काठमाडौँ । गायिका ज्योति मगरले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालमाथि एकपछि अर्को कडा टिप्पणी गरेकी छन् । लोकदोहोरी गीतमा विकृति तथा विसंगति देखिएको भन्दै नयाँ पुस्तालाई स्पष्टीकरण सोध्ने, कारबाही गर्ने भन्दै दिएको धम्कीले केही नहुने उनको भनाइ छ । ‘विकृति न्यूनीकरणको नाममा स्पष्टीकरण माग्छौँ, कारबाही गर्छौं, प्रशासनसम्म पुग्छौँ, कानुनी कारबाहीको माग गर्छौं भन्दै नयाँ जेनेरेसनलाई दिएको इन्डिरेक्ट धम्की र तिमीले गरेको यो लफडा आफूलाई चर्चामा ल्याउने र न्युजमा रहिरहने फन्डाबाहेक केही होइन । केही लछारपाटो लाग्दैन ।’ उनले सञ्जालमा उल्लेख गरेकी छन् ।
साथै उनले गुगलले नितान्त सामाजिक सञ्जालमा प्रसारण गर्ने अनुमति दिएको कसैको सामग्रीलाई हटाउने आदेश दिने तिमी को हौ ? भन्दै प्रश्नसमेत उठाएकी छन् । ‘श्लील र अश्लीलता’को परिभाषा तिम्रो मनमर्जीले जे बनायो त्यो, सही हो सही हो भन्ने वेबकुफहरू मात्रै छैनन् नि यहाँ अलिअलि अध्ययन गर्ने मान्छेहरू नि छन् लोक दोहोरीको क्षेत्रमा । त्यसैले मै जान्ने मै सुन्ने दम्भबाट माथि उठ र बुझ लोक दोहोरी प्रतिष्ठान एउटा संगठन हो, संस्था हो, राज्य होइन । तिमी संस्थाको पदाधिकारी हौ तिमी प्रधानमन्त्री होइनौँ, ओहो ! सरि सरि प्रधानमन्त्री पनि संविधान र कानुनभन्दा माथि होइनन् ।’ उनले व्यंग्य कसेकी छन् ।
केही नयाँ तरिका अपनाएर मनोरन्जनात्मक कुराहरू तयार पारेर घर खर्च चलाएका र पेट पालेका कलाकारको आम्दानी बन्द गराएर उनीहरूको पेटमा लात हान्न नहुने पनि उनको भनाइ छ । ‘न लोकगीत तिम्रो बिर्ता हो, न युट्युब तिम्रो बिर्ता हो । स्वतन्त्र देशको स्वतन्त्र नागरिकले आफ्नो मनखुसी केही काम गरेर पेट पाल्दा भत्किहाल्ने तिम्रो अनुशासन अनि परम्परा । त्यो परम्परा जोगाउने ठेकेदार तिमी ? अरे वाह !!’
स्वतन्त्रताका नाममा हाम्रो वैदिक सनातन परम्परा, संस्कार, कला, संस्कृति मास्न उद्दत, उदण्ड भएको भन्दै त्यसलाई हटाउन कम्मर कसेको प्रतिष्ठानमाथि ज्योति मगरको एकपछि अर्को प्रहारले संगीत क्षेत्र यतिबेला तरंगित छ । यसअघि पनि उनले लोकदोहोरी गीत कसैको बिर्ता नभएको बताएकी थिइन् । सभ्य दोहोरी गीतको मापदण्ड खोजेकी थिइन् । यता अपाच्य शब्द राखेर दोहोरी गाउने, दोहोरीमा ‘¥याप’ र ‘ब्याटल’ मिसाउनेजस्ता कार्यले यसको मर्ममै प्रहार भएको प्रतिष्ठानको बुझाइ छ । केही दिनअघि केही कलाकारले ‘अभद्र र अमर्यादित’ गीत गाएको भन्दै उक्त गीतलाई ७ दिनभित्र युट्युब लगायतका प्लाटफर्मबाट हटाउनसमेत प्रतिष्ठानले अल्टिमेटम दिएको थियो । प्रतिष्ठानले अपाच्य गीत गाएको आरोपमा बालचन्द बराललाई त ६ महिनाका लागि निलम्बन नै गरेको छ । तर, प्रतिष्ठानको यो कदम नै विवादमा तानिएको छ । कलाकारहरू विभाजित भएका छन् ।
प्रतिक्रिया