनाव भएरै छोड्छ ।’

प्रतिक्रिया