बारा । ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्वसम्बन्धी ‘हाम्रो विकास प्रवद्र्धन कोष’ बाट बाराको जितपुर स्वास्थ्यचौकी एवं बर्थिङ सेन्टरलाई १ थान बेबी वार्मर प्रदान गरेको छ । जितपुर स्वास्थ्यचौकीमा आयोजित कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्र र ज्योति विकास बैंकद्वारा संयुक्तरूपमा सो बेबी वार्मर प्रदान गरिएको हो । बेबी वार्मरले नवजात शिशुको शारीरिक तापक्रम उचित बनाई राख्न सहयोग गर्दछ ।
जितपुर स्वास्थ्य केन्द्रमा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका मार्केटिङ ब्रान्डिङ एन्ड कर्पोरेटका हेड कुशलजंग अधिकारी, ज्योति विकास बैंक सिमरा शाखा प्रमुख भरत आचार्य, ज्योति विकास बैंक सिमराका कर्जा शाखा प्रमुख निरजकान्त झा र राष्ट्रिय आविष्कार केन्द्रका इलेक्ट्रिक इन्जिनियर महिन केशीद्वारा संयुक्त रूपमा जितपुर स्वास्थ्यचौकीका कार्यालय प्रमुख डा.सुजल अधिकारी र जितपुर स्वास्थ्यचौकीका अध्यक्ष एवं वडाध्यक्ष सुनिलकुमार गुप्तालाई सो बेबी वार्मर औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो ।
नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मरबाट प्रसूति सेवा लिन आउने प्रत्यक्षरूपमा लाभान्वित हुनेछन् । नेपाली समाजमा स्थानीय तहमा सुषुप्त रूपमा रहेका सम्भावनाहरूको पहिचान गरी त्यस्ता सम्भावनाहरूलाई उजागर गर्नका लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित हाम्रो विकास प्रवद्र्धन कोषमार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरूसँग प्रत्यक्ष रूपमा जोडिएर सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यहरू गर्दै आएको र सोहीअनुसार जितपुर स्वास्थ्यचौकीलाई बेबी वार्मर हस्तान्तरण गरिएको ज्योति विकास बैंकका कुशलजंग अधिकारीले बताए ।
अहिलेसम्म ज्योति विकास बैंकले समाजिक उत्तरदायित्व अनुसार देशको विभिन्न स्थानमा ४५ थान बेबी वार्मर हस्तान्तरण गरिएको समेत अधिकारीले बताए ।
बेबी वार्मर हस्तान्तरण कार्यक्रममा बोल्दै मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरीले नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मरबाट जितपुर स्वास्थ्यचौकीमा प्रसूति सेवा लिन आउने प्रत्यक्ष रूपमा लाभान्वित हुने बताए । जितपुर स्वास्थ्यचौकिलाई ज्योति विकास बैंक र राष्ट्रिय आविष्कार केन्द्रले बेबी वार्मर हस्तान्तरण गरेको उनले दुबै संस्थालाई धन्यवाद ज्ञापन गरे ।
बेबी वार्मर हस्तान्तरण कार्यक्रममै बोल्दै जितपुरसिमरा उपमहानगरपालिका–७ का वडाध्यक्ष सुनीलकुमार गुप्ताले जितपुरसिमरा उपमहानगरमा ज्योति विकास बैंकले जितपुर स्वास्थ्यचौकीलाई नै छनौट गरेर बेबी वार्मर हस्तान्तरण गरेकोमा हामी धेरै खुसी रहेको बताए । जितपुर स्वास्थ्यचौकीमा उपमहानगरमै सबैभन्दा बढी शिशुको जन्म हुने बर्थिङ सेन्टर रहेको तर उपमहानगरले गर्न नसकेको काम ज्योति विकास बैंकले गरेकोमा आफू धेरै खुसी रहेको वडाध्यक्ष गुप्ताले बताए । उक्त बेबी वार्मर हस्तान्तरण कार्यक्रममा जितपुरसिमरा उपमहानगरपालिका–७ कि वडा सदस्य सीता उप्रेती, वडा सदस्य ललितादेवी पासवान वडा सदस्य नवीन मैनाली, समाजसेवी अनिल गुप्तालगायत जितपुर स्वास्थ्यचौकीका कर्मचारीहरूको उपस्थिति रहेको थियो भने कार्यक्रम सञ्चालन जाहिद हुसेन देवानले गरेको थियो ।
बारा
प्रतिक्रिया