नेपालकै लामो झोलुंगे पुलमा मोटरसाइकल प्रतिबन्ध

जनकपुरधाम । धनुषाको कमला नदीमा निर्माण गरिएको नेपालकै सबैभन्दा लामो झोलुंगे पुलमा मोटरसाइकल आवतजावतमा प्रतिबन्ध लगाइएको छ । धनुषा र सिरहा जोड्ने दुबै जिल्लाका प्रशासनले कठाल मल्हनिया मल्टीस्पान १ हजार ५०० दशमलव ४४ मिटर लामो झोलुंगे पुलमा मोटरसाइकललाई आवतजावतमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले जानकारी दिए ।

उनका अनुसार सस्पेन्सन बृज डिभिजन कार्यालय पुल्चोक ललितपुरको परिपत्रअनुसार पुलमा मोटरसाइकललाई प्रतिबन्ध लगाइएको छ । त्यहाँबाट शुक्रबार सो पुलमा मोटरसाइकल आवतजावतमा रोक लगाउन हामीलाई र सिरहा प्रशासनलाई पत्राचार भएको छ, उनले भने, ‘सोहीअनुसार पुलमा मोटरसाइकललाई प्रतिबन्ध लगाइएको छ ।

‘पुल दुबै जिल्लामा पर्ने भएकोले यताबाट हामीले रोक लगाउन जिल्ला प्रहरी कार्यालय धनुषालाई शुक्रबारै पत्र लेखिसकेका छौँ’, प्रमुख जिल्ला अधिकारी कडरियाले भने, ‘अब उताबाट सिरहा प्रहरीले पनि रोक्छ होला ।’ धनुषाको जनकनन्दनी गाउँपालिका–६ कठाल र सिरहाको सिरहा नगरपालिका–१३ मल्हनिया जोड्ने यो पुलमा मोटरसाइकललाई प्रतिबन्ध लगाउन बृज डिभिजनले शुक्रबार पत्राचार गरेको थियो ।

पुल नितान्त पैदलयात्रीका लागि मात्रै डिजाइन भएकोले मोटरसाइकल प्रयोगमा प्रतिबन्ध लगाउन बृज डिभिजनले पत्राचार गरेको हो । पुलमा मोटरसाइकल प्रयोग गर्दा त्यसबाट उत्पन्न हुने भाइब्रेसन, इम्प्याक्ट र जर्कको असर पुल डिजाइनमा समावेश नहुने भएकोले मोटरसाइकल प्रयोग गर्दा पुलको संचरनाले नथेग्ने र पुल छिट्टै जीर्ण भई आयु नै घट्न जाने तथा दुर्घटनाको उच्च जोखिमसमेत हुने हुँदा मोटरसाइकल प्रयोगमा प्रतिबन्ध लगाउन व्यवस्था मिलाइदिनुहुन भनी बृज डिभिजनले प्रशासनलाई भनेको छ ।

गत माघ १९ गते सम्झौता अवधिभन्दा ६ महिना अगावै निर्माण सम्पन्न भई सञ्चालनमा आएको पुल यतिबेला पर्यटकीय गन्तव्यको रूपमा स्थापित भइरहेको छ । पुलमा दैनिक ५ हजारभन्दा बढी स्थानीय तथा भारतबाट सर्वसाधारणहरू पुलमा घुम्न आइरहेको पुलको निर्माण कार्यमा स्वयंसेवकका रूपमा खटिएका स्थानीय बिनोद मण्डल बताउँछन् ।

पुलमा चाडपर्वको बेला झन् भिड लाग्ने गरेको छ । गत साता मुस्लिमहरूको पर्व बक्र ईदमा लगातार ३ दिनको भिडभाडको ओभरलोडले पुलमा सामान्य क्षति भएको थियो । कुनै पनि आयोजनाको निर्माण कार्य सम्पन्न हुँदा १ वर्षसम्म ठेकेदारले मर्मत सम्भार गर्नुपर्ने व्यवस्था छ । सोही अनुरूप बुधबार पुलमा क्षति भएपछि बिहीबार ठेकेदार कम्पनीका प्राविधिकले मर्मत गरेको थियो ।
प्रशासनले पुलमा मोटरसाइकललाई रोक लगाएको जानकारी दिए । तर अहिले पनि पुलमा मोटरसाइकल निर्वाध रूपमा चलिरहेको स्थानीय मण्डलले बताए । उनका अनुसार पुलमा अहिलेसम्म कुनै किसिमको रोकावट छैन ।

‘यता पुलमा मोटरसाइकललाई प्रतिबन्ध लगाउने भएपछि दुःखी छन्, जनकनन्दनी गाउँपालिका–५ उदहाका वीरेन्द्र मण्डल । उनी भन्छन्, ‘कमला नदीमा बाढी आएको बेला धनुषा र सिरहाका आमसर्वसाधारणलाई आवतजावत गर्न विकल्पको रूपमा पुल थियो । हामी खुसी थियौँ । अब बन्द हुने भएपछि अप्ठ्यारो हुने भयो ।’ महेन्द्र राजमार्ग भन्दा यता भारतको सीमासम्म कमला नदी वारपार गर्न हुलाकी राजमार्ग अन्तर्गतको कमला पुलको निर्माण कार्य अलपत्र हुँदा केही अघि मात्रै बनेको झोलुंगे पुललाई सर्वसाधारणले आवतजावतका लागि विकल्पका रूपमा लिएका थिए ।

सिरहाबासीलाई मधेस प्रदेशको राजधानी जनकपुरधाम पुग्न यो बाटो निकै सहज छ । उता कमलाको पुल अलपत्र र यता झोलुंगे पुलमा मोटरसाइकलको प्रतिबन्धले फेरि सिरहाका आमसर्वसाधारणलाई ३० किलोमिटरको साटो जनकपुरधाम पुग्न ९० किलोमिटर यात्रा गर्नुपर्ने बाध्यता भएको छ ।यो झोलुंगे पुलको चौडाइ १ दशमलव २ मिटर र भार क्षमता ५४० मेट्रिक टन रहेको छ । यस्तै पुलमा एकपटकमा यात्रीको भार क्षमता ३ हजार ८८६ पैदल यात्रीको छ ।

प्रतिक्रिया