फाइनल ‘अल म्याड्रिड’ हुने

म्याड्रिड : दोस्रो लेग बराबरी भए पनि समग्रमा ४–३ को नतिजासाथ सेभिलालाई हराउँदै एथलेटिको म्याड्रिड स्पेनिस कोपा डेल रेको फाइनल प्रवेश गरेको छ । यसअघि पहिलो सेमिफाइनलमा बार्सिलोनालाई ४–२ को एग्रिगेटले पराजित गर्दै रियल म्याड्रिड फाइनलमा पुगिसकेको छ । यसले गर्दा, प्रतियोगिताको उपाधि भिडन्त राजधानी म्याड्रिडको फुटबल–शक्ति–संघर्षका रूपमा देखा पर्ने भएको छ ।
नौ खेलाडीमा सीमित सेभिलाविरुद्ध एथलेटिकोले दोस्रो लेगमा २–२ ले बराबरी खेल्यो । पहिलो लेगमा एथलेटिको २–१ ले विजयी भएको थियो ।
एथलेटिकोका लागि लयमा रहेका कोलम्बियाली स्ट्राइकर राडामेल फाल्काओसँगै उत्तिकै लयमा रहेका डिएगो कोस्टाले गोल गरे । २–० को स्थिति उल्टाएर सेभिला ९० आँै मिनेटमा बराबरीमा आइपुगे पनि फाइनल पुग्न निकै ढिला भइसकेको थियो । रेकेटिकले दोस्रो गोल गर्नुअघि जिजस नाभासले ३९ औँ मिनेटमा गरेको गोलमा सेभिला खेलमा १–२ को स्थितिमा आइपुगेको थियो । ७६ औँ मिनेटमा गेरी मेडेललाई गुमाएको सेभिल्लाले दोस्रो हाफको इन्जुरी समयमा थप अर्का खेलाडीलाई गुमाउन पुगेको थियो । छैटौँ मिनेटमा कोस्टा र त्यसको २३ मिनेटपछि फाल्काओले गोल गरेपछि सेभिल्ला खेलभर दबाबमा आएको थियो । डिएगो सिमोनको प्रशिक्षणमा आएयता उत्कृष्ट प्रदर्शन गरिरहेको एट्लेटिकोले सन् २०१२ मा युरोपको दोस्रो ठूलो क्लब प्रतियोगिता युरोपा लिग जितेको थियो ।
स्पेनमा हाल जारी ला लिगामा बार्सिलोना पहिलो, एथलेटिको म्याड्रिड दोस्रो र रियल म्याड्रिड तेस्रा स्थानमा छन् । (एजेन्सी)

प्रतिक्रिया