ओछ्यान, पुस्तक र सम्भोग

Kumar-Nagarkotiप्रिय इज्मेराल्दा,
वास्तुशास्त्रमा ओछ्यानको सुन्दर चर्चा/परिचर्चा हामी पाउँछौँ । उत्तर–दक्षिण दिशा उपयुक्त कोण हो । ओछ्यानमाथि रंगको घनीभूत उपस्थितिले पनि अत्यधिक स्थान पाउँछ वास्तुविज्ञान/फेइङ सुई इत्यादिमा ।
Interior designing मा पनि शयन कक्ष एवं ओछ्यानको सौन्दर्य एवं ‘लुक्स’ लाई विषेश महत्त्व दिइन्छ । धेरै सुन्दर ओछ्यानहरू मैले/तिमीले देखेका छौँ । ‘ओछ्यान’ शीर्षकमाथि कोरिएका सुन्दर कविता/कला/चित्र/स्केचहरू हेरेका छौँ । संग्रहालयमा राजा/महाराजाका ओछ्यान विषेश महत्त्वका साथ प्रदर्शनीमा राखिएका हुन्छन् ।
एउटा नबिझाउने मुलायम सिरानी/सेतो रंगको भुवादार सिरक । नौनीझैँ कोमल डस्ना अनि त्यसमाथि सुकिलो तन्ना ओछ्यानका आधारभूत सामग्री हुन्, जसले इज्मेराल्दा तिम्रो निद्रा एवं स्वप्नलाई असीम सम्मान दिन्छन् ।
प्रिय इज्मेराल्दा,
आजको यो डायरी नोट हेर न, तिमीलाई सम्बोधन गरी लेखिरहेछु । आज दिनभर ओछ्यानमा ढली घानाका लेखक विलियम बोयड्को ‘एनि ह्युमन हार्ट’ उपन्यास पढेँ । साँझ यसबखत अनायास तिम्रो अपुरस्कृत याद आइदियो । ओछ्यानमै यो सन्ध्याकालीन डायरी लेख्दै छु । प्रिय इज्मी † मलाई नयाँ तन्ना किन्नु छ । एउटा कालो रंगको साधारण तन्ना सम्भवत: मंगलबजारमा किन्नेछु, जसले मेरो सेतो रंगको सिरकको खोलसित ट्युनिङ/म्याच गरोस् : श्याम/स्वेत रंग–
र, म सिरानीको खोल पनि नयाँ लिनेछु/पहेँलो रंगको । धेरै भयो, आजकाल भोलाजी देखिएका छैनन् । उनी कालीमाटी बस्छन् र दिनभर आफ्नो पुरानो साइकलमा कपडाका चाङ राखी बेच्दै हिँड्छन् । १५ वर्षदेखि वस्त्रहरू बेचिरहेछन् भोलाजी । उधारोमा पनि बेच्छन् । मलाई रवीन्द्रनाथ टैगोरको पात्र ‘काबुलीवाला’झैँ लाग्छ । तर, उनी काबुलका होइनन्/हाम्रा तराई प्रदेशका ‘भोलाजी’, जसलाई मैले लु:खुसीको चियालयमा मित्रता गाँसेको थिएँ ।
प्रिय इज्मी,
भोलाजी आजकल दैखिँदैनन् । नत्र, उनीसितै किन्ने थिएँ, कालो तन्ना र पहेँलो रंगको सिरानी खोल ।
प्रिय,
ओछ्यानको चर्चा आज मैले अनायास यसरी गर्नुपर्‍यो । आजको शनिबार मैले ओछ्यानमै बिताएँ । नुहाइनँ । दाह्री काटिनँ । खाना बनाएर खाइनँ । दाँत माझिनँ । कपाल कोरिनँ । कविता नलेखेको युगौं भयो । ओछ्यानमै ढलेर विलियम बोयड्सित बीसौं शताब्दीको फ्रान्स/लन्डन एवं कला संग्रहालयतिर डुलेँ । अब, एउटा सिगरेट सल्काउँछु । पख, हतार नै के छ र †
वस्तुत: ओछ्यान एउटा खतरनाक ठाउँ/प्रदेश हो, जहाँ अधिकांश मानिस मर्छन् ।
मेरो बुबा पनि ओछ्यानमै मर्नुभएको होइन र ? म स्वयं पनि ओछ्यानमै जन्मेको थिएँ भन्ने कुरा आमाको संस्मरणहरूमा कहिलेकाहीँ भेट्ने गर्छु ।
कैयौं प्रिय मानिसहरू बाटोघाटो, पार्क इत्यादि ठाउँमा मर्छन् । कोही जंगलमा मर्छन् । कोही मधुशालामा/कोही क्याफेको कर्नर टेबलमा । कोही युद्धभूमिमा मरिदिन्छन् । कोही चर्चमा मर्छन् । कोही गुम्बामा तथा कोही मस्जिदजस्ता धार्मिक इलाकामा मरिदिन्छन्–
म सम्भवत: ओछ्यानमा मर्नेछु ।
यहाँ सायद ओछ्यानको शिलालेख कुँदिरहेछु म । परमहंस रामकृष्ण सुत्ने गरेको ओछ्यान प्लस कार्ल माक्र्स प्लस माओवादीका चेयरपर्सन प्रचण्ड सुत्ने गरेको ओछ्यानमा कुनै तात्विक भिन्नता देख्दिनँ ।
मेरा पिता पुर्खाहरूले ओछ्यानमा सम्भोग गरे र करोडौं सन्तान उत्पादन गरे । तिम्रो यस जन्मको प्रामाणिक अस्तित्वको सुरुआत पनि ओछ्यानमै भएको होइन र ? तिम्रो पिताको शुक्रकीट प्लस आमाको पाठेघरमा तिमी नजानिँदो किसिमले आरोपित भएकी थियौ ।
वास्तवमा प्रिय, संसारको सर्वोत्तम ओछ्यान आमाको मुलायम पाठेघर प्लस काखबाहेक अरू के होला ?
ओछ्यान सर्वोत्कृष्ट मानवीय आविष्कार हो । निजी जीवनको गुप्त इलाका पनि । ओछ्यानमा महात्मा गान्धी हस्तमैथुन गर्छ या दक्षिण अफ्रिकामा उसले गुमाएको युवाकाल सम्झन्छ । तर, यी

कुराहरू सार्वजनिक महत्त्वका होइनन् । आफ्नो प्राइभेट ओछ्यानमा स्पिनोजा/साइबाबा/सलमा हायक/निकोल किडम्यान/स्वामी मुक्तानन्द/युजी कृष्णमूर्ति प्लस जे कृष्णमूर्ति/ओशो अनि महाश्वेतादेवीहरू के गर्छन्, सार्वजनिक विषय होइनन् ।
आफ्नो क्युबिस्ट ओछ्यानमा पिकासोले अनेक चित्राकिंत स्वप्नहरू देखेको थियो । स्पिलवर्गले सम्भवत: ओछ्यानमै ‘सेभिङ प्राइभेट र्‍यान’ स्वप्नवत् दृश्य देखेको थियो । अलिफा कुटुरे प्लस नवाङ खेचवालाई ओछ्यानमै संगीतहरूले हिप्नोटाइज गरेका थिए । विकलांग स्टेफेन हकिन्सलाई सायद ओछ्यानले नै पहिलोपटक ‘ब्रिफ हिस्ट्री अफ टाइम’ नामक लोरी सुम्पिएको थियो ।
प्रिय इज्मेराल्दा,
ओछ्यानमा मैले सुन्दर क्षण/उत्सव पाएको छु । ईश्वरलाई धन्यवाद † मैले जीवनका सुन्दर सम्भोगहरू ओछ्यानमै गरेको छु । सोफा, भुइँ इत्यादि स्थान अपवाद भइगए । सुन्दर ओठ चुम्बन, काव्य चुम्बन मैले ओछ्यानमै महसुस गर्ने सौभाग्य पाएँ । हजारौं पुस्तक ओछ्यानमै पढेँ ।
लाइब्रेरी/क्याफे/ट्याक्सी एवं नगर बसमा पढिएका पुस्तक अपवाद हुन सक्छन् । कविताहरू ओछ्यानमा लेखेँ । कथाहरू, डायरी नोटहरू ओछ्यानमै लेखिरहेछु ।
दम्पतीहरूको सामूहिक भविष्यको ‘ब्यालेन्स सिट’ ओछ्यानमै हुन्छ । ससाना छोराछोरी सुतिसकेपछि आफ्नो परिवार/संसार प्लस सन्तानको भविष्यबारे मातापिता लामो घरेलु चर्चा गर्छन् :
आमा : छोराको ‘भूगोल’ किताब च्यातिएको छ ।
बुबा : अस्ति तिमीलाई ‘घर खर्च’ चलाउन पैसा दिएको थिएँ । केही पैसा बाँकी होला ?
आमा : अलिअलि बाँकी छ । किन सोध्नुभा’को ?
बुबा : त्यसै, अनायासै । पर्सि छोराको जन्मदिन होइन ?
आमा : हो त † कस्तो बिर्सेको मैले † घरको काम, धन्दा गर्दागर्दै म सखाप हुने भएँ । पर्सि हाम्रो छोराको जन्मदिन † कस्तो भुलेको मैले…।
बुबा : घर खर्चबाट अलिकति पैसा दिन सक्छौ कि मलाई † उसलाई एउटा सुन्दर ‘पुस्तक’ उपहार दिउँm कि भनेर ।
आमा : मलाई पनि उसलाई एउटा ‘फूल’ उपहार दिनु थियो ।
बुबा : हाम्रो सन्तानलाई ‘पुस्तक’ प्लस ‘फूल’ सुन्दर उपहार हुनेछ । खै, पैसा देऊ । भोलि नै म पुस्तक र फूलहरू किन्नेछु । विवाह भएको यत्रो वर्ष भयो, तिमीलाई एउटा सुन्दर सारी पनि किन्न सकिनँ…।
आमा : तपाईंको कोट पनि त पुरानो भइसक्यो…।
प्रिय इज्मेराल्दा,
त्यसपछि आमाबाबु अंकमाल गरी सुत्छन् । छोराले उसको आगामी जन्मदिनको उपहारमा पुस्तक र फूल पाउने भयो भनी आमा प्लस बुबा ‘ओछ्यान’मा कोल्टे फेरी निदाउँछन् ।
ओछ्यान सम्भोगको क्रीडास्थल मात्र होइन । जन्म एवं जीवनको क्रीडास्थल पनि हो । ओछ्यान एउटा मरूद्यान हो, पार्क हो र हरेक मानिसको जन्मको कारण पनि ।
ओछ्यान सायद एउटा आरामगृह हो, जहाँ मानिसहरू जन्म लिन्छन्, मृत्यु दिन्छन् ।
मानव सभ्यताको विकासूचक हुनुपर्छ–ओछ्यान ।
प्रिय इज्मेराल्दा,
त्यहाँ मैले/तिमीले हजारौं दु:ख/कष्टहरू बिसाएका छौँ । लाखौं सपनाहरू देखेका छौँ । करोडौं सम्भोग गरेका छौँ । अर्बौं पुस्तक पढेका छौँ । ओछ्यानमा तिमी साल/नालसितै जन्मेकी थियौ । त्यहीँ सुतेकी थियौ । त्यहीँ विद्यालयको गृहकार्य गरेकी थियौ । जवानीमा अनेक अद्भूत सपनाहरू देखेकी थियौ । त्यहीँ ओछ्यानमा तिमीले ‘भुँडी’ बोकेकी थियौ कुनै फकिरको/वैज्ञानिको/कविको/संगीतज्ञको/ दार्शनिक एवं बलात्कारीको । ओछ्यानमै तिमीले जीवनका सुन्दर सपना देखेकी छ्यौ । दु:ख, असफलता, पीडामा साथ नदिने मित्र, प्रेमि, संसार इत्यादि सबैलाई छाडी तिमीले ओछ्यानमा ढली परमात्मालाई सम्झेकी छौ ।
ओछ्यानमै,
प्रिय इज्मेराल्दा,
तिमीले पुण्य कमाएकी छौ, पाप कमाएकी छौ ।
प्रिय–
ओछ्यान सर्वोत्कृष्ट स्थान हो जन्मनका लागि । मर्नका लागि ।
आज शनिबार, यसै बित्यो ।
लेख्न, अब बोर लाग्दै छ ।
पर्ख, एउटा अर्को सिगरेट सल्काउँछु ।
साँझको बेला छ । केही समय सायद बिताउनेछु बालकुमारी मन्दिर परिसरमा । त्यहाँ जम्मा भइसकेका होलान् भजन मण्डली । त्यहाँ जानेछु । पहिले त ज्ञानीको पसलबाट एक क्वार्टर घरेलु मदिरा ल्याउनेछु । यो ओछ्यानमा आज निद्रा नपर्न सक्छ । विलियम बोयड् कहाँ छस् ? भोक लागेकै छ । आज काउली, आलु प्लस रातो मुलाको तरकारी बनाउनुपर्ला । भोलि आइतबार सिसिफसको क्रमबद्धता जारी गर्नु नै छ । यो उत्तर आध्यात्मिक सहर काठमाडौंमा दैनिक ओहोरदोहोर गर्नु नै छ । कोठापारिचाहिँ ‘लोडसेडिङ’ छ । अन्धकार ।
माथ्लो तलाबाट एउटा धुन आइरहेछ । ग्यास सिलिन्डर बेचबाच गर्ने गोर्खातिरको ‘गुरुङ’ भाइले बाँसुरी बजाइरहेछ । खुला झ्यालबाट त्यो संगीत बारम्बार मेरो सुख्खा आत्मालाई निमन्त्रण गर्दो छ † मेरो आत्मा छुट्टी मनाउन गएको छ । केवल म छु यो ओछ्यानमा : यो डायरी लेखिरहेको ।
मलाई ‘बाँसुरी’को धुन ‘मुरली’को भन्दा प्रिय लाग्छ । मुरली चिच्याउँछ । बाँसुरीको मद्यिम हृदय निवेदकको के कुरा ?
प्रिय इज्मेराल्दा,
वस्तुत: ओछ्यान एक खतरनाक ठाउँ/प्रदेश हो, जहाँ अधिकांश मान्छे मर्दै आएका छन् ।

प्रतिक्रिया